Wednesday, November 27, 2024
घरसमाचारअब गुगल म्यापजस्तै बन्नेछ मानव शरीरको नक्सा !

अब गुगल म्यापजस्तै बन्नेछ मानव शरीरको नक्सा !

काठमाडौं । हाम्रो शरीर करीब ३७ लाख करोड कोशिका अर्थात् सेल्स मिलेर बनेको हुन्छ । हरेक कोशिकाहरुको आ–आफ्नै काम हुन्छ । फरक–फरक व्यवहार हुन्छ र छुट्टाछुट्टै जीवन पनि हुन्छ । पुराना कोशिकाहरु मर्ने र नयाँ कोशिकाहरु सिर्जना हुने क्रम निरन्तर चलिरहन्छ । कोशिकाहरुले ऊर्जा प्रदान गरिरहन्छन्, उमेरसँगै मर्दछन् र नयाँ जीवन प्रदान गरिरहन्छन् । अब वैज्ञानिकहरुले यी सबै कोशिकाहरुको बिहंगम नक्सा बनाउँदै छन् ।

यो नक्सामा हरेक कोशिकाहरु विस्तृत विवरण तथा कोशिकाको बारेमा सम्पूर्ण जानकारी सामेल हुनेछ । यसको सहयोगले सबै प्रकारका कोशिकाहरुसँग सम्बन्धित समस्या तथा रोगहरुको रोकथाम गर्नका साथै शारीरिक विकास र रोग प्रतिरोधी क्षमतालाई बढाउन सकिने आशा वैज्ञानिकहरुको छ । यदि यसमा सफलता प्राप्त भएमा भविष्यमा मानिस करीब अमरजस्तै बनाउन सकिनेछ । अर्थात् मानिसलाई जीवनभर कुनैपनि खालको रोग लाग्ने छैन । वैज्ञानिकहरुले अहिलेसम्म १० करोड कोशिकाहरुको विवरण उतार गरिसकेका छन् ।

ती कोशिकाहरुको विस्तृत विवरण विश्वका विभिन्न १ सय देशका १० हजार मानिसहरुको शरीरबाट लिइएको हो । अलग-अलग देशमा बस्ने मानिसहरुको शरीरमा रहेका समानता तथा भिन्नताहरु पहिचान गर्नका लागि र मानिसहरुको भौगोलिक स्थिति र वंशाणुगत पृष्ठभूमिको आधारमा उनीहरुको शरीरमा रहेका सबैखाले कोशिकाहरुको कामका बारेमा बुझ्न यसले सहयोग गर्नेछ ।

दुई वर्षभित्र तयार हुनेछ सम्पूर्ण शरीरको नक्सा

हामीले अब केवल थप २ वर्षमात्रै पर्खिनुपर्नेछ । सन् २०२६ मा वैज्ञानिकहरुले मानव कोशिका मानचित्र अर्थात् ह्युम सेल एटलसलाई पूर्णता दिनेछन् । यसमा हरेक कोशिकाहरुको अवस्थिति, पहिचान तथा कामको विवरण हुनेछ, त्यो पनि उमेरको विभिन्न चरणमा । यसबाट शरीरका कोशिकाहरुले कुन उमेरमा कस्तो काम गर्दछन् भन्ने पनि थाहा हुनेछ । यो नक्सा प्रारम्भिक खालको हुनेछ र त्यसपछि थप अनुसन्धान गरिनेछ ।

मानव कोशिका मानचित्रसँग सम्बन्धित वैज्ञानिकहरुले ४० वटा अनुसन्धान पत्र तयार गरेका छन् र यसबाट कोशिका नक्साको पहिलो प्रति तयार पार्नेछन् । यस सम्बन्धी रिपोर्ट हालै नेचर जर्नलमा प्रकाशित भएको छ जसमा विभिन्न फोक्सो, मस्तिष्क तथा छालाजस्ता विभिन्न अंग तथा त्यसका प्रणालीहरुलाई दर्शाइएको छ । साथै त्यसको डेटा निकाल्नका लागि सबैको कम्प्युटरकृत टुल पनि संलग्न रहेको छ ।

ह्युम सेल एटलसका संस्थापक सहअध्यक्ष अविव रेगेवका अनुसार यो मानव शरीरको पारम्परिक चित्रभन्दा फरक तथा आधुनिक नक्सा हुनेछ । उनका अनुसार जसरी १५ औँ शताब्दीको विश्वको नक्साको आधारमा अहिले धेरै कुरा बुझ्न सकिँदैन र गुगल म्यापको आवश्यकता पर्दछ ।

त्यसैगरी मानव शरीरको पनि अत्याधुनिक नक्साको आवश्यकता छ । सोही कारण मानव शरीरको नक्सालाई पनि ठ्याक्कै गुगल म्यापजस्तै बनाइने उनी बताउँछन् । एजेन्सी

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -