काठमाडौैं । भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो । लरेन्स ग्याङले यसको जिम्मेवारी लिएको छ । सिद्दिकीको हत्यापछि उनी निकटवर्ती अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ ।
राजनीतिमा रुचि नभएका मानिसले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे । हरेक वर्ष रमजानको अवसरमा मुम्बईमा आयोजना हुने यो पार्टीमा बलिउड सेलिब्रेटीको भीड लाग्ने गथ्र्यो ।
यो पार्टी शाहरुख खान र सलमान खानबीचको वर्षौं पुरानो झगडा अन्त्य गर्ने कारण थियो भन्ने कुरा कमैलाई थाहा छ ।
सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए । खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए । तर,स्रोतका अनुसार सलमानले शोको सुटिङ यसअघि नै पूरा गरिसकेका छन् ।
सिद्दिकीको हत्याको जिम्मेवारी लरेन्स ग्याङले लिएको छ । घटनापछि बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । थप प्रहरी टोली तैनाथ गरिएको छ भने चेक पोस्ट पनि निर्माण गरिएको छ ।
सलमानलाई लरेन्स ग्याङबाट धेरै पटक धम्की आएको छ । अप्रिल १४ मा उनको ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली प्रहार गरिएको थियो ।