काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’को कार्यकारी निर्माताको रुपमा भारतीय निर्देशक अनुराग कश्यप जोडिएका छन् ।
‘मेरो लागि यो गर्वको कुरा हो । म पूजा, सरको निर्माण टीममा जोडिएको छु’ कश्यपलाई उध्दृत गर्दै भेराइटीले उल्लेख गरेको छ, ‘यो एक मार्मिक र सान्दर्भिक विधाको फिल्म मात्र होइन । म विश्वस्त छु कि यसले भारतीय दर्शकको आवाज पनि भन्नेछ ।’
‘सेतो सूर्य’ हेरेपछि आफू निर्देशक रौनियारको फ्यान भएको र उनले गर्ने आगामी कामलाई लिएर आफू उत्सुक रहेको समेत कश्यपले बताएका छन् । ‘दीपक र मीन भाम नेपालका दुई रोमाञ्चक आवाज हुन् । उनीहरु आउन बाँकी रहेको नेपाली सिनेमाका अग्रणी व्यक्ति समेत हुन्’ कश्यपले भनेका छन् ।
यो फिल्म नेपालका हलमा चैत १ गते (१४ मार्च, २०२५)मा प्रदर्शनमा आउने भएको छ । बेलायत र आयरल्याण्डको वितरण अधिकार ‘च्यानल ४’ले खरिद गरेको छ ।
यसवर्षको सुरुमा इटालीको भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म दक्षिण कोरियाको बुसान फेस्टिभलमा हालै स्क्रिनिङ भयो । भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएको छ ।
फिल्ममा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक लगायतको अभिनय छ । यो फिल्मको निर्माणमा रौनियारको आदि फिल्म्स, रामबाबु गुरुङको बाँसुरी फिल्म्स र एलन आर मिलिगनको ट्यानहाउजर गेटले सहकार्य गरेका छन् ।