वीरगञ्ज । तीन दिनदेखिको निरन्तर वर्षाका कारण वीरगञ्ज लगायत मध्य तराईका बारा, पर्सा, रौतहट जिल्लाको जनजीवन प्रभावित भएको छ ।
अविरल वर्षाले दैनिक ज्यालादारी गरी खानेहरू सबैभन्दा बढी प्रभावित भएका छन् । जिल्ला विपत व्यवस्थापन समिति पर्साले दिएको जानकारी अनुसार निरन्तर तिन दिनदेखि जारी वर्षाका कारण पर्साको विभिन्न स्थानमा पानी जमेर जलमग्न हुनुका साथै घरहरूमा पनि क्षति पुगेको छ ।
पर्साको ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगन्ज जोड्ने सडकहरू ठाउँ ठाउँमा बाढीले बगाएपछि ग्रामीण क्षेत्र र सदरमुकामको यातायात सञ्चालन अवरुद्ध भएको छ । जिल्ला विपद व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पर्साको पकहामैनपुर गाउँपालिका ४ खेस्राहा बस्ने बिहारी राउतको खपडाले बनेको कच्ची घर बाढीले भत्काएको छ । राउतका आश्रित परिवारका ६ जनालाई उद्धार गरी सुरक्षित स्थलमा राखिएको छ । त्यसैगरी पर्सागढी नगरपालिका–९ स्थित तिलावे खोलामा पानीको सतह बढेको कारण एकटांगाबाट मनवातर्फ आउने बाटो बन्द भएको छ ।
पर्साकै जिराभवानी गाउँपालिका १ को ओरिया खोलामा पानीको सतह बढेको कारण महादेवपट्टिबाट सेढवातर्फ आउने बाटो बन्द रहेको पर्साका प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समिति पर्साका संयोजक दिनेश सागर भुषालले जानकारी दिनुभयो ।
त्यस्तै पर्सा पटेर्वासुगौली गाउँपालिका–४ मा रहेको भलुही खोलामा पानीको सतह बढेकोले पटेर्वा सुगौलीबाट शंकरसरैयातर्फ जाने बाटो बन्द रहेको छ । पटेर्वासुगौली गाउँपालिका–२ भलुही खोलामा पानीको सतह बढ्न गई रङ्गपुरबाट मनवातर्फ आउने बाटो बन्द रहेको छ ।
त्यसैगरी वीरगञ्ज महानगर पालिका–३० लालपर्साको बाटो समेत अविरल वर्षातको कारण अवरुद्ध भएको छ । त्यसैगरी पकहामैनपुर गाउँपालिका–२ मानिपुरमा अविरल वर्षाका कारण नालाहरू जाम भई २० ओटा घर डुबानमा परेका छन् ।
डुबानको कारण वीरगन्ज महानगरपालिका–१३ राधेमाई स्थित वडा प्रहरी कार्यालय श्रीपुर पर्साको कार्यालय भवनको पछाडिको कम्पाउन्डको पर्खाल ५० मिटर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । वर्षाको कारण हुलाकी राजमार्गमा रहेको तिलाबे नदीको पुलको एप्रोच सडक भासिएको छ ।
वीरगन्ज–१९ तिलावेपुल नजिक बिन्दवासनीबाट वीरगन्जतर्फ जाने पुलको २० मिटर वारि दाहिने तर्फको बाटो चर्किएको कारण यातायात सञ्चालन अवरुद्ध भएको छ । वीरगन्ज महानगरपालिका–११ कृषि औजार अनुसन्धान केन्द्र कार्यालय पछाडि दलित टोल सरिसवा खोलाको बाढीले डुबानमा परेको छ । त्यस्तै कृषि सामाग्री संस्थानको भवनमा पानी पसेर भण्डारण गरि राखिएको रासायनिक मल डुबेको छ ।
वीरगञ्ज नर्सिङ कलेज, सशस्त्र गण तथा आर्मी ब्यारेक जलमग्न अवस्थामा रहेको छ । वीरगन्ज आसपास क्षेत्र जलमग्न रहेको र भेडाहा खोलाको पानी बस्तीतर्फ पसेको छ ।
बाढि र डुबानग्रस्त क्षेत्रमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधिसँग समेत समन्वय गरी विपद प्रतिकार्यको काम निरन्तर भइरहेको पनि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो ।
यसैबीच वीरगञ्जस्थित सिर्सिया नदीमा आज बिहान आएको बाढीले वीरगञ्जको आदर्शनगर, रानीघाट, श्रीपुर क्षेत्रमा डुबान भएपनि साँझदेखि पानी पर्न कम भएसँगै डुबान हट्दै गएको छ ।