Monday, January 13, 2025
घरसमाचारमुक्त हलिया परिवारलाई दसैँ खर्च जुटाउने पिरलो

मुक्त हलिया परिवारलाई दसैँ खर्च जुटाउने पिरलो

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ ।

चाडपर्वमा मिठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवारखर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् । तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झुपडीमा बस्दै आएका छन् । उहाँ झुपडीकै एक कोठामा सिलाइ मेसिन राखेर ग्राहकका पुराना लुगाफाटा सिउने कार्य गर्नुहुन्छ । गतिलो सीप नहुँदा नयाँ लुगा सिउने थोरै मात्र पुग्छन् । महिनामा हुने रु दुई–चार हजार कमाइले घरको नुन, तेल, चामल, पिठो, दालको जोहो मिलाउन उहाँको परिवारलाई धौधौ पर्छ । कमाइ नभएका बेला भोकभोकै झुपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उहाँसँग रहेको छ । 

दामोदरका बुवाबाजे दार्चुलाको बस्कोटमा फुर्सदको बेला निश्चित अन्न लिएर कपडा सिउने(खलो प्रथा) मा काम गर्नुहुन्थ्यो । आफ्नो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि उहाँका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम पनि गर्नुभयो । पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ मा सहज जीवनयापनको खोजीमा तराई झर्नुभयो ।

“कञ्चनपुरका धेरै ठाउँमा बस्यौँ”, उहाँले भन्नुभयो,“कुनै ठाउँमा पनि स्थायी रूपले बस्न पाएनौँ, जहाँ बस्न खोज्थ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायी रुपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ्य नहुँदा घुमन्ते रुपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उहाँ सुनाउनुहुन्छ । 

कमाइ गर्ने एक मात्रै साधन हातले चलाउने सिलाइ मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो९निश्चित अन्न०ले जीविका चल्थ्यो”, उहाँले भन्नुभयो, “जिउ ढाक्ने लुगाफाटो अरुसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५ को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाइ गर्ने मेसिन चलाएर उहाँको परिवारले जीविका चलाउँदै आएका थिए । राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गत दामोदरले सिलाइ गर्ने मेसिन पाउनुभएको छ । मेसिन पाएपछि घरखर्च चलाउन उहाँलाई केही सहज भएको छ । 

“आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाइ मेसिनले छिटोछरितो रुपमा काम चलाउन गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटोछरितो भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरूले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन ।”

वास्तविक रुपमा दुई दशकसम्म हलिया बसेर कार्य गरे पनि मुक्त हलियाको लगतमा उहाँ समावेश हुनबाट छुटनुभएको छ । लगतमा समावेश नहुँदा उहाँले परिचयपत्र र पुनःस्थापनका प्याकेज पाउनुभएको छैन । पच्चीस वर्षअघि बनाइएको झुपडीमा दामोदरको परिवारका सदस्य बस्दै आएका छन् । “प्लाष्टिकको कालो त्रिपाल र घाँसको छाना भएको कच्ची झुपडी बनाएको वर्षौँ भइसक्यो”, उहाँले भन्नुभयो, “झुपडी ढल्ने अवस्थामा पुगेको छ, झुपडी ढले आश्रयस्थलको खोजीमा फेरि भतारिनुपर्ने छ ।”

उहाँका चार छोरी र एक छोरा छन् । आवश्यक रकम जुटाउन नसक्दा टिकाटालो गरेर छोरीको विवाह गरी बिदाइ गरेको नमिठो अनुभव उहाँसँग छ । “एक मात्रै छोरा, पढाएर ठुलो मान्छे बनाउने धोको नै थियो”, उहाँले भन्नुभयो, पढाइका लागि आवश्यक रकम जुटाउन सकिन, बीचमै विद्यालय छुटाएर दुई महिनाअघि कमाइ गर्नका लागि भारत पठाएको छु ।” छोरालाई भारत पठाउनु रहर नभएर बाध्यता भएको उहाँले बताउनुभयो ।

सिलाइसँगै पहिला दामोदर दमाहा बजाउनुहुन्थ्यो । त्यसबाट केही आम्दानी हुन्थ्यो । विवाहमा आधुनिक बैण्डबाजाको प्रयोग हुन थालेपछि बाजा बजाउने कार्य ओझेलमा परेको उहाँको भनाइ छ । “झुपडीको कुनामा दमाहा झुन्ड्याएको वर्षौँ भइसकेको छ”, उहाँले भन्नुभयो, “बजाउनका लागि माग आउँदैन, दमाहा बजाउने कुरा एकादेशको कथा जस्तै भएको छ ।” दशैँ आए पनि एक छाक खानका लागि अरूसँगै हात थाप्नुपर्ने अवस्था उहाँको परिवारलाई रहेको छ । उहाँ भन्नुहुन्छ, “हाम्रा पिरमर्का मात्रै नसोध्नोस्, दुई छाक खाना सहज रुपमा खाने व्यवस्था, सुरक्षित आवासको व्यवस्थाका लागि पहल गरिदिनोस्, यही मात्रै हाम्रो अनुरोध छ ।” 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -