बाँके । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा बढ्दो छ । खुल्ला सिमानाका कारण भारत गएर फर्किने व्यक्तिहरूमा औलोको सङ्क्रमण बढी देखिने गरेको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर राजन पाण्डेले बताउनु भयो ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक देवनारायाण उपाध्यायका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका विभिन्न पालिकामा ५६ जना सर्वसाधारणलाई औलो रोग पुष्टि भएको थियो । त्यसपछि आर्थिक वर्ष २०७७/०७८ मा ४२ जना, आर्थिक वर्ष २०७८/०७९ मा १०६ जना, आर्थिक वर्ष २०७९/०८० मा १२२ जना र गत आर्थिक वर्ष २०८०/०८१ मा १६२ जना सर्वसाधारणमा औलो रोग पुष्टि भएको बताउनु भयो । उहाँले भन्नुभयो जनस्वास्थ्यको तथ्याङ्कलाई हेर्ने हो भने बाँकेमा विगत चार वर्षदेखि लगातार रुपमा औलो रोगका बिरामीहरू बढ्दै गएका छन् ।
भारत सँग सिमाना जोडिएको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा गत आवमा सबैभन्दा धेरै औलोका बिरामीहरू फेला परेका उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयो,नरैनापुरमा १३१ जना, राप्तीसोनारीमा नौ जना, डुडुवामा आठ जना, नेपालगञ्जमा सात जना, कोहलपुरमा तीन जना, बैजनाथ र खजुरामा दुई/दुई जनामा औलो रोग पुष्टि भएको थियो । त्यसैगरी जानकीमा भने शून्य थियो । त्यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा पनि नरैनापुरमा १०३ जना, नेपालगन्जमा १० जना, कोहलपुरमा चार जना, राप्तीसोनारी र खजुरामा दुई/दुई जना, जानकीमा एक जनामा औलो रोग पुष्टि भएको थियो ।
भेरी अस्पतालका डा. पाण्डेले भन्नुभयो,औलोका दुई परजीवीहरू प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्सबाट औलो सर्ने गर्दछ । भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ । समयमै उपचार नभए फाल्सिपारमबाट बिरामीको मृत्यु हुन सक्ने सम्भावना उच्च रहने गरेको जिकिर गर्नु भयो ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले भन्नुभयो,“खुला सीमा नाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमा नाकामै औलोका शङ्कास्पद बिरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाइनुपर्छ ।” तराई क्षेत्रमा औलो रोग देखिनु सामान्य भए पनि जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा पछिल्लो केही वर्ष पहाडदेखि उच्च हिमाली जिल्लामा पनि औलोका बिरामी फेला पर्न थालेका छन् ।
औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग भएको उल्लेख गर्दै संयोजक शाहले औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी पनि चुस्दछ र लामखुट्टे सङ्क्रमित हुने भएकाले त्यस्ता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने गरेको बताउनु भयो । उहाँका अनुसार औलो रोग निवारणका लागि कीटनाशक झूल वितरण, कीटनाशक विषादी छर्किने कार्यसँगै जनचेतना फैलाउने कार्य गर्न सके केही हद सम्म नियन्त्रण गर्न सकिन थियो ।
औलोबाट बच्न साँझ¬बिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झूलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिनु हुँदैन । औलो रोगबाट बच्ने उत्तम उपाय नै लामखुट्टेलाई टोक्न नदिनु नै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिइएको छ ।