काठमाडौं। नेकपा एमालेलगायतका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका अर्थमन्त्री वर्षमान पुनले संसदमा ल्याएको बजेटलाई लिएर एमाले र माओवादीबीच अविश्वास पैदा भएको छ।
बजेट बनाउने बेलामा सत्ता सहयात्री दलहरुसँग अर्थमन्त्री पुनले छलफल नगरेको भन्दै एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन्। ओलीले बजेट माओवादीतिर ढल्किएको टिप्पणी गर्दा यी दुई दलबीच अविश्वास पैदा भएको रुपमा चर्चा हुन थालेको छ।
शनिबार संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले बजेटलाई लिएर कडा टिप्पणी गरे। ओलीले आफ्नो पार्टीका सांसदलाई बजेटको विषयमा राम्रो समीक्षा गर्न निर्देशन नै दिए। उनले बजेटको विषयमा एक दुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने भन्दै प्रश्न गरे।
‘यो बजेटमा एक दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा गरिबीतिर देश गए पनि के भयो र? हामी सरकारमा छँदै छौं भनेर हुन्छ?,’ उनले भने।
ओलीले बजेटप्रति असन्तुष्टिमात्रै जनाएनन् सरकारले उल्लेख्य रुपमा काम गर्न नसकेको पनि जनाए। उनले आफ्ना मन्त्रीको कार्यशैलीप्रति पनि असन्सुष्टि जनाए। ‘यति चिज हुँदैन भने अनि कसरी सन्तेष मान्ने? हामीले नै चलाइरहेका मन्त्रालयको स्थिति कस्तो छ? त्यसमा बजेट विनियोजन कस्तो छ? त्यो पनि अलिकित हेर्नुपर्ने हुन्छ’, उनले भने।
ओलीले बजेटप्रति असन्तुष्टि जनाएर सरकारमाथि दबाव बढाउन खोजेको विश्लेषण गरिएको छ । यसअघि पनि ओलीले बजेट ल्याउनु अघि सत्ता सहयात्री दलहरुसँग अर्थमन्त्रीले सल्लाह नगरेको आरोप लगाएका थिए।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले संयुक्त सरकारको चरित्र भएको बजेट ल्याएको भए हुन्थ्यो भन्ने आशय राखेको दाबी गरे।
‘अध्यक्षज्यूको भाव के हो भने हामी अहिले संयुक्त सरकारको अभ्यासमा छौं। सरकारले गर्ने राम्रा र नराम्रा दुवै कामको जस सरकारमा सहभागी सबै दलले लिनुपर्छ। यस्तो सरकारले संयुक्त सरकारको चरित्र देखाएको भए हुन्थ्यो भन्ने उहाँको भनाइ हो,’ बर्तौलाले डिसी नेपालसँग भने, ‘यसलाई बजेटको विरोध गरेको रुपमा बुझ्नु हुँदैन।’
उनले बजेट कार्यान्वयको तहमा पुगेको भन्दै व्यवहारिक रुपमा बजेटको समर्थन गर्ने, राजनीतिक रुपमा बजेट पारित गर्ने र सैद्धान्तिक रुपमा सुझाव दिने काम एमालेले गरेको दाबी गरे।
संयुक्त सरकार भएकाले सरकारले आफ्नो कार्यशैली सच्याएर जनमुखी काम गर्नुपर्ने र कहीँ कमिकमजोरी भयो भने त्यसलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ। तर बजेटकै कारणले गठबन्धनमा कुनै विवाद नभएको उनको दाबी छ।
तर ओलीले बजेटलाई लिएर बारम्बार सरकारको आलोचना गरेपछि गठबन्धनभित्र दरार उत्पन्न भएको विश्लेषण हुन थालेको छ। यससँगै प्रचण्ड सरकारको भविष्यबारे पनि आशंका गर्न थालिएको छ ।
ओलीको पहलमा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर फागुन २१ गते एमाले–माओवादी नेतृत्वमा वर्तमान गठबन्धन बनेको थियो। गठबन्धन बनेको तीन महिना पूरा भएसँगै गठबन्धनको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष ओलीले सार्वजनिक रुपमा सरकारको आलोचना गर्न थालेका छन्।
वर्तमान सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर गएको अशोक राई नेतृत्वको जसपा आबद्ध छन्।
पछिल्ला दिनहरूमा गठबन्धन निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेताहरूबाटै गठबन्धन सरकारप्रति आक्रोशपूर्ण टिप्पणी सुरु भएको छ। गठबन्धनमा आबद्ध दलहरू नेकपा एमाले, रास्वपा र नेकपा एसमा सरकार प्रतिको असन्तुष्टिको ग्राफ उकालो यात्रामा छ।
वर्तमान गठबन्धन र सरकारलाई पूरापूर समर्थन गरिरहेको रास्वपाभित्र समेत पछिल्ला दिनहरूमा सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठ्न थालेको छ। कतिसम्म कि सरकारमै सहभागी रास्वपाका नेताहरू सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने बेला आएको भन्न थालेका छन्।
डिसीनेपालबाट