पोखरा । लेखनाथ खानेपानी उपभोक्ता संस्था पोखरा–३०, कास्कीको शनिवार भएको स्वागत तथा भेटघाट कार्यक्रममा नेपाल सरकारका सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले खानेपानीका स्रोत संरक्षण गरेर उपभोग गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
मन्त्री यादवले प्राकृतिक स्रोत साधनको संरक्षणमा जोड दिँदै उपभोक्तालाई गुणस्तरयुक्त स्वस्थ र सर्वसुलभ खानेपानी वितरणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । विकासका नाममा विनासकारी कार्यले मानिसको जनजीवन प्रभावित भएकोतर्फ सचेत हुँदै विकासका पूर्वाधार निर्माण गर्दा सडक, खानेपानी, बिजुली, सिँचाइबिच सहकार्य हुनुपर्ने मन्त्री यादवले बताउनुभयो ।
छलफल एवं भेटघाट कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमीलादेवी शाक्य बज्राचार्यले संस्थाको प्रगति विवरण हेर्दा सन्तोषजनक रहेको र आयोजना सफल पार्न गरेको निरन्तर प्रयासमा लाग्न उपभोक्ता एवं समितिका सदस्यहरु निरन्तर लाग्न सुझाव दिँदै मन्त्रालयबाट थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घीय खानेपानी आयोजनाका प्रमुख शङ्कर चन्द्र के.सी.ले कानुनलाई केही परिमार्जन गरेर उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुङ्गानाले २७ वर्ष पार गरेको संस्थाले समथर र पहाडी भूभाग गरी करिब ८८,६०५ जनसङ्ख्यालाई दैनिक १ करोड ९ लाख लिटर प्रतिदिन स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको बताउँदै संस्थामार्फत २ पानीका मुहान र ९ बोरिङमार्फत पानी वितरण हुँदै आएको जानकारी दिनुभयो । लेखनाथ खानेपानी उपभोक्ता संस्थाद्वारा वितरित पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गरेकोले ढुक्क भएर उपभोग गर्न आम उपभोक्तालाई उहाँले अनुरोध गर्नुभयो ।