Friday, November 15, 2024
घरसमाचाररुपन्देहीमा रविको वयान सकियो, भोलिमात्रै पोखरा पठाइने

रुपन्देहीमा रविको वयान सकियो, भोलिमात्रै पोखरा पठाइने

२९ कात्तिक, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको थियो ।

बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर शुद्धाशुद्धी हेरेर भाषा मिलाउन र प्रमाणीकरण गराउँदा राति अबेर भएको थियो ।  जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उनलाई अब शुक्रबार विहान मात्र पोखरा पठाइनेछ ।

लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।

मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।

बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । लिखित बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई  प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र  ल्याउने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध  गरेको छ ।

सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्बीकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गितेन्द्रबाबु (जीबी) राई जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दा लामिछाने गृहमन्त्री रहेकै बेला ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ । तर त्यतिबेला रवि भने प्रतिवादी थिएनन् ।

संसदीय विशेष छानबिन समितिले सुप्रिम सहकारीको रकम समेत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको भन्दै रविसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै ३१ भदौमा प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनपछि सुप्रिम सहकारीमा पनि पूरक अभियोजन बनाएर मुद्दा लैजाने तयारी रुपन्देही प्रहरीको छ ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको थियो । उक्त रकममध्ये करिब २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको भेटिएको थियो ।

गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो ।

जीबी र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको थियो ।

जसमध्ये २ करोड रुपैयाँ त रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर लगेको भेटिएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको थियो ।

सहकारीको रकम अपचलनमा प्रत्यक्ष रुपमा लामिछाने नजोडिए पनि अपचलन भएर आएको रकम खर्च गर्ने काममा भने लामिछानेको समेत संलग्नता देखिएको संसदीय समितिले औंल्याएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -