झापा । झापाको भद्रपुरमा आजदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा रहेको कभर्डहलमा प्रतियोगिता सुरु भएको हो । आज पहिलो दिन पुरुष डबल्स र भेट्रान्स डबल्स गरी २४ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा आज बिहान आयोजित एक समारोहबीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।
संघका सचिव तीर्थराज ढकालले सञ्चालन गरेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले पछिल्लो समय भद्रपुरमा खेलकुद गतिविधिमा तीव्रता आएको बताउँदै खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिका लागिपरेको जानकारी दिनुभयो ।
शनिबारसम्म चल्ने प्रतियोगितामा कुल ४७ खेल हुने बताइएको छ । भारतको दार्जिलिङस्थित सलोनी टि कपले प्रायोजन गरेको प्रतियोगिताको खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् भने दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
त्यस्तै, भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् ।