Monday, January 13, 2025
घरसमाचारदशैंमा बसैंका सुख-दुःख

दशैंमा बसैंका सुख-दुःख

पञ्चायतकालमा म.वी.वि. शाहको गीत ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर’ चर्चित थियो । बहुदलकालमा १९७४ एडी ब्यान्डको ‘जसो भन जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’ ।

बन्द समाजमा बसाइँसराइको चक्र करिब रोकिएको थियो । थातथलो छाडी कतै जानु भनेको सुविधासम्पन्न वर्गका लागि रोजाइ थियो, गरिब वर्गका लागि बाध्यता ।

इतिहास अध्येता तथा अर्थशास्त्री विश्व पौडेलको बुझाइमा त राहदानी खोलिदिएको भए पञ्चायतकाल लम्बिन सक्थ्यो । कहिलेकाहीं निरंकुश सत्ताले घुमाउरो पारामा जनताको ‘सेवा’ गर्छ, र आफूलाई बिदा ।

अचेल खुला समाजमा बसाइँसराइ धेरैका लागि स्वेच्छिक रोजाइ बन्न गएको छ । तर कतिका लागि अझै पनि यो निर्विकल्प बाध्यता । रैथाने बस्ती छाडेर जाने जोसुकैका लागि ‘जतासुकै लैजाऊ मलाई, मन त मेरो नेपाली’ नयाँ जमानाको साझा राष्ट्रिय गान जस्तै बन्न पुगेको छ ।

र, बसाइँसराइ आन्तरिक आयाममा मात्रै सीमित छैन, यसका बाह्य पक्षहरू थुप्रै छन् । गीतले त त्यसको मनोभाव मात्रै बोलिदिने हो ।

नेपालमा भन्दा सुबिस्ता आश गर्दै विदेशिनेहरूमा स्वेच्छिक छनोट त छँदैछ । नजानिंदो दबाब पनि छ । विगतमा भारत, बर्मा या समुद्रपारि मुगलानिने नेपालीहरू कोही युद्धका लाहुरे भए, कोही कामदार । छात्रवृत्तिमा नाम निकालेर पढ्न जानेदेखि व्यवसायमा तरक्की गर्नेहरूको सूची लामो छ ।

बसाइँसराइले सबैलाई केही न केही सिकाएकै छ । देशले केही न केही प्रतिदानमा पाएकै छ, रेमिट्यान्स होस् या सीप । नयाँ ठाउँमा पुग्दा प्राप्त हुने एक्सपोजरको महत्व पैसा भन्दा कम्ती छैन । त्यसैले बसाइँसराइलाई विरह र रोदनमा मात्रै सीमित गर्नुपर्ने खाँचो अब छैन ।

आज प्रवासीहरू टिसर्ट लेखाएर वा ट्याटु खोपाएर भन्दैछन्, ‘यु क्यान टेक मी आउट अफ् द कन्ट्री, बट् यु क्यान्ट टेक द कन्ट्री आउट अफ् मी ।’ अर्थात् जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो । तिमी मलाई देशबाहिर लैजान सक्छौ, तर मेरो देशलाई मबाट बाहिर लैजान सक्दैनौ ।

यो नसम्झौं, बसाइँसराइ केवल नेपालको मामिला हो । भारत, चीन जस्ता उदीयमान शक्ति राष्ट्रबाट समेत बसाइँ सर्नेको संख्या ठूलो छ । देशभित्रै पनि सुविधा र गुणस्तरीय जीवनको आशमा गाउँबाट शहर, शहरबाट अझै ठूलो शहर या महानगरतिर सर्नेको अनुपात बढ्दो छ । पहाडबाट मधेशिने, गाउँबाट शहर पस्ने क्रमले जनसांख्यिक बनोट नै बदलिएको छ ।

बिर्तामोड, दमक, इटहरी, बर्दिबास, रूपन्देहीका पालिकाहरू, कोहलपुर, अत्तरिया केही दृष्टान्त मात्रै हुन्, जसमा ठूलो जनसंख्या थुप्रिएको छ । काठमाडौं उपत्यकाको बारेमा भन्नै परेन । सिंगै प्रदेशको जनसंख्या बराबर एउटा जिल्लाको भइदेला भन्ने डर पनि छ । यसले ल्याउने स्रोत साधनको असमान वितरण, अनि त्यसले रैथानेमा ल्याउने आक्रोशको बारेमा छुट्टै चर्चा गर्न सकिन्छ । संसारैभरि पपुलिस्ट राजनीति यही आप्रवासनको एजेन्डाका कारण समेत फस्टाएको छ ।

कतिसम्म भने अमेरिकाको कुनै एउटा राज्यबाट स्पेन सर्नेहरूको संख्याबारे केही समयअघि न्युयोर्क टाइम्सले एउटा स्टोरी नै छपाएको थियो । अर्थात् डंकी रुटबाट ज्यानको बाजी लगाउँदै ग्वाटेमाला सिमाना पार गर्नेहरूको मात्रै कथा रहेनछ । अमेरिकाकै निश्चित ठाउँ छाडेर आन्तरिक वा बाह्य बसाइँसराइ गर्नेहरू पनि रहेछन् । युरोपका नागरिक अर्को देश वा महादेश जाने क्रम घट्दो होइन, बढ्दो छ ।

डेढ दशकअघि जोन डेनियलले लेखेको आलेख ‘अ वल्र्ड इन् फेभर अफ् रुटलेसनेस’ पढ्न नपाउँदासम्म यो पंक्तिकार पनि विदेशिनु भनेको गलतै हो भन्ने मान्यतामा अडिग थियो । यसै पनि विदेशिनेहरूलाई ‘पलायनवादी’ ठान्ने हाम्रो प्रवृत्ति नै थियो, अचेल परिदृश्य बदलिएको छ । डेनियलले लेखेका छन्, ‘बसाइँसराइ सधैं खराब हुँदैन । यसले अरू मानिस र समाजलाई हेर्ने दृष्टि चौडा पारिदिन्छ । एकै ठाउँ बसिरहँदा माटोप्रतिको अपनत्व त बढ्ला, तर पृथ्वीको बृहत्तर सौन्दर्य चिन्ने क्षमता र मौका खेर जान सक्छ ।’

डेनियलले रैथानेवादको प्रवद्र्धन गर्दैनन् । उनी विश्वका विभिन्न शहरको उदाहरण दिंदै जति मान्छे ठाउँ सर्दै हिंड्छ, त्यति उसको र तत् समाजको पनि प्रगति हुन्छ भन्ने मान्यता राख्छन् । बरु अति रैथाने हुँदै जाँदा सभ्यतामा खतरा उत्पन्न हुने त्रास समेत देखाउँछन् ।

सुविधासम्पन्न ठाउँका मान्छेको बसाइँसराइ र नेपाल जस्ता तेस्रो विश्वका विकासोन्मुख मुलुकको बसाइँसराइ बीच भने त्यति नै फरक छ, जति जोन डेनियलको रुटलेसनेस आलेख र लीलबहादुर क्षेत्रीको उपन्यास बसाइँ वा लैनसिंह बाङ्देलको उपन्यास ‘मुलुक बाहिर’ बीच छ ।

केही समययता नेपालमा आएका सिनेमा चिसो मान्छे, बुलबुल वा रेड सुटकेशमा त्यही बसाइँसराइले दिएको असीम पीडा चित्रित थियो । कतै विदेशिएको पति कुर्ने पत्नीका पीडा छन्, कतै विदेशमा मरेका कामदार वर्णित छन् । हामीलाई बसाइँले अधिक सुख र अनन्त दुःख एकैसाथ थमाएका दृष्टान्त जति पनि छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षका तस्बिर, अनि दशैं बेलाका विरही गीत हामीलाई रुवाउन पर्याप्त छन् ।

तर यसलाई मनोवैज्ञानिक चर्चामा सीमित राखेर बृहत् अर्थराजनीतिक पक्षलाई बेवास्ता गरियो भने बसाइँको बहस नै अधुरो बन्न जानेछ । २०४६ को परिवर्तनपछिका केही वर्षसम्म खेतीपातीले जेनतेन धानेको निर्वाहमुखी अर्थतन्त्रबाट नेपाली समाजले उठ्ने प्रयास गर्‍यो । श्रमसीप र सामान्य शिष्टाचार समेत नसिकी रोजगारीमा गएकाहरू हुन्, वा विगतदेखि नै मुगलानिने परम्परालाई निरन्तरता दिएकाहरूले बेस्सरी दुःख त पाए नै । अरूको समाजको जीवन बुझ्न पनि पाए । तिनको आँखाबाट आफूलाई हेर्न सिके ।

सुरु–सुरुमा मातृभूमिको मायाले भिज्नेहरू पनि विस्तारै उतैको हावापानीमा अभ्यस्त हुँदै गए । बाहिर जानेमध्ये कति नेपाली एउटा अन्तरालपछि खुसी–खुसी देश फर्के । कतिका पिंढी–दर–पिंढी उतै रहे–बसे, बिते ।

सक्रिय श्रमशक्ति ४२ प्रतिशत भन्दा बढी रहेको नेपालमा त्यही श्रमशक्ति भने बसाइँ हिंड्दै गरेको तथ्यले हाम्रो समृद्धिको यात्राको सबल यात्री को होला भन्ने स्वाभाविक प्रश्न उब्जाउँछ । नेपालको नीति निर्माणमा जाने नेतृत्व चुन्ने बेला चुनावमै त्यो शक्ति नेपालमा भइदिएन भने कस्तो नेतृत्व उदाउला ? अर्थात् हाम्रो लोकतन्त्रको वास्तविक अभ्यास नै कत्तिको सार्थक होला भन्ने प्रश्न उत्पन्न हुन्छ ।

पहाडबाट तराई झर्ने होउन् या गाउँबाट सदरमुकाम वा शहर जानेहरू, अझै पनि सुगमता, सहजताको खोजीमा जान चाहने नागरिकहरूलाई तत्काल राज्यले शिक्षा, स्वास्थ्य, रोजगारीमा सहज पहुँच दिन सक्ने अवस्था छैन । स्रोतको असमान वितरण जारी राखेर राज्यले कसरी पो ‘नजाउ छाडी यो देश’ गीत गाउने परिवेश तयार गर्न सक्छ र ?

म.वी.वि. शाह अर्थात् तत्कालीन राजा महेन्द्रले लेखेको गीतलाई जनताको गीतले प्रतिस्थापित गर्दा नेपाली नागरिकमा थातथलो छोड्ने रोमाञ्चकता बढ्दो थियो । नयाँ ठाउँमा बसाइँ सरी जाने उत्सुकता अहिले पनि छ । माथि नै भनिसकियो, बसाइँसराइ दुःख र अभावको मात्रै पर्याय रहेन । बरु पर्याय बन्न गयो, सम्भावनाको खोजीको । तर के हामी बास छाड्ने चाहनालाई स्वेच्छिक छनोटमा सीमित गर्न सकौंला ? के हामी आमाबासँग हुर्कने, छोराछोरी र दम्पती रमाउने रहर अधुरै छाडेर घरबाट बाध्यात्मक बहिर्गमन गर्ने अहिलेको पीडादायी वास्तविकतालाई बदल्न सकौंला ?

अनलाइनखबरको यो दशैं विशेष शृंखलामा यसै सरोकारको वरिपरि स्टोरी, आलेख, अन्तर्वार्ता लगायत सामग्री उपलब्ध छन् । तपार्इंको सुझाव प्रतिक्रिया अपेक्षित छ । दशैं लगायत आउँदै गरेका सबै चाडहरूका लागि हार्दिक शुभकामना ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -