पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लायन्स क्लबले मानव कल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।
पोखरामा शनिबार आयोजना भएको लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनको उद्घाटन गर्दै उहाँले लायन्स क्लबले नेपालमा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् सहितको क्षेत्रमा अनुकरणीय काम गरेको बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको उहाँको भनाई थियो ।
प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता जस्ता राम्रो काम गरिरहेको बताउँदै लायन्सले मानवीय एवं प्राकृतिक विपत्तिमा सहयोग गरी ठूलो गुन लगाएको जनाउनुभयो ।
लायन्स क्लब अन्तर्राष्ट्रिय कोषबाट करिब २४ करोडको सहयोगमा रुवेलाको विरुद्धमा खोप, नेपालका दूरदराजमा गएर करिब २० वर्षसम्म आँखाका बिरामीहरू पहिचान गरी निःशुल्क शल्यक्रिया लगायतका सेवाहरू उपलब्ध गराएको कार्य प्रशंसनीय रहेको भट्टको भनाई छ ।