Wednesday, November 27, 2024
घरप्रदेश"ट्राफिक प्रहरीले घुस वापत म:म: मागे"

“ट्राफिक प्रहरीले घुस वापत म:म: मागे”

वीरगंज/सवारी साधनको अत्यधिक चाप रहने वीरगंजको मुख्य स्थान घण्टाघर चौकमा खटिने ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्नुको सट्टा सवारी चालकहरूसँग जबरजस्ती असुली गर्ने गरेको सवारीचालकहरूले गुनासा गर्न थालेका छन्।

घण्टाघर चोक र वरपरको क्षेत्रमा खटेका ट्राफिक प्रहरीले अटो रिक्सा चलाएर गुजारा गर्ने सामान्य रिक्सा चालकबाट आइतवार घुसवापत तीन प्लेट म:म: मागेको एक रिक्सा चालकले नाम नछाप्ने शर्तमा यस पत्रिकालाई बताए।

ती अटो रिक्सा चालकले बताए अनुसार आइतवार दिउँसो ३:३० आसपासको समयमा रेडक्रस बिल्डिङ छेउमा तीन जना बृद्ध यात्रुलाई झार्न लागेको समयमा ड्यूटीमा रहेका एकजना ट्राफिक प्रहरीले इ-रिक्साको सीट झिकेर कब्जामा लिएका थिए।

त्यसपछि ती चालकले रिक्सा पार्किंग गरि पैदल आएर सीट माग्दा ती ट्राफिक प्रहरीले सीट फिर्ता लिने भए आफूहरू तीन जना ट्राफिक प्रहरी ड्यूटीमा रहेको र खाजा खाने समय भएकोले तीनै जनाको लागि एक एक प्लेट म:म: को पैसा तिरिदिन भनेका थिए।

ती चालकले आफ्नो पहिलो सवारी भएको र हालसम्म ३० रुपैयाँ मात्र कमाएकोले तीन प्लेट म:म:को तीन सय रुपैयाँ तिर्न नसक्ने भनेपछि ट्राफिक प्रहरीले चालकलाई धक्का दिएर अलग भए तर सीट फिर्ता गरेनन्।

यी सबै दृश्य परबाट जिल्ला प्रहरी कार्यालयको मोबाइल गस्ती टोलीको गाडीबाट देखिरहेका प्रहरीले चालकलाई बोलाएर ती ट्राफिक प्रहरीले किन धक्का दिएको भनेर सोधेपछि रिक्सा चालकले सबै कुरा ती प्रहरीलाई भनेपछि सीट उठाएर लैजाउ, ट्राफिक प्रहरीले केहि भन्यो भने म कुरा गर्छु भनेपछि ती चालक खुशी हुँदै सीट लिएर फर्केका थिए।

राज्यको तलब भत्ता खाएर नागरिकको सहजता एवं ट्राफिक व्यवस्थापनकालागि खटीने ट्राफिक प्रहरीले सामान्य रिक्सा चालकसँग समेत घुस लिन छोड्दैनन् भने झन ट्राफिक नियम उल्लंघन गर्ने, ओभर लोड गर्ने, अन्य मालबाहक सवारीसाधनसँग कत्तिको असुली गर्दो होलान् सहजै अनुमान लगाउन सकिन्छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक भास्कर खतिवडा प्रमुख भएर आएदेखि ड्यूटी भन्दा मुद्रामोचनलाई प्राथमिकता दिने ट्राफिक प्रहरीहरूको मनोबल बढेको छ।

ट्राफिक नियम उल्लंघन गर्ने, ओभरलोड गर्नेलगायतका सवारी साधनहरूसँग बिचौलिया मार्फत् ठाउँ ठाउँमा असुली अभियान नै संचालन चलाएको गुनासाहरू बढ्दै गएको देखिन्छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -