भजनी (कैलाली)। भजनीका सूर्यप्रसाद चौधरीलाई अहिले आफ्नोभन्दा बढी चिन्ता पशुचौपायाको छ । एक हलगोरु, दुई वटा भैँसी पाल्नुभएका सूर्यप्रसादलाई बाढीमा आफ्नो ज्यान जेनतेन चलाउनसके पनि चौपायाको आहारा खोज्न र सुक्खा ठाउँमा राख्न निकै समस्या छ । “घरमा भएको पराल डुबानमा प¥यो । कतै ओभानो नभएपछि गोरु भैँसीलाई हुलाकी सडक छेउमा राखेका छौँ”, उहाँ भन्नुहुन्छ, “जताततै डुबान छ । चौपायालाई खुवाउनलाई घाँस छैन । चरनका लागि ओभानो ठाउँ छैन ।”
वर्षात्को समयमा भजनीका अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन् । यस वर्ष अहिलेको डुबान दोस्रोपटकको हो । यसअघि गत असार २० गते आएको एक पटक भजनी विस्थापित भइसकेको थियो । डुबानका कारण महिनौँसम्म त्यस क्षेत्रका नागरिक त्रासमा जनजीवन बिताउँदै आएका हुन्छन् । डुबान नहुने उच्च क्षेत्रको खोजीमा हुने बाढीपीडित पशुचौपाया र बालबालिकालाई सुरक्षामा बढी चिन्तित हुने गर्छन् ।
“कतिबेला डुबान हुन्छ पत्तै हुँदैन । यहाँ घाम लागेका बेला पनि बाढी आएको थुप्रै उदाहरण छन्”, स्थानीय जुगराम चौधरी भन्नुहुन्छ, “आफू त जसोतसो ज्यान जोगाउन विकल्प खोज्न सक्छौँ तर बालबालिका र चौपायालाई व्यवस्थापन गर्न निकै तनाव हुन्छ ।”
भजनीकै सागर चौधरीले यस वर्ष डुबानबाट समस्या नहुने गरी उच्च स्थानमा घर निर्माण गर्नुभयो । नगरपालिकाको आर्थिक सहयोगमा थप जनश्रमदान गरेर निर्माण भएको घर उच्च बन्यो तर जाने बाटो नहुँदा घर बनाएको कुनै अर्थ नभएको उहाँको भनाइ छ ।
“अहिलेसम्म बाढीले घर डुबानमा नपरे पनि घरसम्म जाने बाटो नहुँदा ट्युबको सहारामा घर जानुपर्ने बाध्यता बन्यो”, उहाँले भन्नुभयो, “घर वरिपरि डुबान हुँदा समस्या भएको छ ।”
सोही ठाउँका चुल्लुरामले चौधरीले एक दर्जन बाख्रा, भैँसी र एकहल गोरु पाल्नुभएको छ । उहाँलाई पनि बाढीमा पशुचौपाया जोगाउनकै चिन्ता छ । हुलाकी सडकमा आश्रय लिइरहनुभएका उहाँले चौपाया पनि हुलाकी सडकमा सार्नुभएको छ ।
“घरमा भएको चौपायाको आहारा सबै डुबानमा छ । कताबाट के ल्याएर चौपायाको पेट भर्ने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आफू चाउचाउ, चिउरा खाएर पनि दिन काट्न सकिने भए पनि चौपायालाई देखेर निकै पीडा हुन्छ ।” गोरु नभए खेती लगाउन र केही सामानको ढुवानी गर्न समस्या हुने गरेको बताउने चुल्लुराम बर्सेनिको पीडाले आजित बनाएको बताउनुहुन्छ ।
पशुचौपाया अनि बालबालिकासँगै त्यस क्षेत्रको अर्को महत्वपूर्ण समस्या पिउने पानीको पनि छ । बाढी र डुबानले जमिन सतह जलमग्न हुँदा पिउने पानीको व्यवस्थापन गर्न समस्या हुने गरेको स्थानीय पर्देशु चौधरी बताउनुहुन्छ । प्यास मेटाउन फोहर पानी पिउनुपर्ने बाध्यतामा बाढीपीडित रहेको उहाँको भनाइ छ ।
“पानीका स्रोत डुबानमा पर्दा पिउने पानी नपाउँदा समस्या हुने गरेको छ । बोतल पानी किनेर खानसक्ने सबैसँग क्षमता पनि छैन”, उहाँ भन्नुहुन्छ, “राज्यले खानेपानीको व्यवस्थापन गर्न सकेको भए पनि बाढी प्रभावितलाई दूषित पानी पिउनुपर्ने बाध्यता हुने थिएन ।”
भजनी नगरपालिकामा हालसम्म पाँच वटा खानेपानी आयोजना रहेको भए पनि एउटा खानेपानी आयोजनामात्रै सञ्चालनमा छ । सो आयोजनाले बजार क्षेत्र अर्थात् बाढीको जोखिम कम भएको क्षेत्रका उपभोक्तालाई सेवा प्रदान गरेको छ ।
“समस्या कति छ भनेर साध्य छैन । वर्षात्ले भजनीमा दुःख ल्याएर आउने गरेको छ”, भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी भन्नुहुन्छ, “स्थानीय तहले चाहेर भजनीको समस्या समाधान हुँदैन । सङ्घ सरकारले हाम्रो व्यथालाई बुझ्न सकेको छैन ।”