१ साउन, काठमाडौं। आइसिटी अवार्ड २०२४को नवौं संस्करणका लागि अनलाइन आवेदन आजदेखि खुल्ला भएको छ ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यसवर्ष थप एक विधासहित १४ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको संस्थाका अध्यक्ष राजन लम्सालले बताए ।
उनले भने, ‘सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को रुपमा यसवर्ष नयाँ विधा थप गरेका छौं।’
उनका अनुसार प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरुका डिजिटल सेवाहरू र डिजिटल शिक्षालाई यस अवार्डले समेटेको छ । योगदानको आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई फरक फरक अवार्ड विधा अन्तर्गत नोमिनेसन र छनौट गरिनेछ ।
गत दुई वर्षदेखि दक्षिण एशियाली देशहरुलाई लक्षित गरेर साउथ एशिया स्टार्टअप अवार्ड पनि आइसिटी अवार्डभित्र समावेश भएको छ ।
दर्जनौ प्रि इभेन्ट र छनौट प्रक्रियाका ३० बढी मिटिङ र विभिन्न वैज्ञानिक प्रक्रियाहरु अपनाएर आइसिटी अवार्डका विजेताहरुको छनौट गरिने लम्सालले बताए ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । गत वर्षदेखि आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी ‘प्रोभिन्सियल आइसिटी स्टार्टअप रिकग्निसन’ सुरु गरिएको छ। यसवर्ष पनि ७ वटै प्रदेशका स्टार्टअप र इन्नोभेसनलाई समेट्नेगरी स्टार्टअप फेस्ट आयोजना र प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिने उनको भनाइ छ ।
अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप, इन्नोभेसन र प्रडक्टहरुलाई समावेश गरिएको छ । यस अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसियल इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम प्रतिस्पर्धी आफैले आवेदन दर्ता गर्नुपर्नेछ ।
क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधा अन्तर्गत प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम आफै वा अरु कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने छ ।
यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन छनौट गरिने छ । यस अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड(प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरु रहेका छन्।
अन्तराष्ट्रिय अवार्डको रुपमा साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि सञ्चालन भइरहेको छ । गत २ वर्षदेखि सञ्चालन भएरहेको यस अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, भुटान, माल्दिप्स, नेपालका स्टार्टअपहरुले आवदेन दिन सक्ने छन्।
यसको छनौटको लागि अन्तराष्ट्रियस्तरको जुरी समिति बनाइएको छ । यी सम्पूर्ण अवार्ड विधाहरुमा आजैदेखि अनलाइन आवेदन खुल्ला भएको छ । अवार्डको आधिकारिक वेबसाइट आइसिटीअवार्डडटओआरजी बाट अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । नोमिनेशन दर्ता गर्ने अन्तिम मिति भदौ १५ गतेसम्म रहेको छ ।