वीरगंज/जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक बिटहहरुमा परिचालित ट्राफिक प्रहरीका विभिन्न दर्जाका प्रहरीले सडक व्यवस्थापनभन्दा अवैध असुली अभियानलाई तीव्रता दिएपछि ट्राफिक दूर्घटना बढ्दै गएको पाइएको छ ।
चालु अर्थिक वर्ष २०८१/०८२को पहिलो महिना अर्थात् साउन महिनामा मात्र पर्सामा जिल्लामा भएका ९५ वटा दुर्घटनाहरुबाट एक जना महिला, एक जना पुरुष र एकजना बालिका गरी तीन जनाले अकालमै ज्यान गुमाउनु परेको छ । ती दूर्घटनामा परि चार जना महिला र एक पुरुषसहित पाँच जना गम्भीर घाइते भएका छन् भने ९५ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयकै तथ्याङ्कले देखाउँछ । यता भदौ महिनामा भने पनि सोही संख्याभन्दा बढी रफ्तारमा दूर्घटना, मृत्यु र घाइतेको भएको देखिन्छ ।
ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडाको एक वर्षको कार्यकाल अवधिमा पर्सामा पछिल्लो वर्षको तुलनामा सडक दुर्घटना बढेको, मृत्यु र घाइतेको संख्या बढेको तथ्याँक छ भने राजस्व संकलन विगतका वर्षहरुभन्दा कम संकलन भएको पनि देखिन्छ ।
ट्राफिक प्रहरी पर्सामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउनुको सट्टा असुली अभियानमा केन्द्रित भएपछि सडक दुर्घटना र अकालमृत्यु बढ्नु स्वभाविक रहेको बुद्धिजीवीहरुको तर्क छ ।
दुई पाँग्रे/चारपाँग्रे सवारी साधनको अत्यधिक चाप रहने वीरगंज भन्सार तथा शंकराचार्य क्षेत्रमा रहेका ट्राफिक प्रहरी सहायक हवल्दार विजय चौधरीले नेपालबाट फर्किने भारतीय सवारी चालकहरु मापसे गरेको भेटिदा वैधानिक रुपमा मापसे अन्तर्गत कारवाही गर्नुको सट्टा नगदै लिएर लिएर छोड्ने गरेको तथा पैसा नदिने चालकहरुलाई चिट काट्ने तथा दूर्व्यवहार गर्ने गरेको भारतीय सवारी चालकहरु बताउँछन् ।
त्यस्तै पर्साको परवानीपुरमा रहेको ट्राफिक प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक दिनेश रामले बारा पर्सा औद्योगिक कोरिडोरकालागि निस्किने मालबाहक सवारीहरुले गरेको ओभरलोडबाट साप्ताहिक मोटो रकम असुली गर्ने गरेको ट्राफिक प्रहरी निकट स्रोतबाट जानकारी हुन आएको छ । त्यति मात्र नभई गण्डक, पावर हाउस, वीरगंज बसपार्क लगायतका क्षेत्रमा खटिएका ट्राफिक प्रहरी इन्चार्जले समेत सवारी चालक र सवारी धनी तथा उद्योगी व्यवसायीहरुसँग अनेक बहानामा अवैध रकम असुली गर्ने गरेको बताइन्छ ।
ड्राइपोर्टमा प्रहरी निरीक्षक भास्कर खतिवडाले आफ्ना विश्वासिला पात्र प्र.ब.ह. मनोज साहलाई परिचालन गरेका छन् भने ड्राइपोर्टमै राखेर परवानीपुर आइसीपी, पावरहाउस तथा गण्डक एरियाका सवारी साधनबाट अवैध रुपमा संकलन गर्न प्रनि खतिवडाले प्रज राजकुमार गोलेलाई परिचालन गरेका छन् । बप्रह मनोज साह मनवा बजार स्थित ट्राफिक प्रहरी पोष्टमा बस्दाखेरी सो क्षेत्रका सर्वसाधारण किसानहरु तथा गिट्टी बालुवा बोक्ने ट्रैक्टर तथा ट्रिपरचालकहरुमा आतंक नै मच्चाएको गुनासाहरु आएका थिए भने प्रज गोले पर्सामा आएको केही समयमै कमाउ अड्डा मानिने ड्राइपोर्ट हुँदै परवानीपुरसम्मको निगरानी र असुली गर्ने जिम्मा पाएका छन् ।
त्यस्तै ट्राफिक प्रहरी सहायक हवल्दार विनोद राम बहुअर्वा भाठाको जिम्मेवारी दिएर पठाएका छन् । प्रसह राम यस अघि भन्सार क्षेत्रमा कार्यरत रहँदा रक्सौलबाट नेपाल आउने भारतीय दुई/चार चक्के सवारी चालकहरुसँग अनेक बहानामा दैनिक मोटो रकम असुल्ने र हाकिमलाई खुशी पार्ने गरेका कारण उपहार स्वरुप दोस्रो पटक बहुअर्वाभाठाको जिम्मेवारी पाएका छन् । बहुअर्वा भाठामा रहेका प्रसह रामले सो क्षेत्रका सवारी चालक, ट्रैक्टर चालक किसानलगायतलाई अनेक बहानामा दुःख दिने, दूर्व्यवहार गर्ने र असुली गर्ने गरेका स्थानीयहरुले गुनासो गरेका छन् ।
त्यस्तै सबभन्दा बढी कमाइ हुने मूख्य स्थान यातायात व्यवस्था कार्यालय पर्सा वीरगंजको जिम्मा ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनीधि खकुरेलले जिम्मेवारी पाएका छन् ।
यातायात कार्यालय पर्सा वीरगंजबाट हुने ट्रायल सेन्टरमा अनैतिक तरीकाले कमाइ धन्दा चल्ने गरेका कारण प्रबनानि खकुरेलले त्यहाँको जिम्मा लिएका हुन्। ट्रायल सेन्टरबाट आउने रकम मध्ये जिल्ला ट्राफिक प्रहरी निरीक्षक र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रमुख पथलैयाका प्रहरी उपरीक्षकको नाममा समेत छुट्याउने गरेकाले पदीय दुरूपयोग बढेको बताईन्छ।
ट्राफिक प्रहरी उपरीक्षक र जिल्ला ट्राफिक प्रहरी प्रमुखको सेवा गर्ने र भागबन्डा मिलाउन सकिनेलाई नै ट्रायल सेन्टरको जिम्मा दिने गरिएको स्रोतले जनाएको छ।
सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा दक्ष चालकलाई अनेक बहानामा फेल गराउने तथा अदक्षहरू फेल हुँदा पनि सेटिंगमा पास गराउने गुनासाहरू सार्वजनिक भईरहंदा, जिल्ला ट्राफिक प्रहरी र मातहतका प्रहरीले पदीय दायित्व विपरितका कार्यहरु गरिरहेकाजस्ता गुनासाहरु बढ्दै गएका छन् ।
प्राप्त खबर अनुसार केहि समय अघिसम्म ड्राइपोर्ट र परवानीपुरबाट मासिक रुपमा, गण्डक, पावरहाउस, बसपार्क, रजतजयंन्ति/शंकराचार्यका स्थानबाट हप्तै पिच्छे रकम बुझाउनेलाई जिम्मेवारी दिइ पठाउने गरिएको भएपनि यतिबेला भने प्रहरी निरीक्षकहरुको सरुवा निस्किने समय नजिकिएसँगै दैनिक र साप्ताहिक बुझाउनु पर्ने शर्तसहित प्रनि भास्कर खतिवडाले परिचालन गरेका छन् ।