Friday, November 15, 2024
घरसमाचार‘अग्निदहन’ फिल्मबारे माओत्से : कलाकारले ‘नेगेटिभ रोल’ गर्न डराउनुहुँदैन

‘अग्निदहन’ फिल्मबारे माओत्से : कलाकारले ‘नेगेटिभ रोल’ गर्न डराउनुहुँदैन

काठमाडौं । माओत्से गुरुङ जीवन्त अभिनयका लागि परिचित छन् । गुरुङ फिल्म समुदायको वृत्तबाट माथि उठेका उनी पछिल्लो समय मूलधारको फिल्ममा ब्यस्त छन् । उनी निर्देशित ‘दयारानी’ डेब्यु नेपाली हिट फिल्म हो ।

७ मङ्सिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’ गुरुङका फ्यानको लागि प्रतीक्षित फिल्म हो जहाँ उनी धामीको भूमिकामा देखिएका छन् । बोक्सी कूप्रथाबारे घनश्याम लामिछानेले निर्देशन गरेको यो सोसल ड्रामामा आफूले अभिनय गरेको भूमिकाबारे उनले संक्षिप्त कुरा गरेका छन् ।

उनलाई धामीको चरित्र निर्वाह गर्न सहज थिएन । ‘एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । मैले यो चरित्रका लागि धेरै तयारी पनि गरेको थिइनँ’ चरित्र चित्रणबारे उनले भने, ‘म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटना देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ’ ।’

आफूले धामी झाँक्रीले गरेको पूजाआजा र अनुष्ठान बच्चैदेखि देखेको हुनाले पनि ‘धामी’ चरित्रमा अभिनय गर्न अनुसन्धान नगरेको उनले बताए । ‘घरमा सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले चरित्रबारे धेरै अनुसन्धान गरिनँ’, उनले भने ।

फिल्ममा धामी बनेका माओत्सेले महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गरेका छन् । उनले फिल्मी करिअरमा होस् वा नाटकमा होस्, सकारात्मक वा नकारात्मक दुवै चरित्रमा अभिनय गरे ।

जुनसुकै चरित्र निर्वाह गर्दा पनि उनलाई आफ्नो ‘इमेज’ बिग्रिएला भन्ने डर छैन । ‘अग्निदहन’मा धामी चरित्र निर्वाह गर्दा उनले यही कुरालाई मनन गरेका रहेछन् ।

‘म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटागोनिस्ट या एन्टागोनिस्ट मात्रै भूमिका गर्छु भनेर कहिल्यै रोज्दिनँ । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु’, उनी भन्छन् ।

उनको बुझाइमा ‘बोक्सी’को आरोप लागेका महिलाप्रति सबै धामी क्रुर हुँदैनन् । ‘सबै धामी क्रुर भएको देखेको छैन । कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु । तर, जो जसले बोक्सीको नाममा महिलालाई दुःख दिइरहेका छन्, त्यो साच्चिकै अमानवीय कार्य हो’, माओत्से भन्छन् ।

माओत्सेले आफूलाई ‘अग्निदहन’ निर्देशक घनश्याम लामिछानेले ‘तपाईलाई सुहाउने एउटा रोल छ’ भनेपछि आफूले रोल सुनेर अभिनयका लागि सहमत भएको बताए । माओत्सको पछिल्लो फिल्म ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन ब्लकबस्टर फिल्म हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -