सोलुखुम्बु । खुम्बुपासाङल्हामु गाउँपालिका ५ थामेका बाढी पीडितहरूलाई सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले छिमेकी गाउँपालिका २१ लाख रुपैयाँ राहत रकम वितरण गरेको छ।
सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पा र प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले प्रभावित स्थानमा नै पुगेर बाढी पीडित ५७ घर परिवारलाई राहत रकम वितरण गर्नुभएको हो।
बाढीका कारण पूर्ण क्षति भएका परिवारलाई प्रति घर ५५ हजार रुपैयाँ, आंशिक क्षति भएका परिवारलाई प्रति घर ३५ हजार रुपियाँ र उच्च जोखिममा रहेका परिवारलाई प्रति घर १५ हजार रुपियाँका दरले नगद उपलब्ध गराइएको नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले बताउनुभयो। पूर्ण क्षति भएका २३ घर, आंशिक क्षति भएका १६ घर र उच्च जोखिममा रहेका १८ घरपरिवारलाई उल्लेखित रकम राहत प्रदान गरिएको हो।
थामे बाढी पीडितले अहिलेसम्म प्राप्त गरेको यो सबै भन्दा ठुलो राहत रहेको जनाएको छ। यसअघि खुम्बु पासाङल्हामु गाउँपालिकाले पूर्ण क्षति भएका १५ परिवारलाई प्रतिघर ५० हजार रुपियाँ र जिल्ला दैवी प्रकोप राहत समितिको तर्फबाट १५ हजार रुपियाँ नगद बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जानुभएका रक्षामन्त्री मानवीर राई मार्फत उपलब्ध गराइएको थियो।
तत्कालीन अवस्थामा पूर्ण क्षतिको राहत १५ परिवारलाई उपलब्ध गराइए पनि २३ वटा घर पूर्ण रूपमा क्षति ग्रस्त भएको पाइएको नगरप्रमुख शेर्पाले बताउनुभएको छ । नगरप्रमुख शेर्पाका अनुसार वडा नं २ को टोकटोक भन्ने ठाउँमा समेत चार परिवारलाई राहत उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ । त्यहाँ समेत राहतको व्यवस्था गर्ने उहाँको भनाइ छ ।
छिमेकी पालिकाको हैसियतले प्राकृतिक विपत्तिका कारण खण्डहर बनेको थामेको पुनर्निर्माण र थामेवासीहरुको पीडामा साथ दिनका लागि नगरपालिकाका तर्फबाट थोरै भएपनि राहत उपलब्ध गरिएको प्रमुख शेर्पाले बताउनुभयो।
राहत वितरणका लागि थामे पुग्नुभएको प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले प्राकृतिक विपत्तिले सुन्दर सानो उपत्यकामा विद्यालय, हस्पिटल (क्लिनिक), छात्रावास,करोडौँको लगानीमा बनेका होटल, घर तथा बस्ती क्षतविक्षत अवस्थामा देख्दा निकै नमिठो लागेको भन्दै यो पीडाको घडीमा नगरको तर्फबाट थोरै सहयोग गरिएको बताउनुभयो ।
गत साउन ३२ गते दिउँसो हिमताल फुटे थामे खोलामा आएको बाढी बस्तीमा पस्दा थामे गाउँ खण्डहर बनेको छ।