Tuesday, September 17, 2024
घरसमाचारव्यक्ति जस्तो छ, शतप्रतिशत त्यस्तै भइदियो भने ऊ नायक हो : दीपकराज...

व्यक्ति जस्तो छ, शतप्रतिशत त्यस्तै भइदियो भने ऊ नायक हो : दीपकराज गिरी

काठमाडौं । ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’को ‘नायक र नायकत्व’ छलफल सत्रमा बोल्दै अभिनेता दीपकराज गिरीले आफूलाई नायक, महानायक, सम्राट, मेगास्टार, सुपरस्टारजस्ता विशेषणभन्दा कलाकार भन्न रुचाउने बताएका छन् ।

दयाहाङ राई र सुरक्षा पन्त समेत सहभागि सत्रमा दीपकले भने :

‘विशेषणको बजारजस्तो लाग्छ, हाम्रो चलचित्र क्षेत्र । दुइटा चलचित्र खेल्न पाएको छैन, विशेषण चाहिने । सायद विशेषणको भोक छ होला । नायक, महानायक कैयौंभन्दा कैयौं गुणा उच्च कलाकारभन्दा अरु विशेषण चाहिँदैन । अग्रज कलाकार, लामो समयसम्म काम गरेकालाई वरिष्ठ कलाकार भन्न सकिन्छ । कसलाई उत्कृष्ट मान्ने ? आउने पुस्तालाई अन्याय होला । यी प्रकारका विशेषणको काम छैन ।

शुद्ध कलाकार । कलाकार भन्दा कति मीठो सुनिन्छ । कसैले माया गरेर हास्यकलाकार भन्नुहुन्छ, त्यसमा खुसी नै हुन्छु । दीपकराज गिरी नायक होइन, उसले निभाएको राजा भन्ने पात्र नायक हो ।

नायक आफैं पात्र हो । भिन्न भिन्न पात्र, खलनायक पात्र, चरित्र अभिनेता, चरित्र अभिनेत्री यी थुप्रै पात्रबीच नायक पनि एक पात्र हो । समय अनुकुल परिभाषा पनि परिवर्तन हुँदै जान्छ । हरेक नायकत्व वा नायक कस्तो हुनुपर्छ भन्ने परिभाषा नै परिवर्तन भइरहेको छ । कुनै सामान्य पात्र पनि नायक हुन सक्छ । परम्परागत भाषामा जुन नायक भनिन्थ्यो, त्यो फरक हो । आजकल नायक भिन्न भिन्न फरकका छन् ।

प्रविधिको ढाडमा उभिएको नायकजस्तै, केजीएफ जस्तो । प्रविधिले उसको उपस्थितिलाई विशाल बनाएर आँखालाई लोभ्याउने पहिले नै स्थापित नायक, बिजिएमले बनाएको नायक ।

पात्रको उत्पत्तिले गर्ने नायक, हाम्रै माटोमा खेलेर हुर्केका, जिन्दगीको भोगाइबाट निस्केका पात्र नायक हुन् ।

यथार्थ आफ्नो ठाउँमा छ, आदर्श अर्को ठाउँमा छ । समाजले हरेक क्षेत्रका मानिसमा त्यो नायकत्वको भूमिका खोज्छ । एउटा बुवा नायक हुन सक्छ, एउटा छोरा नायक हुन सक्छ । जब म नायक भनेर कल्पना गर्छु, जो मानिस जे हो त्यो शतप्रतिशत भइदियो भने त्यो नायक हो, तर विडम्बना के छ भने, हाम्रो देशमा जो जे छ त्यो छैन्, जे छैन त्यो छ ।

एउटा कलाकारले राजनीतिमा बढी चाख राख्ला, एउटा शिक्षकले राजनीतिक गतिविधिमा । मेरो भूमिका भनेको चलचित्रमा भिन्न भिन्न पात्रको रुपमा अभिनय गर्ने व्यक्ति हो । जुन आदर्श नहुन पनि सक्छ, हुन पनि सक्छ । मेरो उद्देश्य भनेको दर्शकलाई समाज परिवर्तन भएको देखाउनु हो ।

पहिलेको तुलनामा अहिलेको समाज सामाजिक सञ्जालको कारण आन्दोलित वा आक्रोशित बनाइदिन सक्छन् । अपराध भनेको मान्छे नै मार्नु भन्ने छैन । सामजिक सञ्जालमा हिंसा भइरहेको छ । मनोवैज्ञानिक रुपमा हुन सक्छ । हामी कलाकारले खेल्ने भूमिका भनेको यहीँ हो । हामीले पोष्ट गरेको सम्प्रेषण गरेको कुराले समाज हिंसात्मक होइन अनुशासित बनोस् । सामाजिक सञ्जालको आगमन भएपछि हामी नायक बन्ने कि खलनायक बन्ने ?

अहिले व्यक्तिलाई बुझ्नका लागि उसलाई भेट्न पर्दैन । उसको ८/९ वटा स्टाटस हेरे पुग्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -