८ मंसिर, काठमाडौं । नेपालका रोनक उप्रेती र अमेरिकी रfचेल डेभिडसनले मुसा मसला ओपन लिड क्लाइम्बिङ प्रतियोगिता २०२४ को उपाधि जितेका छन् ।
मुसा मसला र वोङ्छु पिक प्रमोसनको संयुक्त आयोजनामा शनिवार काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र अमेरिकाकी राचेल महिलातर्फ च्याम्पियन बने ।
गत वर्ष दोस्रो भएका रोनकले यस वर्ष भने उत्कृष्ट प्रदर्शन गर्दै विजेता बने र यस्तै पुरुषतर्फ अमेरिकाका भिनसेन्ट सबलिच दोस्रो तथा नेपालका पेम्बा सेवाङ शेर्पा तेस्रो भए ।
यसैगरी महिलातर्फ नेपालकी स्वस्तिका चौधरी दोस्रो तथा अन्ने माई बन तेस्रो भइन् । स्वस्तिका गत वर्ष पनि दोस्रो भएकी थिइन् ।
प्रतियोगिताको च्याम्पियन रोनक र राचेलले नगद ३५ हजार मेडल प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका भिनसेन्ट र स्वस्तिकाले समान २५ हजार तथा तेस्रो भएका पेम्बा र अन्नेले समान १५ हजार पाए ।
शीर्ष तीनमा रहेका खेलाडीहरुले पुरस्कारसँगै विभिन्न गिफ्टह्याम्परहरु समेत प्राप्त गरे ।
अन्तर्राष्ट्रिय आरोहण खेलकुद महासंघ आईएफएससीको नियम र मापदण्ड अनुसार सञ्चालन गरिएको एकदिने प्रतियोगितामा नेपाल र विदेशका गरी करिब ४० खेलाडीहको सहभागिता रहेको आयोजक वोङ्छु पिक प्रमोसनकी प्रवन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिइन् ।
नेपाल आरोहण खेलकुद संघ (एनसीएसए) बाट मान्यता प्राप्त यस प्रतियोगितालाई अमेरिकी गैर नाफामुलक संस्था मुसा मसलाले मुख्य प्रायोजन गरेको थियो ।
यसैगरी प्रतियोगितालाई निर्भाना, ब्ल्याक डायमण्ड, ला स्पोर्टिभा, राइको, एभरेष्ट हार्डवेयर, मकालु इ ट्रेडर्स र नेपाली घरले प्रायोजकको रुपमा सहयोग गरेका थिए ।
प्रतियोगितालाई नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले प्राविधिक सहयोग गरेको थियो भने हिमालयन रेस्कु एसोसिएसन मेडिकल पार्टनरमा रहेको थियो ।