१८ असोज, काठमाडौं । सूचीकृत केही कम्पनीले वर्षौंदेखि नै साधारणसभा (एजीएम) गर्न सकेका छैनन् । साधारणसभा नभएपछि नाफामा गएका कम्पनीले समेत वर्षौंदेखि लाभांश दिएका छैनन् ।
ऐनअनुसार कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र अर्थात् पुस मसान्तसम्म साधारणसभा गर्नुपर्छ । तर सूचीकृत राष्ट्रिय बीमा कम्पनी, विशाल बजार लगायत कम्पनीले केही वर्षयता नै साधारणसभा गरेका छैनन् ।
यस्तो अवस्थामा केही कम्पनीले भने गत आर्थिक वर्षकै नाफाबाट सेयरधनीलाई दशैंअघि नै लाभांश दिइसकेका छन् । सामान्यतः साधारणसभा भइसकेपछि कम्पनीको लाभांश पनि स्वीकृति हुन्छ र लगानीकर्ताले लाभांश पाउन बाटो खुल्छ ।
साधारणसभालाई आधार मान्दा दशैँअघि ११ कम्पनीले सेयरधनीलाई लाभांश प्रदान गर्नेछन्, यीमध्ये केहीले दिइसकेका छन् । एक वाणिज्य बैंक, एक होटल, पाँच हाइड्रोपावर, एक विकास बैंक, एक उत्पादन समूहको कम्पनी र दुई लघुवित्त कम्पनीहरुले दशैंअघि लाभांश दिनेछन् । अर्थात् यी कम्पनीको साधारणसभा दशैंअघि नै हुनेछ र केहीको भइसकेको छ ।
साधारणसभा सम्पन्न भएलगत्तै लगानीकर्ताले नगद लाभांश बैंक खातामा पाउँछन् । यद्यपि बोनस सेयरका हकमा डिम्याट खातामा आउन केही समय लाग्ने र सो बोनस सूचीकृत भएपछि मात्रै बेच्न मिल्छ ।
त्यस्तै विभिन्न म्युचुअल फन्डका २७ योजनाले पनि दशैंअघि लाभांश दिइसकेका छन् । म्युचुअल फन्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई १५ प्रतिशतसम्म नगद लाभांश दिएका छन् ।
खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।
म्युचुअल फण्डका विभिन्न नाममा ३६ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । म्युचुअल फन्डका इकाइधनीले कम्पनीका सेयरधनीको तुलनामा छिटो लाभांश पाउने गरेका छन् । म्युचुअल फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाई १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् । उदाहरण : यदि कुनै म्युचुअल फन्डले १२ प्रतिशत लाभांश घोषणा गरेको छ, भने उसले दिने लाभांश १० को १२ प्रतिशत अर्थात् प्रतिइकाइ १ रुपैयाँ २० पैसा हुन्छ ।