रुकुम पश्चिम । रुकुम पश्चिमको पितिवाङखोलामा पुल नबन्दा आवतजावत गर्नेहरूले बर्सेनि सास्ती भोग्दै आएका छन् । यस पटकको बर्सातको समयमा पनि ठुलो पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा आएको बाढीको कारण राप्ती राजमार्ग पछिल्लो दुई महिनादेखि प्रभावित छ ।
वर्षाले पितिवाङ खोलाको बहाव बढेपछि राप्ती राजमार्ग अवरुद्ध हुने गरेको स्थानीय प्रेम ओलीले बताउनुभयो । उहाँका अनुसार खोलामा रहेको कल्भर्ट क्रस गरेर खोला बढेको छ ।
अहिले यस सडकबाट रुकुम पूर्व, रुकुम पश्चिम हुँदै सल्यान, दाङ, नेपालगञ्ज र काठमाडौँ जाने र बाहिरबाट आउने दर्जनौँ सवारी साधनहरू आउने गरेका छन् । खोला छेउमा सवारीसाधन लाइन लागेर पर्खिने र खोलामा पानीको सतह घट्ने बित्तिकै राजमार्ग सुचारु हुने गरेको छ ।
यो खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा रहेको छ । पुल नहुँदा बर्सेनि वर्षायाममा यसैगरी अवरुद्ध हुने गरेको छ । ठेकेदारको लापरबाहीको कारण यस स्थानमा सयौँ सर्वसाधारण तथा यात्रुहरूले सास्ती पाउने गरेका छन् ।