वीरगंज/सीमा सुरक्षा एवं तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल व्यवसायिक कर्तव्य परायणमा कमजोर देखिन थालेका छन् ।
पर्साको वीरगंज भन्सारको मूख्य नाका एवं भन्सार पछाडीको इनरवा गाउँबाट दैनिक रुपमा करोडौं राजश्व छलीको तस्करी भइरहेको खबर आएसँगै वीरगंजको सीमावर्ती क्षेत्र छपकैया, सिर्सिया, ड्राइपोर्ट क्षेत्रबाट पनि तस्करी भैरहेको खबरहरू जानकारीमा आउन थालेका छन् ।
स्थानीयवासी एवं प्रत्यक्षदर्शीहरूका अनुसार सीमावर्ती क्षेत्र छपकैया, भकुवा, सिर्सिया, ड्राइपोर्ट लगायतको क्षेत्रबाट दैनिक रुपमा साइकल, मोटरसाइकल लगायतका सवारी साधनबाट दैनिक रुपमा भारी मात्रामा भन्सार राजश्व छलिका सामान ओसार पसार भैरहेका छन् ।
तस्करहरूले सो क्षेत्रमा रहेका सशस्त्र प्रहरी र चौकी प्रमुखहरूलाई मिलाएपछि विहान, दिउँसो, राती केही नभनि मौका पाउने बित्तिकै जतिबेला पनि कपडा, काजु, किराना सामग्री, हार्डवेयर सामग्री, मोटर पार्टस्लगायतका सामान भन्सार राजश्व छलि गरेर नेपाल भित्र्याउन तस्करहरू तयारी अवस्थामा बसेका हुन्छन् ।
खासगरी सो क्षेत्रबाट सशस्त्र प्रहरीकै संरक्षणमा नेपाल तर्फ मोटो परिमाणमा काजुको तस्करी भईरहेको छ । सरकारी सयन्त्र भारतबाट नेपाल तर्फ भईरहेको काजु तस्करीको बारेमा जानकार हुँदा हुदै बेखबर छ । जसको कारण राज्यले प्राप्त गर्नुपर्ने मोटो रकम बराबरको राजश्व गुमिरहेको छ ।
वीरगंज भन्सार कार्यालयबाट काजु आयात गर्दा प्रतिकेजी एक हजार मुल्यांकन र पाँच सय रुपैयाँ भन्सार राजश्व दस्तुर लाग्छ । प्रतिकेजी एक हजार पाँच सय रुपैयाँ लागत पर्ने काजु वीरगंज बजारमा एक हजार तीन सय ५० रुपैयाँमा थोक मूल्यमा विक्री भईरहेको छ ।
प्रतिकेजी एक हजार पाँच सय रुपैयाँ लागत पर्ने काजु कसरी एक हजार तीन सय रुपैयाँमा विक्री भईरहेको छ ? खोजी र अनुसन्धानको विषय बनेको छ ।
व्यवसायीले एक हजार रुपैयाँ प्रतिकेजी भारत मै खरीद गरेको काजु नेपालसम्म आइपुग्दा खर्च लागत जोडेर एक हजार पाँच सय पुग्छ । तर बजारमा काजु थोक मूल्यमा प्रतिकेजी एक हजार तीन सय रुपैयाँले विक्री भईरहेको छ ।
वीरगंजसहित देशभरीमा २० भन्दा बढी व्यापारीक प्रतिष्ठानले काजुको कारोबार गर्ने गरेको छ । व्यापारीले २० प्रतिशत भन्सार काटेर र ८० प्रतिशत चोरी तस्करीको बाटोबाट काजु ल्याएर नेपालमा काजु विक्री गर्दा काजुको थोक मूल्य सस्तो छ । तर पनि प्रधानमन्त्री कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभाग, भन्सार विभाग र आन्तरिक राजश्व विभाग कानमा तेल हालेर सुतेको छ ।
कसले गर्छ काजुको तस्करी ?
वीरगंजमा सबभन्दा ठूलो परिमाणमा यतिखेर पशुपतिले छपकैयाँ र ड्राइपोर्ट क्षेत्रबाट काजुको तस्करी गरिरहेका छन् । वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी, सिर्सिया स्थित बिओपी र ड्राइपोर्टमा रहेको बीओपी एवं सीमावर्ती क्षेत्रका चौकीहरूलाई प्रभावमा पारेर पशुपतिले स्कूटर र मोटरसाइकलमा दैनिक ठूलो मात्रामा काजुको तस्करी गरिरहेका छन् । पशुपतिले काजु मात्र नभई रजनीगन्धा, तुलसीलगायतका सुर्तीजन्य गुटखाको पनि तस्करी गरेर नेपाल भित्र्याउने गरेका छन् । यसरी तस्करी गरेर नेपाल भित्र्याइएका काजु र रजनीगन्धा पशुपतिले वीरगंजको माइस्थान मन्दिर अगाडी रहेका केही किराना पसल एवं, मीना बजारमा रहेका किराना पसलमा सप्लाई गर्दै आएका छन् । त्यति मात्र नभई तस्करी गरेर ल्याएका रजनीगन्धा र काजु पशुपतिले विभिन्न ट्रान्सपोर्टको माध्यमले काठमाण्डौलगायत नेपालका विभिन्न भागमा पनि पठाउने गरेका छन् ।
त्यति मात्र नभई राहुल भन्नेले पनि काजुको ठूलो मात्रामा काम गर्ने गरेका छन् । पर्सा प्रहरीले दुई दिन अघि मात्र तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको काजु बरामद गरेको थियो । सो काजु राहुलकै रहेको बुझिएको छ । राहुलले काजु मात्र नभई हार्डवेयर, जुत्ता लगायतका सामग्री भारतबाट नेपालतर्फ तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् । तीन चार जनाको समूहमा राहुलले साइकलको माध्यमबाट हार्डवेयर, जुत्ता एवं काजुको तस्करी गर्ने काम गर्दै आएका छन् ।
छपकैया नाकाबाट महिलाहरूको समूह एवं पशुपति नाम गरेका तस्करले दैनिक ठूलो परिमाणको तस्करीको कार्य गरी नेपालको राजश्व छली गर्दै आइरहेका छन् । सशस्त्र प्रहरीजस्तो जिम्मेवार निकायको तैनाथगीको बावजुद यसरी दैनिक रुपमा तस्करी भएर नेपालको राजश्व चुहावट भइरहेकै कारण नेपालको अर्थतन्त्र दिनानुदिन ओरालोतर्फ लागेको छ ।
यसैबीच पर्सा प्रहरीले झण्डै ७७ लाख ४४ हजार भन्दा बढी मूल्य बराबरको सामानसहितको बिल बिजक भन्दा बढीको खुद्रा तथा हार्डवेयरका सामानहरू सहित ट्रक बरामद गरेको छ ।
बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयरलगायतका सामानहरू बोकेको मालबाहक ट्रक वीरगंजबाट बुटवलतर्फ जाँदै गरेको छ भन्ने प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले बिहीवार राती करिब ११:३० बजे वीरगंजको महावीर स्थान स्थित सडकखण्डबाट ना.५ख १८४५नम्बरको मालवाहक ट्रक रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा अन्दाजी मूल्य ७७ लाख ४४ हजार ६९० बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनु भयो ।