Wednesday, November 27, 2024
घरसमाचारकला सिकाउन भक्तपुर आएका अमेरिकी दम्पती : ‘माटो संस्कृति जोड्ने बलियो पुल’

कला सिकाउन भक्तपुर आएका अमेरिकी दम्पती : ‘माटो संस्कृति जोड्ने बलियो पुल’

काठमाडौं । माटोका हस्तकला र तिनमा कला पोत्ने शिल्पमा भक्तपुर प्रसिद्ध छ । रैथाने कलालाई निखार्ने, कलात्मक आवाजलाई सशक्त बनाउने र उद्यमशLलताको खोजी गर्ने जमर्को यसैसाता भक्तपुरका महिला कलाकारले गरे ।

अमेरिकादेखि आएका प्रसिद्ध कलाकार दम्पती मार्क नाफजिगर र जोइसले यी नेपाली कलाकारलाई सीप तिखार्न प्रेरित गरे । अमेरिकी दूतावासको ‘आर्ट्स इन्भोय २०२४’ कार्यक्रम अन्तर्गत नेपाल आएका उनीहरूले १८ देखि २२ नोभेम्बरसम्म भक्तपुरको पोटरी स्क्वायरमा ‘सेरामिक वर्कसप’ सञ्चालन गरे ।

१० महिला कलाकार सहभागी कार्यशालामा उनीहरुले परम्परालाई जोगाउने, नवप्रवर्तनलाई प्रेरित गर्ने र समुदायलाई कलामार्फत जोड्नेतर्फ सहभागीलाई प्रोत्साहित गरे ।

सहभागीले आफूले बनाएका कलाकृतिलाई अन्तिम रुप दिंदै अनुभव पनि बाँडे । उक्त अवसरमा प्रदर्शनी पनि आयोजना गरियो, जसमा साताभरि सिर्जना गरिएका सुन्दर कलाकृति प्रस्तुत गरिए । दूतावासले सामग्री र ग्लेजिङ प्रविधिमा प्रयोग गर्नेदेखि सांस्कृतिक धरोहरलाई सम्मान गर्ने कृतिहरू सिर्जना गर्नेमा कार्यशालाले योगदान पुर्‍याएको जनाएको छ ।

सहभागीमध्येकी एक ऐश्वर्या शाक्यले आफूले लामो समयदेखि माटोका भाँडाकुँडा बनाउँदै आएपनि कार्यशालाले आफूलाई थप रचनात्मक हुन प्रेरित गरेको बताइन् । आफूलाई उद्यमशीलतामा अघि बढ्न यो कार्यशालाले प्रोत्साहन दिएको उनको भनाइ छ ।

दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले संस्कृतिबीच कलात्मक प्रविधिलाई साझा गर्नु, समुदायभित्रका सांस्कृतिक विचलनलाई पुलको माध्यमबाट जोड्नु तथा अर्थपूर्ण संवाद सिर्जना गर्नु ‘आर्ट्स इन्भोय’ कार्यक्रमको उद्देश्य रहेको बताए ।

‘मार्क र जोयसको कार्यले समुदायलाई नयाँ विचार दिन मद्दत गर्छ । साथै, कलाकारलाई व्यवसायको विकासमा मद्दत गर्दै व्यावसायिक सम्बन्ध सिर्जना गर्छ’ हार्करले भने । नेपाली संस्कृति र परम्पराप्रति अमेरिकी समर्थन र सम्मान व्यापक रहेको भन्दै उनले नेपालको संस्कृति संरक्षणको लागि राजदूत कोष रहेको बताए ।

नेपालभर रहेका २८ ऐतिहासिक स्थलमा ४.५ मिलियन डलरभन्दा बढी योगदान गरिएको तथ्य पेश गदै उनले मार्क र जोयसको सहभागिता एक उदाहरण रहेको बताए । सो अवसरमा मार्क र जोयससँग अनलाइनखबरले कला कार्यशाला र नेपाल घुमघामका अनुभवबारे कुराकानी गरेको छ ।

कसरी तपाईं माटोका हस्तकला र सेरामिक्सतर्फ आकर्षित हुनुभयो ?

मार्क : जब म युनिभर्सिटी गएँ, पोटरी कलाकार बन्ने मेरो मनसाय थिएन । मसँग गणितको डिग्री छ । गणित पढ्दै गर्दा मैले त्यहाँ थोरै कलाको काम पनि सिकें । मैले त्यतिबेला मेरी भावी श्रीमतीलाई भेटें । उनी त्यस समयमा कलाकी विद्यार्थी थिइन् ।

त्यसपछि मैले गणित र कला दुवै विषयमा डिग्री लिएँ । स्नातक उत्तीर्णपछि पनि पोटरी कलाकार बन्छु भन्ने कुनै योजना थिएन । बरु, म वास्तुकार बन्ने सोचसहित यो विषय पढाउने कलेज हेर्दै थिएँ । त्यतिबेला मैले भक्तपुरजस्तै एक गाउँमा स्टुडियो खोल्ने अवसर पाएँ । त्यो कलाजस्तै सिंगारिएको गाउँ थियो । त्यहाँ काम गर्ने शिल्पकारको संख्याको पनि धेरै थियो ।

हाम्रो काम हेर्न पैसा तिरेर आउने पर्यटकको संख्या पनि धेरै हुन्थ्यो त्यहाँ । मेरो स्टुडियो हेर्न पर्यटक आउँथे । खासमा म गणितज्ञकै रुपमा काम गर्न चाहन्थें । तर कलामा भने भनौ न ‘दुर्घटनावश’ आएको हुँ (हाँस्दै) । कलाकारितातर्फको मेरो यात्रा अप्रत्याशित थियो । म आफूलाई अप्रत्याशित रुपमा आएको पोटरी आर्टिस्टको रुपमा चिनाउन चाहन्छु ।

अमेरिकी दूतावासको ‘आर्ट्स इन्भोय’ कार्यक्रममा सहभागिताबारे तपाईं केही भन्न चाहनुहुन्छ ?

दूतावासको रेसिडेन्सीमा आयोजित प्रदर्शनीमा भाग लिन मलाई निम्तो दिइएको थियो । जहाँ विशेष कला प्रदर्शनको लागि मलाई भनियो । त्यसबाट यो निमन्त्रणा नेपालको कला दूतको रूपमा अघि बढ्यो । म नेपालमा यसअघि आएको थिइनँ । मलाई आवश्यक परेको बेलामा आउनु भनियो, म यसका लागि तयार थिएँ । जसकारण हामी आइपुगेका छौं ।

तपाईंले नवीन प्राविधिक अध्ययनको कुरा के सिकाउनुभएको छ ?

‘अन्वेषण’ केही बलियो शब्द हुनसक्छ । मलाई लाग्छ माटो संस्कृतिहरूलाई जोड्ने बलियो पुल हो । हामीले जे गर्छौं, विगतबाट प्रभावित हुन्छौं । मेरा सबै सजावटका तरिका प्राचीन शैलीका हुन् । हामीले काम गर्ने शैलीमा भिन्नता हुनसक्छ । हामीले प्रयोग गर्ने प्रविधि अलग हुनसक्छ ।

तर हामीले गर्ने तरिका र औजार परम्परागत होइन, हामी प्लास्टिकको बोतलका चीज प्रयोग गर्छौं, जुन मेरो रङमा लागू हुन्छ । यो एक शैली हो, ‘डेकोरेटिङ टेक्निक’ हो जुन मैले ४३ वर्षदेखि काम गरिरहेको छु । म साँच्चै यसको लागि क्रेडिट लिन सक्छु ।

यसमा मैले यति लामो समयसम्म काम गरें । यो शैलीले हरेक कलाकारलाई संसारको उत्पत्तिको समयमा लैजान्छ र मूलरुपमा उस्तै अद्भूत भएर सिर्जना हुन्छ । तीमध्ये केही प्राविधिकले कलामा ऐतिहासिकता फेला पार्नेछन् । आशा छ कि म न्याय गर्दैछु र यसलाई समेट्दै छु । मैले मेरो कामबाट प्राप्त गरेको थोरै ज्ञानबाट अहिलेका कलाकारलाई प्रेरित गर्दैछु ।

पोटरी र सेरामिक्स कलामा परम्परागत अभ्यासको कुरा गर्दा नेपाल र अमेरिकामा कस्तो भिन्नता र समानता पाउनुभयो ?

संसारका सबै पोटरी कलाकारले काम गर्ने तरिकामा समानता छ जस्तो मलाई लाग्छ । खोजेको माटो पाइन्छ पाइँदैन कि भन्ने चिन्ता हाम्रो सधैं हुन्छ । माटोबाट खनिज पनि हराउँदै छन् कि भन्ने चिन्ता पनि हुन्छ । हामीबीच यसबारे चिन्ता आदानप्रदान पनि हुन्छ । केही काम संस्कृतिसँग पनि जोडिएका हुन्छन् । हामीले भोगिरहेको समानता यो हो । यसकारण हामीले पोटरीलाई सांस्कृतिक पुलको रुपमा काम गरिरहेका छौं ।

नेपालको परम्परागत माटोका भाँडाको कलालाई आधुनिक सेरामिक प्रविधिसँग कसरी मिसाउने योजना छ ?

म यो सजावट प्रविधि र शैली साझा गर्दैछु । ठ्याक्कै यसरी प्रयोग हुन्छ भनेर भन्न त सकिंदैन तर मैले आफ्नो उत्पादन अनुभव यहाँ साझा गर्ने हो । हामी नेपाली सहभागी कलाकारलाई प्राविधिक सामग्री र रचनात्मक सुझाव दिन्छौं । यसले उनीहरुमा धेरै रचनात्मक ऊर्जा प्राप्त हुन्छ । म यो संस्कृतिमा कसरी यसलाई जोड्न सकिन्छ भन्ने कुरामा अनुमान गर्न सक्दिनँ । म यसलाई संस्कृतिमाथि थोपरेको भन्ने कुरा ठान्दिनँ ।

कार्यशालाको लक्ष्य कलामार्फत महिलाको सशक्तीकरण गर्नु हो । पोटरी र सेरामिक्सले कसरी यी कलाकारको आर्थिक र उद्यमशीलतामा योगदान पुर्‍याउन सक्छन् ?

हस्तकलाका सामग्रीसँग मानिस जोडिन सक्छन् । कलालाई अन्तिम रुप दिइञ्जेलसम्म कलाकारले त्यसमा अपनत्व महसुस गर्न सक्छन् जस्तो लाग्छ । आकृतिका टुक्रा बनाइञ्जेलसम्म उनीहरुले मान्छेलाई चिन्न सक्छन् ।

मेरो स्टुडियोमा मैले यस्ता कलाले कलाकारको आर्थिक विकासमा पनि फाइदा पुगेको, प्रदर्शनमा राखिएका कलासँग आत्मीयता गाँसेको देखेको छु । मैले मेरो स्टुडियोमा राखेका यस्ता कलाले समुदाय र कलाकारको व्यक्तित्वलाई मद्दत पुगेको देखेको छु ।

अमेरिकामा हामी बसोबास गर्ने राज्यमा हुने प्रदर्शनीमार्फत कलाले बजार पाएको छ । कलाकारलार्ई आर्थिक फाइदा पनि हुन्छ । प्रत्येक महिला कलाकार जसको साथमा हामीले काम गरिरहेका छौं, यसले उनीहरुमा शैली विकास गर्न, अन्य मानिसलाई जोड्न र आर्थिक तथा व्यावहारिक रुपमा कला उत्पादन गर्न प्रेरित गर्छ । जब तपाईं भाँडाका हस्तकला मात्र बनाउनुहुन्छ तर बेच्नुहुँदैन भने त्यो कलाको थुप्रो मात्र हुन जान्छ ।

दिगो करिअर बनाउने कुरामा तपाईं सहभागी कलाकारलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?

हतोत्साही नहुनू, काम गर्दै जानू । बारम्बार काम गर्दै जानुस् । यसका लागि अभ्यास, दृढता र धैर्यता जरुरी हुन्छ । काम गर्न नछाड्नुस् । यो मेरो ठूलो सल्लाह हुन्छ ।

नेपालमा काम गर्दा तपाईंले आफ्नो कलात्मक दृष्टिकोण प्रभावित भएको पाउनुभएको छ ?

(हाँस्दै) । यो कुरा झ्यालको पर्दाजस्तै देखिन्छ । मैले नेपाली कलाकारले तयार पारेका सिर्जनाको उत्पादनका रुप र आकार देखेको छु । बरु, म धेरै अल्छी भएको पाएको छु ।

भविष्यमा नेपाली कलाकारसँग सहकार्य गर्ने कुनै सम्भावना छ ?

केही योजना छन् । यसका लागि मलाई केही निम्तो पनि आएको छ । यो सहकार्यबारे के हुन्छ, हेरौं । फेरि फर्किएर अवश्य पनि काम गर्न मलाई मन छ । मेरो स्टुडियोमा नेपाली पोटरीलाई आतिथ्यता दर्शाउन मन छ । कुनै बेला यो सम्भव हुनसक्छ ।

सांस्कृतिक कूटनीतिले कसरी नेपाल र अमेरिकाबीच राम्रो सम्बन्ध बनाउँछ ?

साझा रुचि र चासोसँगै नागरिकलाई नजिक ल्याउन सकिए यसले तत्काल एउटा सम्बन्धको सेतु बनाउनेछ ।

नेपाल बसाइमा तपाईंका योजना कस्ता छन् ?

हामी पोखरा र चितवनको पदयात्रामा जाँदैछौं । हामी हेलिकोप्टर लिएर सगरमाथा क्षेत्रमा जान सक्छौं । यो साता हामीले ४५ औं वैवाहिक वर्षगाँठ सेलिब्रेसन गर्‍यौं । यो भ्रमण हाम्रा लागि ‘एनिभर्सरी गिफ्ट’ जस्तै भएको छ ।

नेपाली कलाकारलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?

जोइस :  कलाले मानिसलाई नजिक ल्याउँछ । आफ्नो हृदयलाई पछ्याउन्स् । सपनालाई पछ्याउनुस् । मैले आफ्नो बाटो पछ्याएँ र यहाँसम्म आइपुगेको छु । मलाई आशा छ, उनीहरुका लागि यो प्रेरणादायी सन्देश हो ।

हतोत्साही नहुनुस् र कामलाई निरन्तरता दिनुस् । सिर्जनालाई अघि बढाउन्स् । अन्ततः हामी सबै सर्जक हौं । सिर्जनाले सेतु बनाउँछ र हामीलाई जोड्छ । म यो कुरामा विश्वास पनि गर्छु । हरेक कुरा स्थायी छैन । परिवर्तनशील छ ।

सिर्जना गर्ने कार्यलाई निरन्तरता दिनुस् । प्रतिबद्धताअनुसार पोटरी निर्माणमा लाग्न सके सुधार अवश्य हुन्छ । सुधारका लागि केन्द्रित भएर नलाग्दा खराब नतिजा आउन सक्छ । प्रेरित हुनुस् ।

सांस्कृतिक रुपमा धनी नेपालका स्थानीय महिला कलाकारसँग काम गर्दा कस्तो अनुभूति गर्नुभएको छ ?

यो कार्यशालामा हामीले विचारहरूमा छलफल गरेका छौं । उनीहरुले नयाँ शैली र आकारमा कला बनाएका छन् । उत्साहको वातावरण छ ।

विशेषगरी ‘पोटरी स्क्वायर’ भक्तपुरमा तपाईंको अनुभव कस्तो रह्यो ?

यो अद्भूत भएको छ । मानिस र कार्यशालाका सहभागी अद्भूत छन् । हामीले एकअर्कालाई विचार दिएका छौं । खास सामग्री कसरी प्रयोग गर्ने भनेर सिकाएका छौं । सहभागीले आफूले बनाएका माटोका हस्तकलामा सुन्दर सिर्जना रचेका छन् । हाम्रा लागि यो अद्भूत अनुभव भएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -