Monday, January 13, 2025
घरसमाचार‘सानालाई आदर, ठूलालाई माया’

‘सानालाई आदर, ठूलालाई माया’

कुशे औंसी, आदरणीय युवा साहित्यकार, अभियानकार मोतीराम भट्टको १५९औं जयन्ती हुनुका साथै मेरी हजुरआमाको पनि स्मृति दिवस, जसले मेरो बाल्यकाललाई सम्झनलायक बनाइदिनुभयो । जसले लोरी हालेर झोलुङ्गामा झुलाउँदै, कथा हालेर ओछ्यानमा फुल्याउँदै निदरी डाकिदिनुभयो ।

अहिले आएर बुझ्दैछु, उहाँको लोरी र कथा निदरी डाक्ने बहाना मात्र रहेनछ, असलमा त ती शब्द बुझ्दै, बोली सिक्दै, कल्पनामा दृश्यहरू भर्दै, जिज्ञासाहरूसँग बहेली खेल्दै जीवन र जगतलाई नियाल्न सिकाउने प्रारम्भिक पाठशाला रहेछ । तिनै पाठशाला असलमा त मलाई भाषा, साहित्य, कला-रङ्गमञ्चतिर डोहोर्‍याउने गोरेटो पो रहेछ । गोरेटो नहिंडी दोबाटो कसरी पुग्नु, दोबाटोबाट बाटो नपहिल्याई सडकसम्म कहाँ पुग्न सक्नु, सडकको रफ्तार नसमाती राजमार्गमा कसरी यात्रा गर्न सक्नु ! असलमा त मेरो हजुरआमाले मलाई यो राजमार्ग– राजमार्ग जस्तो घुर्मैलो देख्ने सडकको रफ्तारसम्म ल्याइपुर्‍याउनुभएको हो ।

‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला’ भनेर उहाँले नै अनेकौं कथा टुङ्ग्याउनुभएपछि मैले बुझेको हुँ, सुन र फूलको तात्पर्य, मैले बुझेको हुँ मालाको महत्व, मैले सँगालेको हुँ कृतज्ञताको संस्कृति । आज म आफैं सहृदयी बालबालिकाहरू माझ कथावाचक, कथाकथक भएर कथा सुनाइरहँदा उज्यालिने मेरा मुस्कानहरू तिनै संग्रहित फूलहरू हुन् ।

फूल आफंैमा सुन्दर त हो नै, तर फूलको सुगन्धको अर्थ, फूलको सौन्दर्यको दृष्टिकोणले मात्र निर्देशित सिर्जनाका अभ्यासगत फूलहरू वास्तविक सुन्दर हुन्छन् । मेरा बालसाहित्य र साहित्यका ‘बा’ बालसाहित्य रत्न शान्तदास मानन्धरको सामीप्यता, निगरानी, सिकाइबाट प्रेरित हुँदै फूलको सौन्दर्यको स्व–दृष्टिकोणहरू निर्माण भए । सिर्जना तथा सक्रियतामा आलोचना र कृतज्ञताको उहाँको ‘बालकोसेली’ स्कुल मेरा लागि बाल साहित्यमा लेखकीय र रंगमञ्चमा निर्देशकीय दृष्टिकोण फुलाउने बगैंचा हुन् । हजुरआमाको गोरेटो हिंडेर आएको मैले हिजोआज हजुरआमाको स्वरमा शान्तदास दाइको दृष्टि र लय मिसाएर आफ्नै मेसो बनाएको हुँ । उहाँको विश्वासलाई मैले पनि धेरथोर विश्वास गर्दा म विश्वस्त भएर भन्न सक्छु कि, “आज उहाँ हुनुभएको भए र युवा वर्ष मोती पुरस्कारको यो खबर सुन्नुभएको भए, सन्देह र स्नेह दुवैका मुस्कानहरू मैले उपहार पाउने थिएँ ।” उहाँले बारम्बार सोधिरहनुहुन्थ्यो, “तपाईं किन कथा लेख्नुहुन्छ, तपाईं किन थिएटर (रंगमञ्च) गर्नुहुन्छ ? आफूले गरिरहेको र गर्न चाहेको काम किन गरिरहनुभएको छ, कसरी गरिरहनुभएको छ ?” यी प्रश्नहरू वास्तवमा प्रश्नभन्दा पनि अर्को गोरेटो रहेछ । उहाँलाई यो मञ्चबाट पुनः नमन ।

साथै लाखे नाच्दै आफू रमाउँदै युवा पुस्तालाई नेपालदेखि भारतसम्म लाखे नाच कला सिकाउँदै अभ्यास गर्ने मेरा हजुरबा खासमा मोतीरामीय पथमा हुनुहुन्थ्यो । उहाँका लाखे नाच कला आज पनि काठमाडौं खाल्डो बाहिर मेरो गाउँमा कहिले यन्जात्रा भएर, कहिले गाईजात्रा भएर नाचिने गर्छ । बाको मुख हेर्ने दिनमा हजुरबाको मुहार पनि सपाट रूपमा सँगालेको छु ।

साहित्यमा नाटक विधा आफैंमा विशिष्ट भए पनि त्यही नाटक दृश्य भएर मञ्चमा आउँदा साहित्यलाई रंग भरिरहेको छ भनेर हामी किन अझै पनि मानौं कि नमानौंको अवस्थामा छौं

यसैबीच आज मोतीजयन्ती र बाको मुख हेर्ने दिनमा ‘तिम्रो छोराले कथा त लेख्छ, नाटक त गर्छ, काम चाहिं के गर्छ ?’ भन्ने हाम्रो हावापानीको बेछन्दका कठोर स्वरहरूलाई नसुने झैं गरी मलाई खप्ने र मेरा कार्यमा साथ दिने मेरा बा र आमाप्रति मलाई प्रदान गरिएको यो गरिमामय पुरस्कार अर्पण गर्दछु ।

यस वर्ष मलाई युवा वर्ष मोती पुरस्कार प्रदान गरिराख्दा बालसाहित्य र रङ्गमञ्च दुवै उल्लेख हुनु मेरा लागि खुशीको कुरा हो । मैले मन र मस्तिष्क दिइरहेको साहित्यकर्ममा बालसाहित्य र दृश्य–साहित्यमा रंगमञ्च दुवैका लागि यो उल्लेखनीय सन्दर्भ हुन् भन्ने महसुस गरेको छु । यो खुशी सम्पूर्ण नेपाली बालसाहित्य सर्जक, रंगकर्मी तथा कला–साहित्यप्रेमीहरू माझ साझा गर्दछु ।

विकास र समृद्धिको अनेकन् नाराहरू लागिराख्दा घरमा, समाजमा, देशमा सबैभन्दा पहिलो प्राथमिकतामा बालबालिकाहरू हुनुपर्ने हो । समृद्धिको फड्को लिएका मानव सभ्यता र समाजलाई हेर्दा बालबालिकाहरू उनीहरूको समाज र सभ्यताको मुटु हुन् । बालबालिका केन्द्रमा नभएको समाज विकसित त हुन सक्लान् तर समृद्ध पक्कै हुन सक्दैनन् । तथापि हाम्रोमा यावत् सन्दर्भहरूबाट हेपिइराखेका छन् बालबालिका र यिनै बालबालिकाको सम्मानमा लेखिने बालसाहित्य पनि । यो हेपाइमाझ धेरथोर मुस्कान छर्न पनि यो पुरस्कारको महत्व हुनेछ भन्ने लागेको छ ।

परम्परागत रूपमा हामी भनिरहेका छौं, ‘सानालाई माया, ठूलालाई आदर’ । बालबालिकाप्रति सद्भावपूर्ण हाम्रो हेराइ अहिलेसम्म पनि यही हो । तर हामीले हामीलाई कहिल्यै प्रश्न गरेनौं ‘के यो सद्भावरूपी वाक्य, सोचहरू सपाट र सार्थक छन् ?’ बालबालिकाहरू माझ खेलिराख्दा अहिले आएर लाग्छ, वास्तवमा हुनुपर्ने त त्योभन्दा उल्टो पो हो कि, ‘सानालाई आदर, ठूलालाई माया’ । आत्मसम्मानको सबैभन्दा बढी महसुस गर्ने बालबालिकालाई आदर गर्न हामी किन अहम् बोकिरहेका छौं, अनुभवले निखारिएका ठूलालाई प्रेमले सँगाल्न हामी किन हिच्किचाइरहेका छौं ? वास्तवमा सामाजिक मूल्य र मान्यता निर्माण गर्ने नवसंस्कृतिलाई हामी किन नजरअन्दाज गरिरहेका छौं ! एकपटक आफैं बालबालिका भएर, एकपटक आफैं अभिभावक भएर, एकपटक आफैं मानव भएर, एकपटक आफैं सभ्यता भएर सोचिहेरौं त ! न कतै तपाईंलाई पनि यस्तै लाग्न सक्छ कि ? अनि बालबालिका, अभिभावक, बालसाहित्य र देशको यात्रा समृद्धितिर पो गुड्छ कि !

यता रङ्गमञ्चतिर आउन चाहन्छु । यो अर्को कष्टले भरिएको उत्साहहरूको भँगालो हो । विश्व रङ्गमञ्चमा आधुनिक नेपाली रङ्गमञ्चको इतिहास लामो छैन भन्दाभन्दै पनि यहाँसम्म आइपुग्दा रङ्गमञ्चले विभिन्न कालसमय पार गरेको छ । इतिहासका पन्नाहरू थपेका छन् । साहित्यमा नाटक विधा आफैंमा विशिष्ट भए पनि त्यही नाटक दृश्य भएर मञ्चमा आउँदा साहित्यलाई रंग भरिरहेको छ भनेर हामी किन अझै पनि मानौं कि नमानौंको अवस्थामा छौं । रंगमञ्चलाई नाटकको मात्र नभई समग्र साहित्यमा दृश्य साहित्यको रूपमा किन हाम्रा मगजहरूमा स्थापित भएका छैनन् ! वर्षेनि सयौं साहित्य प्रकाशन भइराख्दा र देशमा आधा दर्जनभन्दा बढी व्यावसायिक नाटकघरहरूले नियमित नाटक मञ्चन गरिरहँदा यी दुईबीचको धागोमा कहाँ गाँठो परिरहेको छ ? साहित्यकर्मी र रंगकर्मीले यस विषयमा आफूलाई यसबारे प्रश्नहरूको क्षेप्यास्त्र प्रहार गर्न सकेको दिन सायद हाम्रो विश्वविद्यालयले नाटकलाई गरिखाने पाठ्यपुस्तकको सीमितताभन्दा फराकिलो सोच्छन् कि ?

अब पुरस्कारकै कुरा, पुरस्कारको वजन कति हुन्छ ? मैले पनि बारम्बार गरिरहेको प्रश्न हो । वचन आफैंमा विम्बात्मक छ, साथै विज्ञानमा वजनले उत्तोलकको पनि कार्य गर्दछ, वजनले तौल वा भारको रूपमा पनि कार्य गर्दछ । यस्तो विशिष्ट वजन बोकेका हुन्छन् पुरस्कारहरूले । यसले थिचेर थिचिराख्न पनि सक्छ, यसले उत्तोलक भएर उठाउन पनि सक्छ । म विश्वस्त छु, यस पुरस्कारले मलाई थिचिन दिने छैन, म आशावादी छु यस पुरस्कारले मलाई उठ्न सघाउनेछ । यसलाई हृदयमा सँगाल्नेछु ।

अन्त्यमा पुरस्कारकै सन्दर्भमा कवि नवीन प्राचीनको कविताका साथमा यो गरिमामय मञ्चबाट आफ्नो मन्तव्य सक्याउँछु । उनको कविता यस्तो छ–

एकदिन
कवि बेपत्ता भयो
गाउँ,
शहर, टोलबाट,
मान्छेका हृदयबाट
वर्षौंपछि उसको कङ्काल भेटियो
उसका प्रशंसकहरूका
हत्केला बिच
ऊ तालीमा च्यापिएर मरेको थियो ।

(यस वर्षको युवा वर्ष मोति पुरस्कार प्राप्त गरेका लेखक/रंगकर्मी श्रेष्ठले पुरस्कार ग्रहण समारोहमा दिएको मन्तव्यको सम्पादित अंश ।)

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -