Saturday, November 30, 2024
घरसमाचारवान हन्ड्रेड इयर्स अफ सोलिट्यूड : सिनेमा विरुद्ध लेखिएको कृति सिरिज बन्दै

वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड : सिनेमा विरुद्ध लेखिएको कृति सिरिज बन्दै

‘गाबो’ नामले परिचित ‘ग्रयाबिएल गार्सिया मार्खेज’को उमेर विस्तारै उकालो चढ्दै थियो, चालीसतिर। उनका चारवटा पुस्तक प्रकाशित भइसकेका थिए। तर, उनको मास्टरपिस कृति, ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ भने प्रकाशित हुन अझै केही वर्ष टाढै थियो। उक्त उपन्यासको परिकल्पनाले उनीभित्र लामो समयदेखि जरा गाडेर बसेको थियो। उनी आफ्नो त्यो नजन्मिएको उपन्यासप्रति यति धेरै उत्साही तथा आत्मविश्वासी थिए कि उनले आफ्नो कान्छो भाइ ‘गुस्ताभो’लाई एकदिन म ‘डन कोहइटी’ भन्दा पनि बढी पढिने पुस्तक लेख्नेछु भनेर बताएका थिए। उनले आफ्नी पत्नी मार्सिडिजलाई पनि चालीस वर्षको उमेरमा सम्पूर्ण विश्वले नै चिन्ने उपन्यास प्रकाशित गर्ने भनेर भनेका थिए।

उनले जे बोलेका थिए, गरेर देखाए पनि। साहित्याकाशमा ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ एउटा नक्षत्र भएर चम्किरहेको छ। भनिन्छ, ल्याटिन अमेरिकामा ‘बाइबल’पछि सबैभन्दा धेरै बिक्री हुने किताब हो, ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’। आफ्ना आमाबाबुको सपना र अपेक्षाहरू विरुद्ध विद्रोह गर्दै लेखनमा आफ्नो जीवन समर्पित गर्ने निर्णय लिएर हिंडेका ‘गाबो’ले सन् १९५० को सुरुवातबाटै उक्त उपन्यासको नक्सा कोर्न थालेका थिए। उनी त्यो समय एक संघर्षरत पत्रकार थिए, जो आफूले काम गर्ने ठाउँबाट पत्रिकाको लागि ल्याइएका कागजका रोलहरू घर ल्याउँथे र त्यसमा लेख्ने गर्थे। भाडा कम तिर्नुपर्छ भनेर उनी वेश्याहरूसँग रात बिताउँथे। उनीहरूका सामानहरू प्रयोग गर्थे।

‘गाबो’को कहानी थाहा नहुने सायदै होलान्। पन्ध्र वर्षसम्म उनी आफ्नो सपनालाई आकार दिन निरन्तर संघर्ष गरिरहे। सन् १९६५ को एक बिहान मार्खेज आफ्नो परिवारसँग छुट्टी मनाउन ‘अकापुल्को’ जाँदै थिए। त्यहीबखत अचानक उनको हृदय हुँदै मस्तिष्कमा किताबको पहिलो पङ्क्ति छापियो। उनले आफ्नी पत्नीलाई अब केही महिना परिवारको आर्थिक व्यवस्थापन गर्नू भनेर गाडी फर्काए र जागिर छाडेर लेख्न बसे। अठार महिनाको अनवरत तपस्यापछि उनले किताब लेखेर सिध्याए। त्यो अवधिमा आफूले तीस हजारभन्दा बढी खिल्ली चुरोट पिएको उनले बताएका थिए। सन् १९६७ को जून महिनामा उनको सपना प्रकाशित भयो। प्रकाशनको तीन हप्तामै उपन्यास दश हजारभन्दा बढी प्रति बिक्री हुन गयो। तीन वर्षपछि जब उक्त किताब अमेरिकामा प्रकाशित भयो ‘द न्यू योर्क टाइम्स’ले त्यसलाई ‘अद्भुत रचना’को संज्ञा दिएको थियो। गाबोले सन् १९८२ मा साहित्यमा नोबेल पुरस्कार जिते। त्यो समयबाट ल्याटिन अमेरिकामा उनले ‘देवतूल्य’ स्थान र सम्मान पाएका छन्।

मार्खेजका एक भतिज छन्, जसले ‘गाबो गाबो’ उपनाम पाएका छन्, उनै मार्खेजबाट। अहिले कसैलाई परिवारको तथा मार्खेजको बारेमा बताउनुपर्‍यो भने उनी अघि सर्छन्। मार्खेजका भाइ ‘जाइमे’ पनि डिमेन्सियाबाट ग्रस्त भएपछि त्यो जिम्मेवारी आफूले उठाएको बताउँछन्, ‘गाबो गाबो’। उनी भन्छन्, ‘हाम्रो परिवारभित्र कथावाचनको कौशल लामो समयदेखि चल्दै आएको परम्परा जस्तै भएको छ। हाम्रो नसामा रगतसँगै कथावाचनको क्षमता पनि घुलेको छ। तर, त्योसँगै हामी स्मृतिहरू विस्तारै विस्मृत हुँदै जाने श्रापमा पनि बाँचिरहेका छौं। मेरो काकाले (मार्खेज) किताबमा (वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड) बिर्सने महामारीको बारेमा लेख्नुभएको थियो। र, अहिले त्यसको पचास वर्षपछि पनि हामी त्यही रोगसँग जुधिरहेका छौं। सायद उहाँले हाम्रो भविष्य लेख्नुभएको हो। मेरी आमा पनि डिमेन्सियाबाट पीडित हुनुहुन्छ। कहिलेकाहीं उहाँले मलाई नै चिन्नुहुन्न। हामीले आशीर्वादसँगै अभिशाप पनि पाएका छौं।’

मार्खेजले कतै आफ्ना कुण्ठा पोखेका थिए-‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’मा भएका अधिकांश उपकथाहरू कुनै न कुनै बेला थुप्रै फिल्म निर्माताहरूको डेस्कमा पुगेका थिए। उनीहरूले ती कथाहरूलाई विश्वसनीय नभएको र अति नै अवास्तविक भएको भनी अस्वीकृत गरेका थिए

सबैलाई थाहै छ, मार्खेजले आफ्ना कथा तथा पात्रहरू वास्तविक जीवनका घटना र व्यक्तिहरूबाट लिने गर्थे। ‘गाबो गाबो’ खुलाउँछन्, ‘मेरी बहिनी ‘मार्गोट’ पनि ‘रेबेका’ जस्तै (वान हन्ड्रेड इयर्स अफ सोलिट्यूडको एक पात्र) माटो खाने गर्थी। घरको नोकर्नीबाट प्रेरित छ, अर्की पात्र, ‘क्यान्डिडा एरेन्डिरा’, जसलाई कथामा उनकै हजुरआमाले वेश्यावृत्तिमा लगाउँछिन्। मैले ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ पढिरहँदा त्यहाँ भएका थुप्रै पात्रहरूलाई चिन्न सक्थें, किनभने ती सबै मेरा काकाकाकी, आफन्त तथा छिमेकीहरू नै थिए। हजुरबुबाको मृत्यु भर्‍याङबाट लडेर भएको थियो, सुगालाई समात्न जाँदा। त्यही घटनालाई काकाले लेख्नुभयो, ‘लभ इन द टाइम अफ कोलेरा’मा, जहाँ ‘डाक्टर उर्बिनो’ (उपन्यासको पात्र) त्यसरी नै मर्छन्। काका भन्ने गर्नुहुन्थ्यो, ‘यस्ता किस्साहरू कहिल्यै कसैलाई सित्तैंमा नबताउनू। पैसा लिने गर्नू।’

आफ्ना परिवारका सदस्यहरूलाई त्यसरी कथामा प्रयोग गरेको ‘मार्खेज’की आमालाई भने फिटिक्कै मन पर्दैनथ्यो। त्यसैले उनी छोराभन्दा बढी छोरीलाई माया गर्थिन्।

कुनै समय ‘मार्खेज’ले भनेका थिए- ‘मलाई उपन्यासभन्दा सिनेमामा धेरै रूचि छ। मलाई लाग्छ, सिनेमा अभिव्यक्तिको यस्तो माध्यम हो, जसले साहित्यभन्दा धेरै टाढा जाने हैसियत राख्दछ।’ उनले आफ्नो पत्रकारिताबाट फिल्ममा प्लट, अभिनय र संवादबारे मात्रै नभएर कथालाई क्यामराको माध्यमबाट कसरी प्रस्तुत गर्ने भन्ने चेतनाको विकास गरिसकेका थिए। विवाह भएको तीन वर्षपछि, ३४ वर्षीय मार्खेज, पत्नी मार्सिडिज र दुई वर्षीय छोरा रोड्रिगोसँग मेक्सिको सिटीमा सरे, स्क्रिनराइटर बन्ने एक मात्र लक्ष्य लिएर।

सन् १९६५ सम्म ‘गाबो’ गरिब लेखक थिए, यद्यपि उनी ल्याटिन अमेरिकी साहित्यिक हृदयहरूमा भने बस्न सफल भइसकेका थिए। उनको ओठमा मुस्कानभन्दा ज्यादा चुरोट टाँसिन्थ्यो। उनी चेन-स्मोकर थिए। त्यो समय उनी एक विज्ञापन एजेन्सीका लागि विज्ञापन लेखेर जीविकोपार्जन गर्थे, जुन कामलाई उनी एकदमै घृणा गर्थे। कहिलेकाहीं फिल्मका लागि स्क्रिप्ट लेख्ने काम पनि गर्थे, जसलाई भने उनी औधी रुचाउँथे।

उनले पछि कतै आफ्ना कुण्ठा पोखेका थिए-‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’मा भएका अधिकांश उपकथाहरू कुनै न कुनै बेला थुप्रै फिल्म निर्माताहरूको डेस्कमा पुगेका थिए। उनीहरूले ती कथाहरूलाई विश्वसनीय नभएको र अति नै अवास्तविक भएको भनी अस्वीकृत गरेका थिए। त्यो समय म अत्यन्तै निराश भएको थिएँ। मैले आफूलाई फिल्म दुनियाँमा त्यति धेरै असुरक्षित र असहज कहिल्यै महसुस गरेको थिइनँ। त्यही तोड, ऊर्जा, उत्साह र उत्तेजनाले मैले ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ लेख्न थालें, जसलाई म सिनेमा विरूद्ध लेखिएको साहित्य मान्दछु। म देखाउन चाहन्थें, सिनेमाभन्दा साहित्यसँग मानिसहरूसम्म पुग्ने ठूलो तागत र सम्भावना हुन्छ भनेर।’ तर पनि, गाबोले सिनेमालाई कहिल्यै पूर्ण रूपमा त्याग्न सकेनन्।

‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ प्रकाशनको ५७ वर्षपछि, नेटफ्लिक्सले यस वर्षको अन्त्यतिर सोही उपन्यासमा आधारित मिनी सिरिज लिएर आउँदैछ, सोह्रवटा शृङ्खलासहित (दुईभागमा विभाजित भएर)।

‘गाबो’को बाल्यकाल उत्तरी कोलम्बियाको क्यारिबियन क्षेत्रको अराकाटाकामा उनका हजुरबुबा र हजुरआमासँग बितेको थियो। उनका आमाबुबा भने कतै टाढा बस्थे, अरू सन्तानहरूसँग। ‘गाबो’ फिल्महरू हेर्न खुब रुचाउँथे। उनीभित्र फिल्मप्रतिको अनुराग उनका हजुरबुबा कर्नल ‘निकोलस मर्खेज’ले रोपिदिएका थिए। ‘गाबो’लाई उनी शहरका गल्ली-गल्ली घुमाउँथे। अक्सर उनलाई फिल्म देखाउन फिल्म थिएटरमा पनि लिएर जाने गर्थे। कर्नल आफूले हेरेका फिल्मका कहानीहरू र भोगेका अनुभवहरू बेग्लै अन्दाजमा नातिलाई सुनाउँथे। हजुरआमाले भने उनलाई आफ्ना सपना, लोककथा तथा दन्त्यकथाहरू मीठो शैलीमा सुनाउने गर्थिन्। भन्न सकिन्छ, त्यो समय ‘गाबो’ कथाभित्र बाँचिरहेका थिए। ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ जन्मिनुको मुख्य प्रेरणाका स्रोत उनी हजुरबुबा र हजुरआमाका मुखबाट सुनेका तिनै जादुमयी कथा-कहानीहरूलाई मान्थे।

गाबो आफैं पनि आफ्ना सन्तानहरूलाई फिल्म हेराउन हलमा लिएर जाने गर्थे। अकिरा कुरोसावाको ‘रेड बियर्ड’, त्रुफोको ‘जुल्स एण्ड जिम’ र एलैन रेस्नाइसको ‘प्रोभिडेन्स’, भिटोरिया डे सिकाको ‘बाइसाइकल थिफ्स्’ र ‘मिरेकल इन मिलान’ उनलाई मन पर्ने फिल्महरूमा पर्थे। उनलाई अमेरिकन निर्देशक सैम पेकिन्पाहका फिल्महरू तथा इटालियन फिल्महरू पनि खुब मनपर्थ्यो। उनका जेठा छोरा रोड्रिगो गार्सिया बार्चा आफैंमा एक फिल्म लेखक तथा निर्देशक हुन्।

जब नेटफ्लिक्स गाबोको परिवारकहाँ गएका थिए- ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’को अधिकार किन्न, मार्खेजकी पत्नी मार्सिडिजले केही शर्त राखेकी थिइन्। उनका शर्तहरू थिए: कथाको मागअनुसार सिरिज लामो हुनुपर्ने, स्पेनिश भाषामा हुनुपर्ने र कोलम्बियामै छायांकन गरिनुपर्ने

सत्तरीको दशकमा आइसक्दा ‘गाबो’ आर्थिक हिसाबले एकदमै सम्पन्न भइसकेका थिए। त्यो बेला उनी आफ्नो धेरैजसो समय र अर्थ फिल्मतिर खर्च गर्न लागे। उनी कोलम्बियाका केही टिभी प्रोडक्सन कम्पनीहरूसँग आबद्ध भएका थिए। त्यहाँ जोडिएर थुप्रै स्क्रिप्टमा काम गरे। उनले क्युवामा एक फिल्म स्कुल स्थापना गर्न मद्दत पनि गरे, जहाँ उनले स्क्रिप्ट लेखनका केही कार्यशालाहरू दिएका थिए। पहिले उनले केही समय फिल्म समालोचकका रूपमा काम गरेका थिए। त्यसपछि पटकथाकार हुँदै फिल्म स्कुलको निर्देशकका रूपमा समेत आफूलाई चिनाए। उनका कथा, उपन्यासिका तथा अन्य उपन्यासहरूमा आधार रहेर अहिलेसम्म थुप्रै फिल्महरू निर्माण भइसकेका छन्। केहीमा त उनले अभिनय पनि गरेका छन्, अतिथि कलाकारको रूपमा।

‘गाबो’का कोलम्बियाली प्रोडक्सन कम्पनीका एक पार्टनरका अनुसार उनी एक फिल्म प्रोडक्सन कम्पनी निर्माण गर्ने सोचमा थिए, जसको नाम ‘सोलिट्यूड एण्ड कम्पनी’ राख्न चाहन्थे। पछि उक्त नाम लेखक तथा पत्रकार ‘सिल्भाना पाटर्नोस्त्रो’ले उधारो लिएर किताब प्रकाशित गरिन्, उनै मार्खेजको जीवनीलाई समेटेर। ‘सोलिट्यूड एण्ड कम्पनी’मा गाबोलाई केही नजिकबाट पढ्न र नियाल्न पाइन्छ, उनका मित्र, दुश्मन, परिवारका सदस्य, प्रशंसक तथा विरोधीहरूका आँखाहरूबाट।

उनका दुई प्रिय कृतिहरू, ‘क्रोनिकल अफ ए डेथ फोरटोल्ड’ र ‘लभ इन द टाइम अफ कोलेरा’ फिल्ममा परिणत भइसकेका छन्, तर पर्दामा देखिएका दृश्यहरूले किताबका अक्षरहरूलाई न्याय दिन सकेनन्। धेरैले माने, उपन्यासलाई टिभी सिरिजको रूपमा देखाइनुपर्थ्यो। जटिल-कठिन तथा परिस्कृत विषयवस्तुलाई फिल्ममा नभएर टिभी सिरिजको रूपमा बनाउँदा उपयुक्त हुने उनीहरूका तर्क थिए। मार्खेजलाई पनि यही लाग्थ्यो, किताबभित्र रहेको कथानकको लम्बाइ फिल्ममा अट्न गाह्रो हुन्छ। सायद आज ‘मार्खेज’ जीवित भएको भए, आफ्नो कृति सिरिजमा रूपान्तरित भइरहेको देखेर खुसी हुन्थे कि ?

उनको थुप्रै हलिउड हस्तीहरूसँग (रोबर्ट रेडफोर्डदेखि फ्रान्सिस फोर्ड कोपोलासम्म) राम्रो सम्बन्ध रहेको थियो। ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’लाई पर्दामा ल्याउने चाहना, अमेरिकन फिल्ममेकर विलियम फ्रिडकिन, जर्मन फिल्ममेकर वर्नर हर्जोग, इटालियन फिल्ममेकर डिनो डे लरेन्टिस लगायत अन्य थुप्रै प्रसिद्ध निर्देशकहरूको थियो। तर, गाबोले कसैलाई पनि आफ्नो मास्टरवर्कको अधिकार बेच्न चाहेनन्। त्यसको बाबजुद पनि सन् १९८९ मा जापानमा उनको कृतिमा आधारित रहेर नाटक मञ्चन भएको थियो।

‘गाबो’ चाहन्थे, किताब पढेर उनका पाठकहरू आ-आफ्नै कल्पनिक दुनियाँको निर्माण गरून्। परिवारले पनि उनको उक्त निर्यणलाई सम्मान र साथ दिएका थिए। वास्तवमा ‘गाबो’ आफूलाई विरोधाभाष तरिकाले व्यक्त गरिरहन्थे। त्यसैले उनका छोराहरूलाई भने बुबाको चाहना भिन्न रूपमा सम्झना छ। कान्छा छोरा ‘गार्सिया बार्चा’ भन्छन्, ‘बुबाले थुप्रैपटक प्रस्तावलाई अस्वीकार गर्नु भए पनि, उहाँलाई सधैं किताबहरूलाई फिल्म बनाउने लोभ थियो।’ सन् २०२० मा मार्खेजकी पत्नी ‘मार्सिडिज’को निधनपछि उनका सम्पूर्ण निर्णय, अधिकार तथा सम्पत्तिहरू स्वत: छोराहरू, ‘गार्सिया बार्चा’ र उनका भाइ, ‘गोंजालो’का नाममा भयो। ‘म मरेपछि तिमीहरू जे चाहन्छौ, त्यही गर्नू’ भनेर बुबाले भन्नुभएको बताउँछन्, गार्सिया बार्चा। मार्खेजले कतै लेखेका पनि थिए, ‘निर्णय सधैं बाँचेकाहरूले लिनुपर्छ।’

सन् २०१९ मार्च ६ मा समाचार आयो, ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’लाई नेटफ्लिक्सले मिनी सिरिजको रूपमा रूपान्तरित गर्दैछ भनेर। उक्त खबरलाई सुनेर-पढेर विश्वभर छरिएर रहेका गाबोका पाठक-प्रशंसकहरू निराश भए। उनीहरूले आफ्नो मस्तिष्कमा बनाएका कल्पना र हृदयमा राखेका विश्वास क्रमश: भत्किंदै गइरहेको देखे। नेटफ्लिक्सलाई कृतिको अनुमति र अधिकार दिएको कारण गाबोका छोराहरूले चौतर्फी रूपमा आलोचना खेप्नुपर्‍यो। नेटफ्लिक्सले सन् २०२२ अक्टोबर २१ (मार्खेजले नोबेल पुरस्कार पाएको चालीसौं वार्षिकोत्सवको अवसर पारेर) मा मिनी सिरिजको टिजर रिलिज गरेको छ।

अधिकांशले चिन्ता देखाए, ‘के नेटफ्लिक्सले उपन्यासलाई न्याय दिन सक्ला ?’ त्योसँगै ‘नष्ट गर्नू’ भनेर भनिएको ‘मार्खेज’को अधुरो उपन्यास ‘अन्टिल अगस्ट’लाई प्रकाशित गरेपछि उनीहरू झनै आलोचित हुनुपर्‍यो। ‘अन्टिल अगस्ट’ यही वर्ष ‘मार्खेज’को जन्मको ९७औं वार्षिकोत्सवको अवसर पारेर छापिएको थियो। उनी ‘अन्टिल अगस्ट’ लेखिरहँदा डिमेन्सियाबाट ग्रसित थिए। उनी चाहन्थे, उनको त्यो अधुरो उपन्यास कहिल्यै नछापियोस्। त्यसलाई नष्ट गरियोस्। किताबले भने जस्तो राम्रो प्रतिक्रिया पनि पाएन।

‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’भन्दा पहिले ‘जादुयी यथार्थवाद’ भन्ने शब्द धेरैले कम सुनेका थिए। तर, अहिले पूरै महादेशमा यस विधालाई प्रयोग गरिन्छ, साहित्यलाई व्यक्त गर्न। ‘गाबो’ले उक्त शैलीलाई पकाउन करिब १७ वर्ष लगाएका थिए, जसमा काफ्काको ‘द मेटामोरफोसिस’, भर्जिनिया वुल्फको ‘मिसेस ड्यालोवे’ तथा फक्नर र हेमिङ्गवेका स्वाद भेटिन्छन्। त्यस समयबाट अन्य ल्याटिन अमेरिकन लेखकहरू ‘मार्खेज’ र ‘जादुयी यथार्थवाद’को छायाँमा परिरहेका छन्। इसाबेल अलेंदेदेखि लौरा एस्कुइवेल जस्ता प्रसिद्ध लेखकहरू उनीबाट धेरै प्रभावित भएका छन्।

कोलम्बियाको एउटा दुर्गम ठाउँमा जन्मिएर संसारभर सबैभन्दा धेरै पढिने स्पानिश भाषाका लेखक बन्नु आफैंमा एउटा तिलस्मी कथाभन्दा फरक छैन। उनी आफ्नो लेखन र क्षमतामा जहिल्यै विश्वस्त थिए। उनी भन्ने गर्थे, ‘म मेक्सिकन फिल्मको मामिलामा केही भन्न सकिनँ। तर, ल्याटिन अमेरिकी साहित्यलाई भने विश्वभर पुर्‍याउन सक्छु।’

नेटफ्लिक्स ‘गाबो’को जादुयी माकन्डोभित्र बाँचिरहेको बुएन्डिया परिवारका सात पुस्ताको गाथालाई नयाँ दर्शकहरूसम्म पुर्‍याउन एकदमै उत्साहित तथा लालायित देखिन्छ, जुन एकदमै जोखिमपूर्ण निर्णय तथा प्रयास हो। तर, नेटफ्लिक्सका ल्याटिन अमेरिकी उपाध्यक्ष फ्रान्सिस्को रामोस ढुक्क देखिन्छन्, ‘विश्वास गर्नुस्, ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ परिवारकेन्द्रित अन्य सिरिजहरू, ‘गेम अफ थ्रोन्स’ र ‘द क्राउन’भन्दा निकै मजेदार र रमाइलो हुनेछ।’ सन् २०१८ मा नेटफ्लिक्सको उक्त पदमा आसीन रामोस ल्याटिन अमेरिकी कथालाई अर्को चरणमा लैजान गम्भीर देखिन्छन्। अहिलेसम्म नेटफ्लिक्सले लिएर आएका स्थानीय स्वादहरूलाई विश्वभरका दर्शकहरूले मन पराइरहेका छन्। जस्तै: ‘द क्राउन’ (ब्रिटिश), ‘स्क्विड गेम’ (दक्षिण कोरियाली), ‘मनी हाइस्ट’ (स्पेनिश), ‘द हाउस अफ फ्लावर्स’ (मेक्सिकन), ‘डार्क’ (जर्मनी)। त्यही उद्देश्य बोकेर नेटफ्लिक्सले यो सूत्र ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’मा लगाइरहेको छ, जुन कत्तिको फलदायी हुन्छ, समयले बताउनेछ।

नेटफ्लिक्सले केही महिनाअघि मात्रै ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’को टिजर सार्वजनिक गरेका थिए। टिजर हेरेर म जस्तै अरू धेरै मनहरू उत्साहित देखिन्छन्। गाबोका प्रशंसकहरूले पहिले उपन्यास पढ्न सुझाउँछन्, नयाँ दर्शकहरूलाई।

जब नेटफ्लिक्स गाबोको परिवारकहाँ गएका थिए, ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’को अधिकार किन्न, मार्खेजकी पत्नी मार्सिडिजले केही शर्त राखेकी थिइन्। उनका शर्तहरू: कथाको मागअनुसार सिरिज लामो हुनुपर्ने, स्पेनिश भाषामा हुनुपर्ने र कोलम्बियामै छायांकन गरिनुपर्ने थिए। नेटफ्लिक्स र परिवारबीच सम्झौता भइसकेपछि उक्त प्रोजेक्टमा गाबोका छोराहरू पनि कार्यकारी निर्माताका रूपमा जोडिए।

‘माकन्डो’को सेट ‘इबागुए’नजिक क्यारेबियनबाट टाढा ‘एन्डिज’को एक शहरमा निर्माण गरिएको छ, जहाँको भूगोल र वायुमण्डल केही हदसम्म अराकाटाकासँग मिल्दोजुल्दो रहेको छ। सेटको डिजाइन प्रसिद्ध सेट डिजाइनरहरू, यूजेनियो काबालेरो र बार्बारा एन्रिक्वेजले गरेका हुन्, जसले क्रमश: ‘प्यानस् लिबरिन्थ’ र ‘रोमा’ जस्ता ओस्कार विजेता फिल्महरूमा काम गरिसकेका छन्। सेटमा उपन्यासमा जस्तै माकन्डोमा रहेका बीस परिवारका झुपडीहरूको बस्तीबाट शहरमा परिणत भएको देख्न सकिन्छ। नेटफ्लिक्सका अनुसार उनीहरूले उपन्यासमा रहेको दुनियाँलाई पर्दामा ल्याउन कुनै कसर छाडेका छैनन्।

कोलम्बियाली लेखक गुस्ताभो अरांगो भन्छन्, ‘म सधैं कल्पना गर्थें, ‘कर्नेल औरेलियानो बुएन्डिया’ ठ्याक्कै मेरो हजुरबुबा जस्तै देखिन्छन्। यद्यपि म नेटफ्लिक्सले देखाउन खोजेको उनको रूप हेर्न आतुर छु, जसलाई मैले विगत ६ दशकदेखि आफ्नो कल्पनामा बचाइराखेको थिएँ।’ केही समयअघि उनलाई नेटफ्लिक्सले सिरिजका केही फुटेजहरू देखाएका थिए। त्यसपछि उनले भावुक हुँदै भनेका थिए, ‘कल्पनामा रहेका अनुहारहरूलाई देख्न पाउँदा म अत्यन्तै खुसी छु। मैले ‘मेलकियाजिज’लाई तुरुन्तै चिनिहालें, एक जिप्सी, जो आफ्नो प्रभावशाली चुम्बक र म्याग्निफाइङ्ग ग्लास लिएर माकन्डोमा देखा परेका थिए। अनि ‘रेबेका’, त्यो अनाथ बच्चा, जसले माटो खाने गर्थी। सिरिजमा उपन्यासका स-साना विवरणहरूलाई ध्यान दिएर राखिएको छ। कलाकारहरू सबै अद्भुत लाग्छन्। सिरिजमा कुनै ठूला नाम चलेका कलाकारहरू राखिएका छैनन्। धेरैजसो स्थानीय कलाकारहरू छन्, जसमा कर्नल ‘औरेलिएनो बुएन्डिया’को रूपमा क्लाउडियो कटानो, वृद्धा उर्सुला इगुआरानको रूपमा मार्लेदा सोटो, र जोसे अर्कादियो बुएन्डियाको रूपमा डिएगो भास्केज छन्। केही नन-एक्टरहरू छन्, जो थिएटरमा अभिनय सिकेर आएका छन्।’

सिरिजका प्रमुख निर्देशक एलेक्स गार्सिया लोपेज भन्छन्, ‘उपन्यासमा जस्तै सिरिजमा पनि संवादहरू एकदमै दमदार रहेका छन्।’ सिरिजलाई दुई ल्याटिन अमेरिकीहरूले निर्देशन गर्दैछन्, अर्जेन्टिनामा जन्मिएका गार्सिया लोपेज र कोलम्बियामा जन्मिएकी लारा मोराले। गार्सिया लोपेजसँग केही मार्भल सिरिजका फिल्महरू सहित अन्य ठूला अमेरिकी ब्यानरमा काम गरेको प्रशस्त अनुभव छ। लारा मोरा भने लामो समयदेखि नेटफ्लिक्ससँग जोडिएकी छिन्। उनले ‘द किंग्स अफ द वर्ल्ड’ र ‘किलिङ जेसस’ जस्ता फिल्म निर्देशन गरिसकेकी छिन्। दुवै निर्देशकहरूको शैली पूर्णतः भिन्न छन्।

उनीहरू दुवै ‘हामी फरक छौं, सायद त्यसैले पनि हामीलाई नेटफ्लिक्सले छानेका हुन्’ भन्नेमा सहमत छन्। कता-कता उनीहरू दुवैले उपन्यासभित्रका दुई फरक इतिहासलाई पनि प्रतिबिम्बित गर्छन्। ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ले सभ्यताको प्रतीकात्मक इतिहास प्रस्तुत गर्छ। त्यसको साथै कोलम्बिया र क्यारेबियनको कथा पनि कहन्छ। उपन्यासमा कुनै कालखण्डलाई उल्लेख गरिएको छैन, तर त्यसले समयसँग खेलेको छ। सिरिजका लागि पटकथा, जोसे रिवेराले लेखेका हुन्, जसले ओस्कार नोमोनित फिल्म ‘दि मोटरसाइकल डायरिज’को पटकथा लेखेका थिए। सिरिजका निमित्त उनले कोलम्बियामा सन् १८५० देखि १९५० सम्म घटेका घटनाहरूलाई मिहिन ढङ्गले केलाएका थिए। यस्तो लाग्छ, एउटा विशाल ब्रह्माण्ड बोकेको किताबलाई मेकरहरूले हलुका रूपमा लिएका छैनन्।

कोलम्बियामै सिरजको छायांकन हुनु आफैंमा पनि देश र कृतिका लागि गर्वको प्रतीक हो। वृद्ध जोसे आर्काडियो बुयन्डियाको भूमिका खेलिरहेका बास्केज आफू छायांकनको क्रममा सेटमा भावुक भएर थुप्रै पटक रोएको बताउँछन्। त्यति ठूलो र प्रभावशाली पात्रको भूमिकामा आफू खेलिरहेको छु भन्ने उनलाई विश्वास नै भइरहेको छैन। यद्यपि उनको पात्र धेरै समय रूखमा बाँधिएको अवस्थामा हुनेछन्।

सरकारले माकण्डो रूटको डिजाइन पनि गरेका छन्, जसले पाठक, दर्शक, पर्यटक सबैलाई ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ उपन्यासमा रहेका प्रत्येक स्थानहरूमा पुर्‍याउनेछन्।

सिरिजका मेकरहरू भन्छन्, ‘वान हन्ड्रेड इयर्स अफ सोलिट्यूड’ तपाईं हाम्रो मात्र नभएर, पूरै मानवजातिको सम्पत्ति हो। त्यसैले यसलाई सकेसम्म धेरै कहाँ पुर्‍याउन जरूरी छ।’

योभन्दा अघि कृतिबाट थुप्रै फिल्म तथा सिरिजहरू बनिसकेका छन्। धेरैले निराश पनि बनाएका छन्। केही भने वास्तवमै उदाहरणीय बनेका छन्। एउटा सत्यचाहिं हामीले स्वीकार्नै पर्छ, अक्षरहरूको तिर्खा दृश्यले कहिल्यै मेटाउन सक्दैन। ‘मर्खेज’को उक्त अजर कृतिसँग कैयौं हृदयहरू जोडिएका छन्, जसलाई कुनै पनि वर्ग, वृत्त, वर्णले छुट्याउन सक्दैनन्। सिरिजले किताबलाई मात्रै होइन, उनीहरूको विश्वास, कल्पना तथा भावुकतालाई पनि न्याय दिलाउनुपर्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -