९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत भएका छन् । कांग्रेस शीर्ष तहका एक नेताका अनुसार सभापति शेरबहादुर देउवाले मनोनीत गरे पनि औपचारिक रुपमा जानकारी गराइएको छैन ।
मनोनित श्रेष्ठले औपचारिक पत्र प्राप्त भइनसकेको जानकारी गराए । ‘औपचारिक पत्र पाएको छैन । सभापतिले निर्णय गर्नुभएको होला,’ श्रेष्ठले भने, ‘केही समयमा थाहा होला ।’
श्रेष्ठ पूर्वराज्यमन्त्री समेत हुन् । व्यवसायी समेत रहेका श्रेष्ठले शिक्षा र कृषि क्षेत्रमा कार्य गर्दै आएका छन् । गत निर्वाचनमा श्रेष्ठ चितवन–२ मा पराजित भएका थिए ।
कोषाध्यक्ष मनोनीत नहुँदा कांग्रेसको पदाधिकारी अपूर्ण थियो । उमेश श्रेष्ठको मनोनीतसँग कांग्रेसको पदाधिकारीले पूर्णता पाएको छ ।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा जनजाती क्लष्टरबाट श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।