काठमाडौँ । डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई चार सय आठ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्रीबहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो ।
मुख्यमन्त्री लामाले यसबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले नागरिकको गुनासालाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा बागमतीका यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेल, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले उक्त स्मार्ट फोनले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा प्रदेश यातायात मन्त्रालयका सचिव बलराम निरौलाले मन्त्रालयका भावी योजनाबारे जानकारी दिनुभएको थियो ।
प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गरिरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगीसिद्ध हुने विश्वास लिएको बताउनुभयो ।
प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकाले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उहाँले उल्लेख गर्नुभयो ।