Sunday, January 12, 2025
घरसमाचारकारागारमा किताब

कारागारमा किताब

किताब किन पढ्नुपर्छ ? यसको उत्तर सबैका आ–आफ्ना होलान् । सायद मानिसको दैनिकी, जीवनशैली, भोगाइ, अनुभव र पेसा अनुसार पढ्ने पुस्तकको छनोट र रुचिको निर्धारण हुन्छ ।

औपचारिक शिक्षाका क्रममा पाठ्यक्रम भित्रका विषयप्रतिको रुचि लगभग अनिवार्य हुन्छ । परीक्षामा उत्तीर्ण हुनकै लागि, माथिल्लो तहमा स्तर उन्नति हुनकै लागि, अनि औपचारिक शिक्षाको प्रमाणपत्र ग्रहण गर्नको लागि । तर पाठ्यक्रम बाहिरका किताब, आफ्ना रुचिका किताब हामी कति पढ्छौं ? कतिको पढ्ने पहुँचमा छौं ? वा हामीलाई पढ्नुपर्ने विषयप्रति कतिको महसुस गराइएको छ ? यिनै कुराले हाम्रो पठन निर्धारण गर्छ । बाल्यकालदेखि नै पठन महत्वको बारेमा बालबालिकालाई बुझाउन र वातावरण निर्माणमा संवेदनशीलता वृद्धि गर्न सकियो भने यसले ज्ञान आर्जन, उत्पादन, प्रसारण, निर्माण र विनिर्माणमा ठूलो सहयोग पुर्‍याउँछ ।

यसो सोच्दा हामी किताबका कुरा कहाँ गर्छौं ?

विद्यालय, कलेज, चियाअड्डा वा कुनै पुस्तक समीक्षा/टिप्पणी भेला यस्तैयस्तै ठाउँमा । विशेष किताबका बारेमा छलफल गर्छौं । त्यस्ता अवसरहरूमा आफूले पढेका राम्रा किताब अरुलाई पढ्न सिफारिस गर्छौं । अरुले सिफारिस गरेका किताब मागेर /खोजेर/किनेर पढ्छौं । किताबले के दिन्छ ? किन पढ्छौं ? भन्ने सन्दर्भमा किताबका कुरा गर्न हामी झुम्का कारागार, सुनसरी पुग्यौं । जाने समूहमा सामाजिक अभियन्ता, संचारकर्मी तथा महिला अधिकारकर्मी थियौं । हामीसँग विभिन्न लेखकका १२० प्रति पुस्तक थिए । २/४ दिनको छोटो समयमा विभिन्न लेखकहरू, स्टेसनरी सञ्चालक तथा अन्य दाताहरूसँग सहयोग स्वरुप किताब माग्यौं । यसको एउटै मात्र उद्देश्य हामीलाई कारागारमा किताब पुर्‍याउनु थियो । यस कार्यमा सबैको सहयोग रह्यो ।

हामी कैदीबन्दीका हातमा किताब पुर्‍याउन आतुर थियौं । बाहिर ३६/३८ डिग्री तापक्रम थियो । कारागारभित्र दुईवटा ब्लक थिए ती पनि अग्लाअग्ला दिवालले छेकेकोले भित्र अझ गर्मिको अनुभूति भयो । तराईको गर्मी, कारागारभित्र मानिसको उकुसमुकुस र कैदीबन्दीको अनुहारमा पोखिएको पीडाको तापबाट हामी निःशब्द भयौं ।

कारागार परिसरभित्र हामीले कैदीबन्दीसँग किताबका कुरा गर्यौं । पठनको कुरा गर्यौं । जीवन र जगतको कुरा गर्यौं ।

ब्लक ‘बी’ का समिर तामाङ (नाम परिवर्तित) जो उमेरले २६ वर्षका भए । उनी कैदमा रहेको ६ वर्ष भयो । किताब पढ्न उनलाई मनपर्छ । किताब किन पढ्नुहुन्छ भन्ने प्रश्न गर्दा उनले भने, ‘म आनन्दको लागि पढ्छु ।’

उनले हालसम्म ११०० हाराहारी पुस्तक पढेका छन् । बढी मात्रामा मानिसका जीवनीहरूमा उनको रुचि रहेकाले धेरै आत्मवृत्तान्त पढ्न मन पराउने बताए । पढ्न मन लागेको तर पढ्न नपाएको किताब कुनै छ भनेर सोध्दा, मुसुक्क हाँस्दै चिनियाँ दर्शनसँग सम्बन्धित किताब पढ्न मन लागेको बताए ।

प्लेटो र सुकरातको जीवनीले जिवनमा धेरै प्रभाव पारेको छ भन्दै हातमा बोकेको किताब सुम्सुम्याए । उनी त्यस ब्लकका लाइब्रेरियन समेत हुन् ।

त्यस्तै अर्का कैदीबन्दी जो कर्तव्यज्यान सम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका थिए । उनी हाल ३४ वर्षका भए । ७ वर्षको ऊर्जाशील समय त्यही कारागारमा व्यतित गरिसकेका थिए । अझै १४ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको कुरा सुनाए । यसो भनिरहँदा मेरो अनुहारमा केही संवेदना र आतेसका रेखाहरू देखें र उनले भने ‘म अब पत्थर बन्नु छ ।’

मैले सोधें किन ?

‘भोलि यहाँबाट निस्कंदा परिवार र समाजबाट हुने आक्रमण र अपराधीकरणबाट सहज रुपमा अवतरण गर्न किताब नै हो मेरो एकमात्र साथी’ उनको जवाफ थियो ।

यति सुन्दा म प्रश्नविहीन भए । एकछिन मौनता छायो ।

मैले अहिले के पढिरहनुभएको छ भनेर थप प्रश्न गरें । युभल नोहा हरारीको ‘सपियन्स’ पढ्दै गरेको बताए ।

‘जीवन आफ्नो गतिमा चल्ने रहेनछ भन्ने अब स्वीकार्न थालेको छु । यो स्वीकारोक्ति मलाई किताबले प्रदान गरेको हो ।’

संविधान २०७२ को धारा २१ ले अपराध पीडितको हकलाई मौलिक हकको रूपमा सम्बोधन गरेको छ । जसमा अपराध पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने व्यवस्था रहेको छ । तर यथार्थमा कुनै पनि कसुरमा कैद भुक्तान गरेर फर्केका कैदीबन्दीहरूलाई हाम्रो समाजले पहिलाकै अस्तित्वमा स्वीकारेको छ त ? परिवार, आफन्त र समाजलाई उनीहरू माथि गुज्रेको मनोवैज्ञानिक क्षयको हिसाब थाहा छ त ? संवादकै क्रममा एक झलक संविधान सम्झें ।

हामीले मौनता भङ्ग गर्यौं । र पुनः गफिन थाल्यौं ।

उनी भन्दै थिए, ‘हामीले जीवनभर अपराधी भइरहनुपर्ने कस्तो बिडम्वना हो ? निश्चित अपराधमा कानुनले तोकेको सजाय भुक्तान गरिसक्दा समेत हामी अपराधी नै हुन्छौं भने हामीले जीवन कहाँ गएर बिसाउने ?’

मसँग जवाफ थिएन । उनको अपेक्षा पनि मबाट जवाफ पाउने थिएन सायद । समानुभूतिको कनेक्सन थियो कि हामी बिचमा ।

अन्त्यमा मैले सोधें असाध्यै पढ्न मन लागेको तर उपलव्ध नभएको किताब कुनै छ ?

अमेरिकी लेखक तथा वैज्ञानिक बेन्जामिर फ्रेकंलिनको आत्मकथा खुब पढ्न मन छ ।

मैले खोजिदिने वाचा सहित बिदा मागे ।

शिव चौधरी (नाम परिवर्तित) ब्लक ‘ए’का लाइबे्ररियन हुन् । ६ वर्षदेखि कैदी जीवन बिताइरहेका चौधरी भलिबल खेलाडी समेत हुन् । पूर्ण रुपमा सक्रिय जीवन बाँचेको दैनिकी सम्झंदा उनी एकाएक भावुक बने ।

उनको जवाफ थियो, ‘जीवनक्रम आफ्नो गतिमा चल्ने रहेनछ भन्ने अब स्वीकार्न थालेको छु । यो स्वीकारोक्ति मलाई किताबले प्रदान गरेको हो ।’

कारागारभित्र पहिलाको तुलनामा किताब पढ्ने क्रम बढेको सुनाए । औसतमा दिनको २०/२५ जनाले किताब लाने गरेको र लगेका किताव बढीमा १० दिनमा बुझाउनुपर्ने नियम रहेको जानकारी पनि गराए । कारगारभित्र पत्रपत्रिका (गोरखापत्र, कान्तिपुर र ब्लाष्ट दैनिक) टिभी, खेलकुद र वाद्यवादनका सामग्री पनि उपलब्ध रहेकाले आ–आफ्नो इच्छा अनुसार मनोरञ्जन गर्ने परिपाटी रहेछ ।

भित्रका साथीहरूलाई देख्दा र कुरा सुन्दा त्यहाँ प्राविधिक शिक्षा (इलेक्ट्रिसियन, प्लम्बर) लगायतको तालिम सुविधा हुनुपर्ने लाग्यो । कैदीबन्दी समाजमा पुनर्स्थापना भएपछि कुनै पनि प्रकारको आयआर्जनको बाटो नहुने हुनाले यहीँबाट सिपयुक्त जनशक्ति भएर निस्कन पाए कसैसँग निर्भर हुनुनपर्ने चौधरीको भनाइ थियो ।

माध्यम चाहे सिर्जना, संगित वा सिप होस् । यसले उनीहरूमा मानसिक समस्याको जोखिम कम गर्नुको साथै स्वाभिमानीपूर्वक जीवन बाँच्न सघाउँछ ।

सर्वप्रथम सन् १७९० मा अमेरिकाको पेन्सिलभेनिया रहेको वालनट स्ट्रिट जेलमा फिलाडेल्फिया जेल एसोसिएसनले किताब प्रदान गरेर कारागारमा पढाइको सुरुवात गरेको थियो । हाल अमेरिका, भारत, पाकिस्तान, अस्ट्रेलिया, नाइजेरिया लगायत मुलुकका कारागारमा पुस्तकालय छन् । नेपालमा पनि धेरै जिल्लाका कारागारमा पुस्तकालय छन् ।

संवादकै क्रममा ब्लक ‘ए’का अर्का कैदीबन्दीसँग कुरा गर्दै गर्दा पृष्ठभूमिमा पुस्तकालय थियो । उनी भन्दै थिए ‘कारागारभित्र सबैभन्दा मनपर्ने ठाउँ यही हो । म अक्सर यही समय बिताउँछु । सात वर्षमा लगभग पाँच सय किताब पढें ।’ उनले अब अमेरिकन लेखक स्वीट मार्डेनको ‘पुसिङ टु द फ्रन्ट’ र ‘एन आइरन विल’ पढ्न मन लागेको बताए ।
किताबले आफूमा ल्याएको तीन वटा परिवर्तनलाई क्रमागत रुपमा यसरी बताउँछन् उनी ।

पहिलो– जीवन र वरिपरिका सबै वस्तुलाई हेर्ने र त्यसप्रतिको दृष्टिकोण बनाउने तरिका बदलें ।

दोस्रो– लडेर थाक्न नहुने रहेछ । लड्नु हार्नु हैन भन्ने कुरालाई आत्मसात् गर्न सक्ने भएँ ।

तेस्रो– गितमा भएका गल्ती सहज रुपमा महसुस गर्न सक्ने भएको छु । स्वीकार्न र आफूलाई रुपान्तरण गर्न मलाई किताबले सिकायो ।

किताब किन पढ्नुहुन्छ ? उनको जवाफ यस्तो छ :

‘पहिलो त म आत्मबल बलियो बनाउन पढ्छु । दोस्रो मानिसको जीवन विश्वविद्यालय हो । उनीहरूको जीवन पढ्नु जति ठूलो सिकाइ के मा छ र ! किताब जीवनको लय हो । एउटा लत हो । यही भएर पढ्छु ।’

यति भन्दै उनी मिलेका दाँत देखाउँदै अनुहारमा एउटा गहिरो आभा सहित मुस्काए ।

सुनसरी घर भएका २६ वर्षीय करण (नाम परिवर्तित) कारागारमा ५औं वर्ष बिताइरहेका छन् । उनले कारागारमै ७० वटा किताब पढिसकेका छन् । किताब छानेर पढ्नुपर्छ भन्ने उनको मान्यता छ ।

हाल उनी अमेरिकी लेखक जेम्स क्लियरको ‘अटमिक ह्याबिट’ पढिरहेका छन् । आगामी दिनमा कारागारभित्रै किताब लेख्ने सोच रहेको सुनाउँदै गर्दा उनको खुसी आँखामा छल्किरहेको आभाष हुन्थ्यो ।

सुनसरी कारागारमा दुई वटा ब्लकमा १ हजार ६२१ कैदीबन्दी छन् । त्यो अनौठो संसारमा त्यति नै कथा छन् जति कैदीबन्दी । त्यति नै वेदना र पीडाका फेयरिस्त छन् जति प्रमाणित कसुर । त्यति नै आफन्त वियोगको छटपटी छ जति भौतिक दूरी र त्यति नै धुमिल भविष्यका धुमिल सपना पनि छन् ।

कारागार कार्यालयका प्रमुख ध्रुबप्रसाद कोइरालाका अनुसार धेरै कैदीबन्दीलाई मानसिक समस्या छ । सबै भन्दा धेरै कर्तव्यज्यान र जबर्जस्ती करणीको कसुरका कैदी रहेको तथ्यांक छ । अनि यिनै कसुरमा लामो कारावास जीवन बिताउनुपर्ने हुन्छ । कैदीबन्दीसँग भएको दक्षता, सीप र इच्छाशक्तिलाई फैलने मौका दिनुपर्छ । माध्यम चाहे सिर्जना, संगित वा सिप होस् । यसले उनीहरूमा मानसिक समस्याको जोखिम कम गर्नुको साथै स्वाभिमानीपूर्वक जीवन बाँच्न सघाउँछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -