Tuesday, January 14, 2025
घरक्राइम चेक११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब लगानीको प्रस्ताव

११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब लगानीको प्रस्ताव

काठमाडौं/गत आर्थिक वर्षको तुलनामा नेपालको औद्योगिक क्षेत्रमा लगानीको वातावरणमा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको औद्योगिक क्षेत्रमा झण्डै सबा २ खर्ब लगानी प्रस्ताव भएको छ ।

उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म नेपालको औद्योगिक क्षेत्रमा २ खर्ब १७ अर्ब बराबरको नयाँ लगानी प्रस्ताव भएको हो ।

समीक्षा अवधिसम्म ३८३ वटा नयाँ उद्योग नेपालमा दर्ता भएका छन् । जसमध्ये ४९ वटा ठूलो उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग रहेका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका उद्योगहरूले २६ हजार २७ जनालाई नयाँ रोजगारी दिने प्रस्ताव गरेका छन् ।

११ महिनाको अवधिमा ३५५ वटा विदेशी लगानी स्वीकृत भएको र ती उद्योगहरूको ४४.३४ अर्ब लगानी समेत स्वीकृत भएको विभागले जनाएको छ । विदेशी लगानी स्वीकृत भएका उद्योगहरूले १७ हजार ६४२ जनालाई रोजगार दिने प्रस्ताव गरेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिको तुलनामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालको औद्योगिक क्षेत्रको लगानी वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न ३२२ वटा स्वदेशी तथा विदेशी उद्योगहरूको लागि २ खर्ब १४ अर्ब मात्रै लगानी प्रस्ताव आएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा २ वटा उद्योगले प्याटेन्ट दर्ता, ११ वटा उद्योगले डिजाइन र ५४९४ वटा उद्योगले ट्रेडमार्क दर्ता गराएका छन् । त्यस्तै, उद्योग स्थापनाको लागि समीक्षा अवधिमा ४५ वटा कम्पनीहरूले प्रारम्भिक वातावरणीय परीक्षण समेत गरेको विभागले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -