काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले प्रचलित कानुनअनुसार रक्त सञ्चार सेवा र संस्थागत सुशासनका गतिविधि अघि बढाइएको स्पष्ट पारेको छ ।
समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको सन्दर्भ उल्लेख गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रेडक्रसले मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको जनाएको छ ।
रेडक्रसको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले वर्तमान कार्यसमितिले रक्तसञ्चार सेवा र संस्थागत सुशासनको सम्बन्धमा थालनी गरेका सकारात्मक कदमप्रति नियोजित र प्रायोजित ढङ्गबाट दुष्प्रचार गरिएको दाबी गर्नुभयो ।
राजनीतिक हस्तक्षेप र लामो समय केन्द्रीय कार्यसमितिको अनुपस्थिति नहोस् भनी देशभरका रेडक्रसकर्मीको सहभागितामा विधिसम्मत वर्तमान कार्यसमिति चयन भएको जानकारी दिँदै उहाँले केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्त सङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको स्पष्ट पार्नुभयो । रेडक्रसले उपलब्ध गराउने रगतमा कुनै प्रकारको कमीकमजोरी नरहेको उहाँको भनाइ थियो ।
नेपाल रेडक्रस अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अङ्गका रुपमा विसं २०२० मा स्थापना भई मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगीका रुपमा कार्यरत छ ।