Saturday, January 11, 2025
घरसमाचारस्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

१८ असोज, बार्सिलोना । काठमाडौं मूल घर भएका ३१ वर्षीय किरण (नाम परिवर्तन) अगष्ट दोस्रो साता स्पेनको बार्सिलोना आइपुगेका हुन् । रोजगारीका लागि रोमानिया आएका उनी त्यहाँ ८ महिना बसे । तर त्यहाँ कामको ठेगान नभएपछि उनी रेसिडेन्सी कार्ड बनाउने चक्करमा स्पेन छिरेका हुन् ।

सन् २०२३ डिसेम्बर पहिलो साता धन कमाउने सपना बोकेर रोमानिया त आए । तर सोचेजस्तो भएन । उनी आएको कम्पनीमार्फत एउटा होटेलमा काम गर्ने उनको कन्ट्राक्ट थियो । ‘साठी वर्ष पुरानो होटल रहेछ । त्यहाँको पुलिस आएर के कारणले हो होटल नै बन्द गरिदियो’ किरणले भने, ‘दुई/तीन महिनासम्म काम विहीन नै भयौं । फेरि मार्चदेखि खुलेको थियो । फेरि बन्द हुन पुग्यो ।’

७ लाख रुपैयाँ साहुसँग ऋण लिएर रोमानिया आएको बताउने किरणको मन बेचैन छ । नेपालमा चर्को ब्याजदरमा लिएको ऋणका कारण उनको मन रोमानियामा नै अडिरहन सकेन । किरणले त्यहाँ आफ्नो भविष्य देखेनन् । त्यहाँको वैधानिक कागजातको म्याद छँदै बरु स्पेन जाने निर्णय लिए । हवाई टिकट लिएर उनी रोमानिया छोडेर स्पेन आइपुगेका हुन् ।

उनी स्पेन त आए तर न बस्ने कोठा छ, न चिनेजानेका मान्छे नै । बार्सिलोनाको साग्रदा प्यामिलिया नजिकै एक होस्टलमा उनले १० दिन बिताए । होस्टेलमा बसेको मात्रै उनले दैनिक ३० युरो बुझाए । बिहान/बेलुका खाँदा दैनिक झन्डै ५० युरोसम्म खर्च भएको उनी सुनाउँछन् ।

होस्टेलमा नै हंगेरीदेखि आएका ४ जना नेपालीलाई पनि उनले त्यहीँ भेटे । ‘अहिले युरोपको अन्तिम गन्तव्य नै स्पेन बनिरहेको छ । पोर्चुगलमा सजिलै कार्ड बन्ने प्रक्रिया बन्द भएपछि सबै नेपाली स्पेनमा छिरेका छन्,’ किरण भन्छन्, ‘तर काम त परको कुरा बस्ने कोठा पाए पनि ठूलो भाग्य भन्ने भइरहेको छ ।’

****

तनहुँ मूल घर भएका २९ वर्षीय रमेश (नाम परिवर्तन) क्रोएसियाबाट स्पेनको बार्सिलोना आएको भर्खर दुई हप्ता भयो । २ वर्षदेखिको क्रोएसियाको बसाइँ टुंग्याएर स्पेन छिरेदेखि नै उनी तनावमा छन् । ‘स्पेनमा कार्ड बन्न तीन वर्षसम्म लाग्ने रहेछ । नगरपालिका (अजेन्तामेन्तो) मा गएर आफू कुनै घरमा बस्दै आएको भनेर ठेगाना दर्ता (एमपात्रोनामेन्तो) गर्नुपर्ने रहेछ,’ उनले भने, ‘बल्लबल्ल कोठा त पाएँ तर म स्पेनमा बस्न सुरु गरेँ भनेर अझै दर्ता गर्न पाएको छैन । अहिले बसिरहेको घरबाट दर्ता गर्न मिलेन । अब यो नभएसम्म म यहाँ बसेको भनेर दिनगन्ती नै सुरु हुने रहेन छ ।’

‘पहिला ३ सय ५० युरोमा डबल रुम पाइन्थ्यो रे । अहिले ५ सय युरोसम्म पुगेको छ । तीन–चार जनाले एउटै कोठा सेयर गरेर बस्दा पनि प्रतिव्यक्ति २८० देखि ३ सय युरोसम्म भाडा खर्च छ,’ उनले भने, ‘होस्टलमा बस्दा झनै खर्च छ । त्योभन्दा महँगोमा भएपनि कोठा लिएर बस्नै पर्यो ।’

स्पेनमा रेसिडेन्सी कार्ड बन्न तीन वर्ष लाग्ने र त्यो अवधिमा वैधानिक तवरले काम गर्न नपाइने भन्ने थाहा पाएपछि उनी निकै तनावमा छन् । ‘कार्ड नबनेसम्म वैधानिक तवरले काम पाइँदैन भन्छन् । यति महँगो भाडा तिरेर तीन वर्ष कसरी काट्ने ?’ रमेशले प्रश्न गरे । तीन वर्ष पुगेर कामको कन्ट्राक्ट खोज्दा मोटो रकम खर्च गरेर कार्ड बनाउँछन् भनेको सुन्दा उनी झनै आत्तिएका छन् ।

पोर्चुगलले जुन ३, २०२४ मा आप्रवासी नीति कडाइ गरेपछि रोमानिया, क्रोएसिया, माल्टा, बुल्गेरिया, हंगेरी लगायतका युरोपेली मुलुकबाट हजारौंको संख्यामा नेपाली स्पेन भित्रिएको अनुमान छ ।

****

पोखरा महानगरपालिका–३० लेखनाथ मूल घर भएकी २४ वर्षीया सोबिता सापकोटा स्पेन आएको तीन महिना पुग्यो । उनको अझै कामको अत्तोपत्तो छैन । २०८१ वैशाखमा सिजनल भिसामा उनी अष्ट्रिया आएकी थिइन् । नेपालदेखि नै सोबिता पोर्चुगलमा छिरेर कार्ड बनाउने योजना सहित अष्ट्रिया छिरेकी थिइन् । ‘दुर्भाग्य हामी अष्ट्रिया छिरेपछि पोर्चुगल बन्द भयो । अन्तिम विकल्प नै स्पेन देखेपछि यता आएकी हुँ । तर यहाँ जे सोचेर आएकी थिएँ त्यस्तो रहेनछ,’ उनले भनिन् ।

उनले अष्ट्रियामा तीन महिना स्ट्रबेरी टिप्ने काम गरिन् । ‘कमाइ त त्यहाँ राम्रै हुन्थ्यो । आफूले जति गर्न सक्यो उति नै राम्रो थियो । महिनामा १७–१८ सय युरोसम्म कमाउन सकिन्थ्यो,’ सोबिताले भनिन्, ‘त्यहीँ बसेर काम गर्न त मन थियो तर पोर्चुगल जस्तै स्पेन पनि बन्द हुन्छ कि भन्ने डरले तीन महिना भिसा बाँकी छँदै यता आएँ ।’

स्पेनको बार्सिलोना शहरमा उनी तीन महिनादेखि बेरोजगार छिन् । सोबितालाई अहिले भिसा छँदै अष्ट्रिया छोडेकोमा ठूलो पछुतो छ । ‘बाँकी तीन महिना पनि काम गर्न पाएको भए लागेको ऋण केही भए पनि घट्थ्यो । अहिले पछुतो मानेर के गर्ने ?’ उनले भनिन् ।

अष्ट्रियासम्म आउँदा उनले १३–१४ लाख रुपैयाँ खर्च गरेको सुनाइन्  । आफूसँगै अष्ट्रियामा आएका १२ जना नेपालीमध्ये १० जना कार्ड बनाउन भन्दै आफूजस्तै स्पेन छिरेको उनले बताइन् । ‘स्पेनमा आफ्नो मान्छे कोही पनि हुनुहुन्थेन । एउटा रुममा चारजनासम्म बस्यौं । हामी चार जनाले एउटा रुमको भाडा ९ सय युरोसम्म तिर्यौं,’ दुखेसो पोख्दै सबिताले सुनाइन्, ‘त्यतिबेला निकै गर्मी पनि थियो । सजिलोसँग बस्न सक्ने अवस्था थिएन । पछि अर्को रुम खोजेर त्यहाँबाट सर्यौं ।’

नेपालमा गरिएको कल्पना जस्तो ‘युरोप’ यथार्थमा फरक रहेको सोबिताको भोगाइ छ । ‘एक त काम पाउन गाह्रो । काम पाइहाले पनि भाषाको समस्या हुँदोरहेछ,’ उनी अरुलाई सुझाव दिँदै भन्छिन्, ‘युरोपका अन्य देशमा तपाईं जे काम गरिरहनु भएको छ । अहिले त्यही कामलाई नै निरन्तरता दिनुहोस् । कार्ड बनाउने चक्करमा त्यसै हामफालेर स्पेन नआउनुहोस् ।’

सोबिता स्पेन आएको तीन महिना पुगिसकेको भए पनि नगरपालिकामा उनको ठेगाना दर्ता (एमपात्रोनामेन्तो) अझै भएको छैन । आफू बसिरहेको घरको ठेगाना दिन नमिल्ने भएपछि उनले रेडक्रस मार्फत एमपात्रोनामेन्तो गर्ने प्रक्रियामा नै छन् ।

‘युरोप छिरेपछि दुःख गरेर पनि कमाइ त हालिन्छ भन्ने सोच नेपालदेखि बनाइएको हुन्छ तर त्यो गलत रहेछ । दुःख गर्छु भने पनि, गर्ने ठाउँ त पाउनुपर्यो नि,’ उनी भन्छिन्, ‘बरु तपाईं अहिलेको अवस्थामा यदि स्पेन आउँदै हुनुहुन्छ भने कम्तिमा ५/६ महिनाका लागि चल्ने खर्च बोकेर आउनुहोला भन्ने म सुझाव दिन चाहन्छु ।’

****

म्याग्दी मूल घर भएकी बिमला (नाम परिवर्तन) पनि स्पेन आएको एक महिना पुगिसकेको छ । उनी यतिबेला पर्यटकीय शहर बार्सिलोनामा बस्छिन् ।

६ महिना पहिले सर्बिया आएकी बिमला त्यहाँबाट ग्रिस पुगिन् । रेसिडेन्सी कार्डको सपना बुनेर उनी बिभिन्न दुःख झेल्दै स्पेन आइपुगेकी हुन् । स्पेन आइपुग्दासम्म १५ लाखभन्दा बढी खर्च भइसकेको बिमला बताउँछिन् ।

उनीसँग अहिले नेपाली राहदानी समेत छैन । ‘आफ्नो डकुमेन्ट पनि नहुँदा यहाँ नगरपालिकामा गएर आफ्नो ठेगाना दर्ता गर्न पनि पाएकी छैन,’ बिमलाले भनिन्, ‘पासपोर्ट बनाउने प्रक्रिया म्याड्रिड दूतावासबाट अघि बढिसकेको छ । अब कहिले बनेर आउँछ अनिमात्र मेरो प्रक्रिया अघि बढ्ने भयो ।’

बिना डकुमेन्ट स्पेन छिर्दा ६ महिनाको समय त्यसै खेर जाने उनले सुनाइन् । स्पेनमा चिनेजानेका एक जना आफन्त भए पनि अहिले आफ्नो सम्पर्कमा नआएको भन्दै उनले गुनासो पोखिन् । एउटै अपार्टमेन्टमा १२–१३ जना नेपाली सँगै बस्दै आएको बिमलाले बताइन् । ‘हामी सबै भर्खर छिरेका नयाँ नेपालीहरु एकै ठाउँमा बस्छौं । लगभग सबैको पीडा उस्तै छ,’ उनले दुःख पोखिन् ।

स्पेनमा नेपाली ओइरिनुको कारण ‘पोर्चुगल’

पहिले–पहिले नेपालीहरु विना सोचविचार आँखा चिम्लेर पोर्चुगललाई नै रोज्थे । त्यहाँ आप्रवासी नीति अत्यन्तै खुकुलो पनि थियो  । एक/दुई वर्षमा नै टिआरसी कार्ड बनाउँथे । ५–७ वर्षमा त पोर्चुगलको पासपोर्ट नै पाउँथे । त्यसपछि युरोपियन पासपोर्ट बोकेर उनीहरु बढी कमाइ हुने मुलुकमा बसाइँ सर्थे ।

तर जुन ३, २०२४ देखि पोर्चुगलले आप्रवासन नीतिमा कडाइ गरेपछि पहिलेजस्तो सहज छैन ।

यसअघि युरोपेली संघ बाहिरका मानिसहरूले पोर्चुगलमा एक वर्षसम्म ‘सामाजिक सुरक्षा’ कर तिरेपछि त्यहाँको आवास अनुमति प्राप्त गर्न निवेदन दिन पाउँथे ।

पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले ‘एक्सन प्यान फर माइग्रेन्ट’ नाम दिइएको नयाँ योजना ल्याएर लागु गरे । आप्रवासन नीति सम्बन्धी यो योजना अनुसार रेसिडेन्सी कार्डका लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ लाई खारेज गरिदिए ।

पोर्चुगलमा ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ बन्द भएपछि हजारौं नेपाली प्रभावित बनेका हुन् । पोर्चुगलमा सजिलै कार्ड बन्ने नदेखेपछि नेपालीहरु स्पेनमा ओइरिएका छन् ।

स्पेनमा रेसिडेन्सी कार्ड बन्ने प्रक्रिया के हो ?

स्पेनमा रेसिडेन्सी कार्ड बनाउन पहिलेजस्तो सजिलो नियम छैन । जुन ३ अघिसम्म पोर्चुगलमा ‘सामाजिक सुरक्षा’ कर तिरेर वैधानिक रुपमा नै काम गर्न कुनै रोकतोक थिएन । तर स्पेनमा भने रेसिडेन्सी कार्ड नबनेसम्म वैधानिक रुपमा काम गर्न पाइँदैन ।

स्पेनमा बसोबास गर्दै आएका नेपाली । फाइल फोटो

सन् २००० जनवरी ११ मा जारी ‘ले अर्गानिका 4/2000’ मार्फत अनियमित अवस्थामा रहेका आप्रवासी नियमित बनाउने पछिल्लो प्रक्रिया हो । जसले अवैध अवस्थामा रहेका आप्रवासी वैध बनाउन सहज बनाएको छ । यो सुबिधा युरोपियन युनियनभन्दा बाहिर मुलुकका मानिसहरुलाई मात्र छ ।

स्पेनमा रेसिडेन्सी कार्ड बनाउने थुप्रै उपायहरु छन् । जस्तो ‘अराइगो फ्यामिलियार’, अराइगो लाभाराल’, ‘अराइगो प्रोफेसोनाल’ लगायतका प्रक्रियाहरु छन् । तर नेपालीहरु माझ सबैभन्दा लोकप्रिय ‘अराइगो सोसियाल’ नै हो ।

‘अराइगो सोसियाल’ मार्फत कार्ड बनाउन तीन वर्ष स्पेनमा बस्दै आएको प्रमाण चाहिन्छ । त्यसपछि पछिल्लो पाँच वर्षको पुलिस रिपोर्ट, साथमा कामको कन्ट्राक्ट पनि अति महत्वपूर्ण पक्षहरु हुन् ।

आफू बस्दै आएका प्रदेश अनुसार भाषा कक्षा पढेको प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुनसक्छ । अराइगोको प्रमाणपत्र लिन अन्तर्वार्तासम्म दिनुपर्ने पनि हुनसक्छ ।

यो नियम स्पेनको क्याटालोनिया प्रदेशमा निकै लोकप्रिय छ । स्पेन बस्दै आएको तीन वर्षपछि यी सबै प्रक्रिया मार्फत रेसिडेन्सी कार्ड पाउन सकिन्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -