कुवेत । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १५औं स्थापना दिवस मनाइएको छ । आइतबार खैतानस्थित होटल राजधानीमा एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसमा स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कार–२०२४ बाट पत्रकार आनन्द आचार्यलाई सम्मान गरिएको थियो । पुरस्कारको राशि नगद ७५ केडी र सम्मानपत्र छ ।
पत्रकार आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि एवम् कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले नगद, सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरे ।
स्थापना दिवसकै अवसरमा अन्तरक्रियात्मक कार्यक्रम ‘विदेश विमर्श’ पनि गरिएको नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्लले जानकारी दिए ।
कुवेतमा कृयाशील विभिन्न क्षेत्र र संस्थाका प्रतिनिधिहरुसँग गरिएको उक्त विमर्श पाँचवटा सेशनमा बाँडिएको थियो ।
व्यवसायी, राजनीतिक विश्लेषक, संघसंस्थाका प्रमुख, महिला अधिकारकर्मी र नेपाली दूतावासका प्रतिनिधिहरु वक्ताका रुपमा सहभागी थिए ।