काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्सर नेपालले आधुनिक जनवादी गणतन्त्र चीनसँग नेपालको द्विपक्षीय सम्बन्ध विषयमा सङ्गोष्ठी आयोजना गरेको छ ।
कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले नेपाल र जनवादी गणतन्त्र चीन बीच इतिहासमा सदैव सुसम्बन्ध रहँदै आएको स्मरण गर्नुभयो ।
प्रदेश सभामुख पाठकले दुई देशको सद्भाव र विश्वसनीयतालाई विकासको लागि उपयोग गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सभामुख पाठकले नेपाल– चीन सम्बन्धको प्राथमिकता सत्तामा रहँदा एउटा र सत्ताबाट हट्दा अर्को ढङ्गले बुुझ्न नहुने बताउनुभयो ।
नेपाल– चीन मामलाका जानकार डा. बिक्रम तिमिल्सिनाले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा सद्भाव र विश्वास बोकेर बेइजिङ पुग्नुपर्ने र बेइजिङबाट पनि सद्भाव र विश्वास लिएर काठमाडौँ फर्कनुपर्ने सुझाव दिनुभयो ।
त्रिभुवन विश्व विद्यालयका सह–प्राध्यापक विपिन देवले चिनिया पोलिसी र परियोजनाहरूबाट नेपालले प्रशस्तै फाइदा लिने अवसरको उपयोग गर्नुपर्ने बताउनुभयो ।
फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्सर नेपालका अध्यक्ष शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न सङ्गोष्ठीको खुला सत्रमा विज्ञहरू डा.विष्णुराज उप्रेती, दिपक पाण्डे, मिथुन पौडेल, महेश दाहाल, सुरेन्द्र उप्रेतीलगायतले नेपाल– चीन द्विपक्षीय सम्बन्धका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल र चीन (दक्षिण र उत्तर मोहडा) बाट दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला कल्पना महर्जन (पत्रकार) लाई सम्मान गरिएको थियो ।
नेपाल– चीन दुई देश बीचको सुसम्बन्ध र नागरिक स्तरमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध जीवन्त राख्न फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्सर नेपालले बेला–बेलामा विविध विषयमा कार्यक्रम गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।