काठमाडौं । रोहित शेट्टी निर्देशित मल्टिस्टारर बलिउड फिल्म ‘सिंघम अगेन’को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेट लामो यो ट्रेलर हेर्दा फिल्मको कथा ‘रामायण’बाट प्रेरित भएको देखिन्छ ।
फिल्ममा अजय देवगण राम, करीना कपूर सीता, टाइगर श्राफ लक्ष्मण, रणवीर सिंह हनुमान, अक्षय कुमार जटायु र अर्जुन कपूरबाट प्रेरित पात्रमा देखिनेछन् ।
कप युनिभर्स शैलीमा बनाइएको यो फिल्मको ट्रेलरको रनटाइम झण्डै ५ मिनेट छ । भारतीय फिल्मको इतिहासमा यो अहिलेसम्मकै लामो ट्रेलर भएको जनाइएको छ ।
कथा बाजीराव सिंघम (अजय देवगण) बाट सुरु हुन्छ जसको पत्नी अवनी (करीना कपूर) लाई श्रीलंकाको खतरनाक गुण्डा डेंजर लंका (अर्जुन कपूर) ले अपहरण गर्छ । यसपछि आफ्नी श्रीमतीलाई बचाउन निस्कने सिंघमलाई शक्ति शेट्टी (दीपिका पादुकोण), एसीपी सत्य (टाइगर श्राफ), सूर्यवंशी (अक्षय कुमार) र सिम्बा (रणवीर सिंह) ले मद्दत गर्छन् । यी सबैको सहयोगमा सिंघमले छिमेकी मुलुकमा गोप्य कारवाही गर्छ ।
हिन्दी सिनेमाको यो लामो ट्रेलरमा सबै पात्रलाई प्रशस्त ठाउँ दिइएको छ । रामायणका सबै पात्र र उनीहरूको सम्बन्धलाई पनि स्पष्ट रूपमा व्याख्या गरिएको छ ।
फिल्ममा ८ मुख्य पात्र बाहेक श्वेता तिवारी, दयानन्द शेट्टी, रवि किशन र सिद्धार्थ जाधवलाई पनि देखाइएको छ । फिल्ममा सलमान खानको क्यामियोको चर्चा पनि चलिरहेको छ तर ट्रेलरमा भने उनी कतै देखिएनन् ।
यो फिल्म दीपावलीको अवसरमा नोभेम्बर १ मा हलमा रिलिज हुँदैछ । उक्त मितिमा यसको बक्सअफिस भीडन्त कार्तिक आर्यन स्टारर फिल्म ‘भूल भुलैया ३’ सँग हुनेछ ।