Wednesday, November 27, 2024
घरक्राइम चेकप्रहरीद्वारा हिरासतमै ‘बलात्कार’

प्रहरीद्वारा हिरासतमै ‘बलात्कार’

-अवधेशकुमार झा

राजविराज — कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेकी एक महिलामाथि मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी भएको खुलेको छ । सप्तरीस्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेकी एक महिलालाई प्रहरी कार्यालयभित्रै जबर्जस्ती करणी भएको घटना प्रहरीले समेत लुकाएको पाइएको छ ।

२०७९ कात्तिक ६ मा पतिको हत्या गरेको आरोपमा प्रहरीले ती महिलासहित तीन जनालाई गत चैत ४ मा पक्राउ गरेको थियो । पक्राउ परेको दुई दिनपछि चैत ६ गते राति इलाका प्रहरीका डीएसपी दीपककुमार रायले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको ती महिलाको आरोप छ । वैशाख ११ मा उनलाई प्रहरी हिरासतबाट जिल्ला कारागार सप्तरीमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो । थुनामा पुगेको भोलिपल्टै अर्थात् वैशाख १२ मा पेट दुखेपछि उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । हिंसामा परेका पीडितको उद्धार, उपचार, मनोपरामर्श र कानुनी उपचारको पहल गर्नका लागि अस्पतालभित्र स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्रमा ती महिलाले आफूमाथि प्रहरी कार्यालयभित्रै बलात्कार भएको बयानसमेत लेखाएकी थिइन् ।

प्राप्त विवरणमा केन्द्रकी स्रोत व्यक्ति मनीषा सिम्खडाले रजिस्टरमा ती महिलाको बयान लेखेकी थिइन् तर त्यसबारे केन्द्रले प्रहरीमा केही उपलब्ध गराएन । स्रोत व्यक्ति सिम्खडाले पनि महिलाले हिरासतमा बलात्कार भएको बताएको स्विकारिन् । उनले भनिन्, ‘मैले उपचारका लागि लिएर आएका प्रहरीलाई त यसबारे बताएँ तर उच्च प्रहरी अधिकृतसम्म कुरा लग्न सकिन । त्यो कमजोरी भयो ।’ पीडित महिलाको बिरामी पुर्जामा पेट दुखेको र अढाई महिनादेखि महिनावारी नभएको उल्लेख छ ।पीडितका अनुसार थुनामा रहेका बेला चैत ६ गते राति १२ बजे हाकिम साहेबले बोलाउनुभएको छ भन्दै एक प्रहरीले उनलाई डीएसपीको कोठामा लगेका थिए । सप्तरी जिल्ला कारागारमा रहेकी ती महिलाले आफूलाई कुटपिट गरी निर्वस्त्र पारेर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । उनका अनुसार यस्तो क्रम दोस्रो पटक पनि भएको थियो । डीएसपीले मुद्दाबाट मुक्त गराएर जागिरसमेत लगाइदिने प्रलोभन दिएको उनले बताइन् । ‘करणीपश्चात् यो कुरा बाहिर ल्याए २० वर्षसम्म जेलमा सडाइदिने धम्की दिने र नभने मुद्दाबाट मुक्त गराई जागिरसमेत लगाइदिने प्रलोभन दियो,’ सप्तरी कारागारमा रहेकी उनले शुक्रबार कान्तिपुरसँग भनिन्, ‘प्रहरी कार्यालयमा मेरो अस्मिता लुटिँदा पनि कसैलाई भन्ने अवस्था थिएन । उक्त घटनापछि म मानसिक तनावमा छु ।’

घटनाको पाँच महिनापछि पीडित महिलाका कानुन व्यवसायी र परिवार बिहीबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी र एक असईविरुद्ध जबर्जस्ती करणी आरोपको जाहेरी लिएर जिल्ला प्रहरी सप्तरी पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता नगरी उनीहरूलाई फर्काइदिएको छ । घटनाका आरोपी इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार रायले आफूमाथि लागेको आरोप निराधार भएको दाबी गरे । अहिले तालिममा रहेको बताउँदै उनले फोन सम्पर्कमा भने, ‘हामी आफैं कानुन कार्यान्वयन गर्ने मान्छे, कहाँ त्यस्तो गर्न मिल्छ ?’ सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले उजुरी आएको स्विकार्दै आन्तरिक रूपमा छानबिन भइरहेको र त्यसपछि मात्र दर्ताका विषयमा केही हुने बताए ।साभार:कान्तिपुर

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -