साँची राखूँ जस्तो गीतभरि तिमीलाई
बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई ….
नाटक घरको ढोका बाहिर एक हातमा टिकट र अर्को हातले ब्रोसर पढिरहेका दर्शकहरूको प्रतीक्षालाई कुमार सानुको आवाजले थोरै राहत दियो। निर्देशक आफैंले हातमा रेडियो जस्तै देखिने स्पिकर ल्याएर ढोका बाहिरको एउटा कुनामा राखे। कुमार सानु गुनगुनाउँदै गर्दा नाटक घरको घण्टी बज्यो। सबै ढोकातिर लागे।
नाटक घरभित्र नीलो पृष्ठभूमिले दर्शकलाई स्वागत गर्यो। नीलो रङले नाटक घरभित्रको अँध्यारोलाई केही पल भित्रै निलिदियो। निर्देशक/लेखक आफैं मञ्चमा आएर भने- ‘प्रस्तुत छ नाटक ढुकढुकी ७२ मेगाहर्ज’।
प्रकाश विस्तारै मञ्चतिर फैलिंदै गयो। बेबी बम्प समाएर बसेकी मेनुका प्रधानले दर्शकको ढुकढुकीलाई शान्त बनाइदिइन्। दर्शकहरूले लामो सास फेर्दै मनमनै भने नाटक बल्ल सुरु भयो। तर मेनुका र कार्मले नाटकभरि दर्शकको ढुकढुकी बढाउने काम गरिरहन्छन्।
म चाहिं नाटक हेर्न मभन्दा अगाडि टिकट देखाएर भित्र पसेका गर्भवती दम्पतीहरूलाई सम्झिंदै थिएँ। किनकि मञ्चमा सन्तान पाउने तीव्र चाहना बोकेका एक जोडीको जीवनमा आइपर्ने विभिन्न चुनौतीको कथा प्रस्तुत छ।
यसमा उनीहरूका आशा, बाध्यता, लाचारी, विकल्प र विश्वासको चित्रण गरिएको छ। नाटकले घटनाक्रमहरूको वर्णन मात्र नगरी ती घटनाहरूले सिर्जना गरेका भावनात्मक प्रभाव र प्रेमको गहिरो कथालाई प्राथमिकता दिएको छ।
९० मिनेटको यो नाटकमा दुई जना पात्रको वरिपरि कथा बुनिएको छ। दर्शकहरूले यी दुई पात्रसँग मानसिक र भावनात्मक यात्रा गर्छन्। उनीहरूका हरेक खुसी, पीडा, द्वन्द्व र परिस्थितिसँग दर्शक पनि जोडिन पुग्छन्।
मञ्चमा दुई कलाकारको अभिनय मार्फत जीवनको यथार्थ प्रस्तुत गरिएको छ, जसले दर्शकलाई पनि आफ्नै कथा जस्तो महसुस गराउँछ। मातृत्व महसुस नगरेकाहरूले पनि यो कथामा आफू या आफ्नाहरू देख्ने छन्।
थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मा कार्म र मेनुका प्रधानको मुख्य भूमिका छ। नाटकलाई केदार श्रेष्ठले निर्देशन र दयाहाङ राईले निर्माण गरेका हुन्।
कथा विषयवस्तु
माया अर्थात् मेनुका प्रधान सात महिनाकी गर्भवती छिन्। उनी मातृत्वको विभिन्न पक्षहरू महसुस गर्दै आनन्द लिइरहेकी छन्। उनका श्रीमान् कार्म पनि मायासँगै सन्तानको प्रतीक्षामा उत्सुक छन्।
नाटकको मुख्य भूमिकामा मेनुका र कार्म भन्दै गर्दा अर्को छुटाउन नहुने मुख्य पात्र मेनुकाको गर्भमा रहेको ‘भ्रूण’ हो। जसको शारीरिक उपस्थिति नभए पनि उसको आभासीय अस्तित्वले सम्पूर्ण नाटकलाई गतिशील बनाउँछ। नाटकको कथा नै यही वरपर घुमेको छ।
सन्तानको आगमनले खुसी दम्पतीलाई एक्कासि चिकित्सकले भन्छन् कि- आमा र भ्रूण दुवैको एकसाथ जीवन असम्भव छ। त्यसपछि गर्भमा विकसित भइरहेको भ्रूणको भविष्य एक जटिल र संवेदनशील प्रश्न बन्छ। यस्तो विषम परिस्थितिमा एउटा जीवन बचाउन अर्को जीवनको त्याग अनिवार्य बन्छ। यो वास्तविकताले दम्पतीलाई गहिरो मानसिक द्वन्द्वमा धकेल्छ।
एकातिर मेनुकालाई आफ्नो कोखमा हुर्किरहेको जीवनप्रतिको ममता र जिम्मेवारी बोधले उनलाई आफ्नो जीवनभन्दा पनि भ्रूणको जीवन बचाउन प्रेरित गर्छ। उनको यो सोचमा मातृत्वको उच्चतम रूप देख्न सकिन्छ, जहाँ आमा आफ्नो सन्तानको लागि सर्वस्व त्याग्न तयार हुन्छिन्। अर्कोतिर कार्म मान्छन् कि पत्नीको जीवन बचाउनु पहिलो प्राथमिकता हो, किनकि सन्तान त फेरि जन्मिन सक्छन् तर पत्नीको क्षति अपूरणीय हुन्छ। यसमा एक पतिको आफ्नी पत्नीप्रतिको प्रेम र जिम्मेवारी बोध झल्किन्छ। यी दुई भिन्न दृष्टिकोणले कथा अगाडि बढ्छ।
एउटा दृश्यमा भ्रूणले आफ्नी आमासँग एउटा विचलित पार्ने प्रश्न गर्छ – “म तपाईंहरूको क्षणिक सुखको परिणाम हुँ कि मेरो अस्तित्वको कुनै सार्थक उद्देश्य छ ?” यो प्रश्न सरल शब्दमा व्यक्त भए पनि यसको प्रभाव र गहिराइ अत्यन्त शक्तिशाली छ।
यस प्रश्नको तीव्रताले दर्शकको मुटुको गति बढाउँछ। यो प्रश्नले यौन सम्बन्धको वास्तविक तात्पर्य र लक्ष्यबारे गम्भीर जिज्ञासा उब्जाउँछ। के यो मात्र शारीरिक आकर्षण र सन्तुष्टिको खोजी हो ? वा यसभित्र कुनै गहन जीवन-दर्शन र उद्देश्य लुकेको छ ?
नाटकको मूल संरचनाको केन्द्रबिन्दु यही भ्रूणको चेतना र उसको यो आत्मपरक प्रश्न हो। यो त्यो सूत्र हो जसले नाटकका सम्पूर्ण घटनाक्रम, भावनात्मक उतारचढाव र पात्रहरूको अन्तर्द्वन्द्वलाई एउटै धागोमा उन्छ। यसरी, अदृश्य तर सर्वव्यापी उपस्थितिका रूपमा रहेको भ्रूणको यो प्रश्न नै नाटकको जीवन्त धड्कन बन्छ, जसले सम्पूर्ण कथावस्तुलाई अर्थपूर्ण र प्रभावकारी बनाउँछ।
अभिनय/पात्र निर्माण
मेनुकालाई काव्यिक चेत भएको, नेपाली साहित्यमा रुचि राख्ने पात्र देखाइएको छ। उनले आफ्नो पात्रलाई अभिनय कौशलले न्याय गरेकी छन्। गर्भवती महिलाको हिंडाइदेखि मूडमा हुने परिवर्तनहरू (रिस, आवेग, झर्को) सबै पक्षहरू प्राकृतिक देखिन्छन्। उनको अभिनयले नाटकमा कहीं कतै बिझाउँदैन।
कार्मलाई चित्रकारको पात्रमा नसुहाएको छैन। चित्रकारको रूपमा उनको लुगा लगाई, कुराकानी र कल्पनशीलतालाई उनले मञ्चमा निकै सुन्दर तरिकाले प्रस्तुत गर्छन्। कार्मले रिसाएको अवस्थामा होस् या रोमान्टिक दृश्यमा होस् दर्शकको आँखा आफूतिर तान्न सफल भएका छन्।
यी दुवै पात्रको केमेस्ट्रीले हरेक दृश्य जीवन्त र यथार्थपरक देखिएको छ। दुवै पात्रले भावनात्मक र कलात्मक पक्षहरूलाई अभिनयबाट न्याय गरेका छन्।
नेपथ्य
यो नाटकको सबैभन्दा बलियो पक्ष हो मञ्च अर्थात् सेट डिजाइन। नाटकमा सबैभन्दा धेरै खर्च प्रप्स र सेट डिजाइनमा हुन्छ। पछिल्लो समय धेरै नाटकहरूले सेट डिजाइनमा खर्च कटौती गरेको स्पष्ट देखिन्थ्यो। नाटक बलियो भएर पनि कतिपय नाटकका सेट डिजाइन कमजोर हुनाले केही न केही नपुगे जस्तो देखिन्थ्यो। तर यो नाटकमा प्रप्स र सेट डिजाइनमा निर्माता र निर्देशकले कन्जुस्याइँ गरेका छैनन्। हुनत निर्देशकले आफ्नो रङ्गमञ्चको यात्रामा पहिलो पटक आफैंले खर्चको चिन्ता नगरी बनेको नाटक भनेर त ब्रोसरमै समेत भनेका पनि छन्। मञ्चमा बडेमानको रूख छ जुन रूखको भुँडी ठूलो छ अर्थात् रूख सायद गर्भवती छ। यो सेटले हर कोही दर्शकलाई सुरुदेखि नै बाँधेर राख्छ। सामान्य सेट डिजाइनभन्दा फरक, यो रूखको प्रस्तुतिमा कलात्मक र सृजनात्मक उचाइ छ। विशेषत: यो रूखलाई मानवीय संवेदना दिइएको छ। यस्तो कल्पनाशील प्रस्तुतिले दर्शकलाई नयाँ सोचको यात्रामा लैजान्छ।
सेटसँगै प्रकाश र ध्वनिले पनि सुरुदेखि अन्त्यसम्म बिझाउँदैन। स्मारिका फुँयालको आवाजको गीतले दर्शकलाई अर्कै जोनमा लैजान्छ। प्रकाशको कुरा गर्दा मञ्चको पछिल्लो भागको एउटा नीलो लाइट नाटकभरि नै बलिरहन्छ। त्यो लाइट भिन्सेन्ट भ्यान गगको सबैभन्दा चर्चित चित्र स्टेरी नाइट्स जस्तो देखिन्छ। उक्त लाइटमा दर्शकको आँखा नजाने कुरै भएन।
नाटकमा मल्टिमिडिया प्रयोग बढ्दो छ। मल्टिमिडिया प्रयोग गर्दा राम्रोसँग गर्न सकिएन भने त्यो प्रयोग भारी हुन सक्छ तर यो नाटकमा मल्टिमिडियाको प्रयोग सुन्दर र सान्दर्भिक छ। त्यसले नाटकलाई झन् बलियो देखाउन सहयोग गरेको छ।
नेपथ्यको विषयमा लेख्दा सबैभन्दा बढी छुट्ने पाटो हो आवरण कला। यो नाटकको आवरण कलामा अनामिका गौतमले सामान्य देखिने तर मिहिन आवरण बनाएकी छन्। आवरणले नाटकको विषय र महत्वलाई स्पष्ट परेको छ।
त्यसैगरी नाटकमा प्रयोग भएको भेषभूषाले पात्रहरूलाई नसुहाएको छैन। भेषभुषाकै कुरा गर्दा एउटा महत्त्वपूर्ण कुरा याद भयो। मैले नाटक हेरेको दिन कार्मले लगाएको मोजामा लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको पेन्टिङ प्रिन्ट थियो। चित्रकारको भूमिका निभाइरहेका कार्मको खुट्टाले मलाई निकै बेर तान्यो। उनको मोजाको रोजाइले आफ्नो चरित्रमा उनी निकै सिरियस रहेछन् भन्ने अनुमान मैले गरें। तर फेरि कतिपय दर्शकलाई त्यही कुरा चित्त नबुझ्न पनि सक्छ। तर नाटक पछि निर्देशकसँग सोध्दा थाहा भयो कार्मको खुट्टाको मोजा हरेक दिन परिवर्तन भइरहने रहेछ।
प्रश्नहरू
नाटकको सुरुवाती दृश्यमा पात्रहरूले पितृसत्ता र पितृसत्तात्मक सोचको कुरा गर्छन्। जुन संवादहरू वास्तविक जीवनको तुलनामा अत्यन्त काल्पनिक र अस्वाभाविक लाग्छन्। एक सामान्य दम्पतीको दैनिक वार्तालापमा यति धेरै दार्शनिक र काव्यात्मक शब्दहरूको प्रयोग हुन्छ र ? भन्ने प्रश्न उठ्न सक्छ। यसले गर्दा नाटकको सुरुवाती भाग केही कृत्रिम र अस्वाभाविक महसुस हुन सक्छ।
नाटकमा एउटा दृश्य छ, जहाँ उनीहरू चरम निराशामा हुन्छन्। मेनुकाले उक्त दृश्यमा भन्छिन् कि आमाबुवा बन्ने उनीहरूको यो अन्तिम मौका हुन सक्छ। चिकित्सकसँग निरन्तर फलोअप र उपचारमा रहेका उनीहरूले सन्तान प्राप्तिका आधुनिक विधिहरूबारे भने छलफल गरेको देखिएन। नाटकले आधुनिक चिकित्सा विज्ञानले दिएका आशाको विषयलाई किन समेट्न सकेन भन्ने प्रश्न उठ्न सक्छ। तर फेरि उक्त प्रक्रियाहरूको खर्च र आर्थिक पाटोको कारणले उनीहरूले त्यो विषय सोच्न सकेनन् भनेर बुझ्न पनि सकिन्छ।
समग्रमा, यो नाटक मूलतः सहअस्तित्वको खोजी गर्ने पात्रहरूको कथा हो। यहाँ पात्रहरू एकअर्काको अस्तित्व स्वीकार्दै, बुझ्दै र सम्मान गर्दै अघि बढ्छन्।
विशेषगरी यस नाटकमा श्रीमान्ले सहअस्तित्वको महत्त्व बुझेका छन् र त्यसलाई स्वीकारेका छन्। यदि उनले यो स्वीकार नगरेको भए, यो केवल सम्बन्धको अन्त्य मात्र नभएर, कथाकै अन्त्य हुनेथियो। सहअस्तित्वको स्वीकृति नै यस कथाको प्राण हो, जसले पात्रहरूलाई एक अर्काको अस्तित्व स्वीकार्न, बुझ्न र सम्मान गर्न सिकाउँछ।