काठमाण्डाैँ/विद्युतीय चुराेट (भेप) मार्फत सुन तस्करी प्रकरणमा राहुल महरालाई काठमाण्डाै जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।
आज शुक्रवार न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने पाँच लाख रुपैयाँ धरौटी माग गरिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनुभयो ।
भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा अस्ति बुधवार सरकारी वकिल कार्यालय काठमाण्डाैले चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिल कार्यालयलाई राहुल महरासहित तीन जनाविरुद्ध सङ्गठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सीआईबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ । भेप प्रकरणमा प्रतिवादी बनाइएकाहरू विरुद्ध आठ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो कायम गर्न पनि सीआईबीले सुझाएको छ ।
२०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका थिए ।