Wednesday, November 27, 2024
घरसमाचारडिजेल खपत घट्यो, पेट्रोल र खाना पकाउने ग्यास आयात बढ्यो

डिजेल खपत घट्यो, पेट्रोल र खाना पकाउने ग्यास आयात बढ्यो

फाइल तस्वीर


९ मंसिर, काठमाडौं । विद्युतीय सवारीसाधन आयातको संख्या बढ्दै जाँदा इन्धन खपत घट्ने अपेक्षा थियो । तर, चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चौमासिकको तथ्यांकले पेट्रोलको खपत बढेको देखाएको छ ।

डिजेलको आयात भने घटेको छ । भन्सार विभागका अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा ३ लाख २४ हजार ४३१ किलोलिटर डिजेल आयात भएको छ ।

अघिल्लो आवको पहिलो चौमासिकमा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात भएको थियो । तथ्यांक अनुसार यस वर्ष डिजेल आयातमा २९ अर्ब ४ करोड २० लाख रुपैयाँ विदेशिएको छ । गत आवमा डिजेलको आयातमा ४० अर्ब ३१ करोड रुपैयाँ विदेशिएको थियो ।

अघिल्लो वर्ष पेट्रोलको आयात घटे पनि डिजेल आयात भने घटेको थिएन । तर, यस वर्ष भने सार्वजनिक सवारीमा समेत विद्युतीय सवारीसाधनको आयात बढ्दै जाँदा डिजेल आयात खुम्चिन थालेको देखिन्छ ।

पेट्रोलको खपत समेत गत आवको पहिलो चार महिनाको तुलनामा यस वर्ष बढेको छ । भन्सार विभागका अनुसार यस वर्ष कात्तिकसम्म २ लाख ४७ हजार ४८१ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवको पहिलो चार महिनामा २ लाख २३ हजार ८१० किलोटिर पेट्रोल आयात भएको थियो । यस वर्ष पेट्रोल आयातमा २१ अर्ब ५६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष २२ अर्ब ८७ करोड रुपैयाँ मात्र विदेशिएको तथ्यांकले देखाएको छ ।

पेट्रोल आयातबाट सरकारले यस वर्ष चार महिनामा १४ अर्ब ४ करोड रुपैयाँ राजस्व उठाएको छ । यस वर्ष पेट्रोल आयातको परिमाण बढे पनि विदेशिने मुद्रा भने घटेको छ । यसो हुनुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घट्नु मूख्य कारण हो ।

खाना पकाउने ग्यासको आयात समेत बढिरहेको छ । यस आवको पहिलो चार महिनामा १७ करोड २४ लाख ८२ हजार ८३० किलो एलपीजी ग्यास आयात भएको छ । अघिल्लो आवको चार महिनामा १६ करोड ७९ लाख ९४ हजार ७५६ किलो ग्यास आयात भएको थियो ।

यस वर्ष एलपीजी आयातमा १८ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । जसबाट ३ अर्ब ५१ करोड राजस्व उठेको छ । अघिल्लो वर्ष कात्तिकसम्म १५ अर्ब ४५ करोड रुपैयाँ विदेशिएको थियो । यस वर्ष सरकारले २ अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाएको थियो ।   

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -