३ असोज, पोखरा । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबैजसो प्रमुख नेताहरु पोखरा आइपुगेका छन् ।
कतिपय नेताहरु रविलाई पछ्याउँदै सडक मार्गबाट पोखरा आएका थिए । कतिपय नेता भने शनिबार विहान विमानमार्फत आए । उनीहरुकै अग्रसरतामा पोखरामा प्रदर्शनसमेत भएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका रविलाई प्रहरीले शुक्रबार साँझ पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो । सडकमार्गबाट बिहान करिव ३ बजे पोखरा ल्याइएका उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ । उनलाई भोलि आइतबार अदालत पेश गर्ने तयारी छ ।
सहकारी पीडितहरु पनि जिल्ला प्रहरी कार्यालय बाहिर पुगेका थिए । आफू गृहमन्त्री हुँदा पटक पटक आश्वासन दिएर पनि जीबी राईलाई पक्राउ नगरेको भन्दै पीडित आक्रोशित थिए ।
सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगानी भएको भन्दै पीडितले जाहेरी दिएका थिए । त्यही पूरक जाहेरी र संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रवि पक्राउ परेपछि पीडितले न्यायको आशा गरिरहँदा रास्वपाका नेता कार्यकर्ता भने निकै आक्रोशित देखिएका छन् ।
रास्वपाले भने राजनीतिक पूर्वाग्रह राखेर रविलाई पक्राउ गरेको भन्दै सडक प्रदर्शन थालेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भयो । प्रमुख नेताहरु पोखरामा गएका कारण माइतीघरमा भएको प्रदर्शनमा शिशिर खनाल, गणेश कार्कीलगायतका नेता मात्र देखिए ।
पोखरामा भने रास्वपाका प्रमुख नेताहरुले सम्बोधन नै गरे । पोखराको जिरो किलोमिटरमा रहेको रास्वपाको कार्यालयदेखि मानवअधिकार चोक चिप्लेढुंगाम्म प्रदर्शन गरे । रास्वपाकै सांसदसमेत सदस्य रहेको संसदीय समितिले सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको र त्यसमा रविसहित चार जनालाई कानुन बमोजिम कारबाही गर्न सर्वसम्मत सिफारिस गरेको थियो ।
त्यही प्रतिवेदन कार्यान्वयनका क्रममा रवि पक्राउ गर्दा ‘प्रतिशोध’ भनेर प्रदर्शनमा उभिएका रास्वपाका नेता कार्यकर्ताले ‘असली सहकारी ठगहरु’ भन्दै कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सांसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको तस्वीर भएको प्लेकार्ड समेत बोकेका थिए ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका केही नेता कार्यकर्ता पनि रविप्रति सहानुभूति राख्दै प्रदर्शनमा देखिएका थिए । मानव अधिकार चोकमा उभिएर प्रदर्शनकारीमा सहभागीहरुलाई सम्बोधन गरेका रास्वपाका नेताहरुले चर्को अक्रोश पोखे । रास्वपाका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति बढी आक्रोशित देखिए ।
ओली र थापाले नै नयाँ पार्टीलाई माथि उठ्न नदिनका लागि प्रतिशोध साँधेको रास्वपाका सहप्रवक्ता मनिष झाको दाबी छ । सहकारी समस्या सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले पोखरामा पत्रकारहरुसँग भने, ‘यो (रवि पक्राउ) एउटा प्रतिशोध हो ।’
पार्टी सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्नु अगाडि आफूलाई जीवित छाडेर कसैलाई नछाड्ने भनेको भन्दै उनले पोखराको विरोध सभामा सम्बोधनका क्रममा भने, ‘रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु ।’
उनले अगाडि भने, ‘यिनीहरुलाई रगत चाहिएको हो, हामी रगत दिन तयार छौं, शहीद हुन तयार छौं ।’
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संसदीय समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडियाका पूर्वसञ्चालकमध्ये कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन् भने अर्का पूर्वसञ्चालक पूर्व डीआईजी छविवाल जोशी ६ असोजमा पक्राउ परेर हिरासतमै छन् । जोशीलाई प्रहरीले नियन्त्रणमा लिएकै दिन रवि पनि पक्राउ पर्नसक्ने त्रास रास्वपामा देखिएको थियो । रास्वपाले उपत्यकामा भएका पार्टी समर्थकहरुलाई केन्द्रीय कार्यलयमा भेला गरेको थियो भने चीन भ्रमणमा रहेको टोली फर्काएको थियो ।
तर त्यसबेला प्रहरीले रविलाई पक्राउ गरेन । दशैं विदा सकिएर जिल्ला अदालत, कास्की खुलेकै दिन शुक्रबार रविसहित १९ जनाविरुद्ध पक्राउ अनुमति लियो । लगत्तै रविलाई पक्राउ गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको भन्दै प्रहरीमा भदौ २०८० मा उजुरी परेको थियो ।
२४ भदौमा जीबीसहित १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भयो । कुमार रम्तेल सहितका व्यक्ति पक्राउ गरे । प्रहरीको अनुसन्धान प्रतिवेदनमा १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको उल्लेख थियो, तर सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबी गर्दै जिल्ला अदातलमा मुद्दा दर्ता गर्यो । त्यही मुद्दामा सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर अर्याय, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामा छन् ।
तर सहकारी ठगी प्रकरणमा रवि लामिछाने, माओवादीका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति पनि संलग्न रहेको भन्दै पीडितले माघ २०८० मा पूरक जाहेरी दिए । फागुनमा रवि उपप्रधान तथा गृहमन्त्री भए । लामिछाने गृहमन्त्री भएसँगै अनुसन्धान रोकिएको भन्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गर्यो ।
लगातारको संसद अवरोधपछि जेठ २०८१ मा संसदीय छानबिन विशेष समिति बनाउने सहमति दलहरुबीच जुट्यो । सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदन अनुसार जीबी राईको समूहले सञ्चालन गरेको सहकारीमा बचतकर्ताको ८ अर्बभन्दा बढी रकम अपचलन भएको छ । यसमध्ये ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ । सूर्यदर्शन सहकारीबाट मात्र गोर्खा मिडिया ५ करोड रुपैयाँ गएको संसदीय छानबिनले देखाएको छ ।
रास्वपा सांसद शिशिर खनालसमेत सदस्य रहेको संसदीय समितिले सर्वसम्मत रुपमा तयार पारेको प्रतिवेदनमा सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको ठहर गर्दै जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छबिलाल जोशीलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।
तर रास्वपा नेताहरुले भने ८७ अर्ब रुपैयाँ ठगीहरु खुलेआम हिँडेको, तर ५ करोड रुपैयाँ कुनै कम्पनीमार्फत मिडियामा लगानी भएको देखाएर रविलाई पक्राउ गरिएको भन्दै आक्रोश पोखेका छन् ।
राजनीतिक पूर्वाग्राह साँधेर कांग्रेस–एमाले सरकारले रविलाई सिध्याउन खोजेको भन्दै रास्वपाका नेताहरुले अब देशभर आन्दोलन चर्काउने चेतावनी दिए । सरकारको उल्टो दिन गन्ती सुरु भएको बताए ।
रास्वपा उपसभापति डीपी अर्यालले भने, ‘यो यति ठूलो महंगो पर्नेवाला छ, उनीहरुलाई ध्यान होस् ।’ अर्को चुनावसम्म ठूलो जनमत रास्वपामा जाने देखिएपछि कांग्रेस–एमाले अत्तालिएको उनको दाबी छ ।
रविलाई ठेगान लगाएपछि रास्वपा सकिन्छ भनेर दिवास्वप्न नदेख्न समेत उनले चेतावनी दिए । अर्यालले भने, ‘यो अभियान हो, अब रास्वपा झनै शक्तिशाली भएर आउने छ ।’
अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले पनि दूराग्रह राखेर रविलाई पक्राउ गरेको भन्दै राजनीतिक रुपमा प्रतिकार गर्ने बताए । व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन बनाउने जग्गा दान लिएको विषय अन्यत्र मोड्न रविलाई पक्राउ गरिएको समेत उनको दाबी छ ।
सांसद विराजभक्त श्रेष्ठले पनि चेतावनीकै भाषामा भने, ‘अब हामीसँग गुमाउन बाँकी छैन, गुमाउन केही बाँकी नरहेको मान्छेसँग सरकार डराए हुन्छ ।’ कास्कीबाटै सहकारी पीडितका निम्ति आन्दोलन सुरु भएको भन्दै उनने अगाडि भने, ‘एक–एकको हिसाब गर्छौं, कसैलाई छोड्दैनौं ।’