Sunday, January 12, 2025
घरसमाचारविदेशबाट फर्केर आफ्नै व्यवसायमा जमेका पौरखीहरु

विदेशबाट फर्केर आफ्नै व्यवसायमा जमेका पौरखीहरु

१२ साउन, काठमाडौं । ७ वर्षअघि कफीसप सुरु गरेका टेकजंग गुरुङको व्यवसाय अहिले स्नुकर हाउस, रेष्टुरेन्ट हुँदै कफी प्रशोधनसम्म पुगेको छ । उनले उत्पादन र प्रशोधन गर्ने कफी विदेशसमेत निर्यात हुन थालेको छ ।

बेसीशहर नगरपालिका–७ मनाङे चौतारा घर भएका गुरुङको दिन रेष्टुरेन्ट आएका ग्राहकलाई स्वागत गर्ने र कफी उत्पादक किसानसँग सम्पर्क गर्दैमा बित्छ ।

कुनैबेला रोजगारीका लागि विदेश गएका उनी सोचेजस्तो कमाइ नभएपछि फर्किएका थिए । ‘खर्च कटाएर मासिक १५ हजार पनि बचत नहुने काम गर्नुभन्दा त नेपालमै केही गर्छु भनेर फर्किएँ’, गुरुङले भने ।

२६ वर्षको उमेरमा सन् २०१० मा दुबई पुगेका गुरुङले महिनाको १२ सय दिराम (त्यतिबेलाको विनिमय दर अनुसार करिब २१ हजार रुपैयाँ) थियो ।

विदेशमा रहँदा एकपछि अर्को काम गर्दै गए पनि भनेजस्तो नभएपछि उनी एक वर्षमै नेपाल फर्किए । अहिले उनी आफ्नो खुट्टामा दरो गरी उभिन सफल भएर देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण भएका छन् ।

नेपाल फर्केको दुई वर्ष जति उनले स्थानीय स्तरमै सानातिना ठेक्कापट्टा गरे । गैरसरकारी संस्थामा पनि काम गरे । तर उनलाई कतै चित्त बुझेन । अन्तमा ठेक्कापट्टा, जागिर गरेको पैसा र साथीरुसँग सरसापट गरी सन् २०१७ मा ११ लाख रुपैयाँ लगानीमा कफी सप सुरु गरे ।

त्यसपछि स्नुकर हाउस र सन् २०१९ मा नमस्ते थकाली किचन सुरु गरे । तर विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारी र लकडाउनले व्यवसायमा धक्का पुग्यो । ‘त्यतिबेला निक्कै गाह्रो भयो, जग्गा भाडामा लिएर सबै पूर्वाधार बनाएको थिएँ, अब छोडौं कि निरन्तरता दिउँ भन्ने स्थितिमा पुगें’, उनी सम्झिन्छन्, ‘तर, मैलै हिम्मत हारिनँ, विस्तारै परिस्थिति सहज बन्दै गयो ।’

अहिले लमजुङमा कफी पिउन र खानाका लागि उनको नमस्ते थकाली किचन एण्ड बब विस्ट्रो धेरैको रोजाइ बनेको छ । टेकजंग दैनिक सय कप कफी बेच्छन् र ३० जना भन्दा बढीलाई खाना खुवाउँछन् । पर्यटनको सिजनका बेला यो संख्या केही बढ्छ ।

रेष्टुरेन्ट्रसँगै गुरुङले करिब ३० रोपनी जग्गामा कफी खेती सुरु गरेका छन् । उनी किसानको कफी पनि किन्छन्, अनि त्यसलाई प्रशोधन गरी आफ्नो ब्राण्डको कफी ग्राहकलाई खुवाउँछन् । हाल ११ जनालाई रोजगारी दिइरहेका उनी भन्छन्, ‘मेरो नमस्ते ब्राण्डको कफी तनहुँ, काठमाडौं, बुटवल, पोखरा, मनाङसम्म पठाउँछु, यो वर्ष १६८ किलो कफी बेल्जियम पनि पठाएँ ।’

काठमाडौंको ठमेलमा सञ्चालित द सेक्रेट गार्डेन रेष्टुरेन्टमा १२ लाख र लमजुङ भोटेओडारको एक पेट्रोल पम्पमा पनि लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र आफ्नै पुँजी गरी उनले विभिन्न व्यवसायमा २ करोड रुपैयाँ लगानी गरेका छन् ।

लमजुङमा विदेशबाट फर्किएर सफल उद्यम गर्ने टेकजंग एक्ला उद्यमी भने होइनन् । जिल्लाकै मानध्वज आलेमगर पनि व्यवसायमा निरन्तर लागिपरे सफल भइन्छ भन्ने उदाहरण बनेका छन् ।

गत वर्ष मानध्वजको बुंगुर फर्मका माउ र पाठापाठी गरी करिब २०० जति बुंगुर अफ्रिकन स्वाइन फिभरले मरे । संक्रमणका कारण बाँकीलाई पनि उनले खाल्डो खनरे पुरे । यसबाट उनलाई ३५ लाख जति घाटा लाग्यो ।

मानध्वजले बेसीशहर नगरपालिका–८ मर्स्याङ्दी नदी नजिकै ६ रोपनी जग्गामा मिलापको बुंगुर फर्म सञ्चालन गरेको १२ वर्ष भयो । मानध्वज पनि कामको खोजीमा १७ वर्षको हुँदा भारत गएका थिए ।

‘भारतमा सोचे जस्तो काम पाइन, कहिले लेबर त कहिले होटलमा काम गरें’, मानध्वज भन्छन् । विदेशमा काम गर्न सजिलो होला भन्ने सोचेका थिए, तर सजिलो भएन । विदेशको जस्तो दुःख आफ्नै ठाउँमा गरे किन हुदैन र भन्ने सोचर उनी नेपाल फर्केको बताए ।

नेपाल फर्किएपछि उनले मिलाप बुंगुर फ्रेस हाउस सुरु गरे । मासु भने तनहुँबाट लिएर आउनुपर्थ्यो । आफ्नै जिल्लामा पाठापाठी उत्पादन गर्न सके त झन् राम्रो हुने सोचेर उनले मिलापको बंगुर फर्म दर्ता गरे । आमाको नाममा रहेको घर धितो राखी कृषि विकास बैंकबाट २० लाख रूपैयाँ ऋण लिएर काम सुरु गरेका उनले ३ वर्षमै ऋण तिरिसकेको बताए ।

अहिले फर्ममा ६० वटा माउ बंगुर छन् भने ९० वटाजति पाठा–पाठी छन् । मासिक ६० को दरले उनी वार्षिक ७०० को हाराहारीमा पाठापाठी बेच्छन् । उनको फर्ममा उत्पादन भएका पाठा पाठी लमजुङ, मनाङ, तनहुँ र गोरखासम्म बिक्री हुन्छन् । बंगुरको पाठीलाई ६ हजार र पाठालाई ६ हजार पाँच सयमा बिक्री गर्छन् ।

बंगुरले ३ महिना ३ हप्ता ३ दिन अर्थात ११४ दिनमा उत्पादन दिन्छ । बेचेको पाठापाठी हुर्किएपछि मानध्वज आफैं किसानबाट किन्छन्, जसले किसानलाई पनि पाठापाठी ठूलो भएपछि बजार खोज्न पर्दैन ।

६ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका मानध्वजले अहिले आफैंले सो जग्गा खरिद गरिसकेका छन् । उनले सात जनालाई रोजगारी पनि दिएका छन् ।

मानध्वजले कृषि मन्त्रालयसँगै प्रदेश र जिल्ला स्तरबाट पनि उत्कृष्ट बंगुर पालक किसानको पुरस्कार पाएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष ८०/८१ को ७ लाख ४१ हजार २९७ जनाले विदेशमा रोजगारी गर्न श्रम स्वीकृति लिएका थिए ।

‘नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२२’ को तथ्याङ्क अनुसार विदेशमा काम गर्न गएकामध्ये सन् २०२२ मा ४ लाख ७० हजार ९ सय ७८ जना फर्किएका थिए । यसरी फर्किनेहरू कोही बिरामी भएर भनेजस्तो काम नपाएर, कोही आफ्नै देशमा केही गर्नुपर्छ भनेर फर्किने हुन्छन् ।

यसरी विदेशबाट फर्किनेमध्येका बेसीशहरकै राजेन्द्र केसी पनि एक हुन् । अंग्रेजीका स्नातक उनी नेपालमा भनेजस्तो जागिर नपाएपछि सन् २००७ तिर विदेश गएका थिए ।

पहिला दुबई र पछि कतार गएर महिनाको २ लाख रुपैयाँसम्म मासिक तलब आउने काम गरे । विदेशमा राम्रै काम र पैसा हुँदाहुँदै पनि उनी सन् २०१८ मा नेपाल फर्किए ।

‘पैसा मात्रै भएर नहुने रहेछ, म यतिका समय खटे त आफ्नै ठाउँमा भनेजस्तै काम गर्न सक्छु जस्तो लाग्यो र आएँ’, राजेन्द्र भन्छन् । विदेशबाट फर्किएपछि उनले लमजुङ कृषि उद्योग दर्ता गरी कुखुरा र २/२ वटा जर्सी गाई र उन्नत जातको भैसी पाल्न सुरु गरे ।

अहिले दैनिक ४० माना दूध बेच्छन् । फर्ममा १२ सय कुखुरा छन् । फ्रेस हाउस, पोल्ट्री फर्म र गोठको पूर्वाधार निर्माणका लागि ५० लाख आफ्नो र बैंकबाट लिएको ऋण गरि १ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।

हाल उनको व्यवसायमा ८ जना कामदार संलग्न छन् । मासु, दूध र कुखुरा बेचेरै परिवार पाल्न, किस्ता तिर्न र केही वचत गर्दै आएको उनले बताए । आउने दिन अझ राम्रो हुने आशा छ । राजेन्द्र भन्छन्, ‘पशुपालन भनेको जीव विज्ञान हो, यो पेशा त पढेका मान्छेले गर्ने हो भनेर लागें, अब यसैमा भविष्य देखेको छु ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -