Wednesday, November 27, 2024
घरपत्रपत्रिकानागरिकता कसुरमा २६ जनाविरुद्ध पक्राउ पुर्जी

नागरिकता कसुरमा २६ जनाविरुद्ध पक्राउ पुर्जी

राजविराज । झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जनाविरुद्ध बुधबार जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रसाशकीय अधिकृत किसोरकुमार रामसहित चार जना कर्मचारी, जिल्ला प्रहरी कार्यालय सप्तरमा कार्यरत प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन जना प्रहरी कर्मचारी, राजविराज नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उदीत नारायण यादव, वडासचिव हरिनारायण यादवसहित २६ जनामाथि पुर्जी जारी भएको हो ।

२०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता सम्बन्धी मुद्दाको अभियोग पत्रमा प्रतिवादी बानाइकामध्ये २६ जना फरार भएको भन्दै पक्राउ पुर्जी जारी भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।सप्तरी जिल्लाको साविक फर्सेठ गाविस ७ हाल राजविराज नगरपालिका वडा नम्बर ११ का सूर्यनारायण यादवले झुटो विवरण दिई आफ्ना नाती पर्ने सतिश यादवलाई छोरा बनाई नेपाली नागरिकता बानाएको र बनाउन सघाएको आरोपमा सूर्य नारायण र सतिशसहित २८ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले वैशाख ३१ मा आरोप पत्र दायर भएको थियो ।२८ जनामध्ये सूर्यनारायण र सतिश प्रहरी नियन्त्रणमा रहेकाले उनीहरुलाई २०८० जेठ १ गते बयान र थुनछेकका लागि अदालतमा उपस्थित गराइएको थियो । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङगनामको इजलासले आरोपितमध्येका सूर्यनारायण र सतिशलाई जनही एक लाखका दरले धरौटी लिई तारेखका छाड्न २०८० जेठ १ गते आदेश दिएको थियो । दुबै जना धरौटी बुझाई तारेखमा छन् ।मुद्दामा प्रतिवादी बनाइएका प्रशासन कार्यालयका कर्मचारी, प्रहरी, वडाध्यक्ष, वडा सचिव, मुचुल्कामा हस्ताक्षर गर्ने व्यक्तिसहित २६ जना फरार रहेको भन्दै अदालतले उनीहरुमाथि पक्राउ पुर्जी जारी गरेको हो ।

यसरी पक्राउ पुर्जी जारी गरिएकाहरुमा नागरिकताको लागि सिफारिस गर्नेदेखि, मुचुल्कामा हस्ताक्षर गर्ने तथा नागरिकता जारी गर्ने कार्यमा संलग्न कर्मचारी रहेका छन् । सूचना अधिकारी पोखरेलका अनुसार फरार सूचीमा रहेको भन्दै पक्राउ पुर्जी जारी भएकाहरुमा नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किसोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय संजिवकुमार साह र सुरज नेपाल छन् ।

यस्तै राजविराज नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष उदितनारायण यादव र वडासचिव हरिनारायण यादव, सर्जमिन मुचुल्कामा बस्ने प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार नारायणकुमार महतो र राम इश्वर मण्डल छन् । सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्नेहरु समेत मुद्दामा प्रतिवादी रहेकाले उनीहरुमाथि पनि पक्राउ पुर्जी जारी भएको छ ।

फरार रहेको भन्दै पक्राउ पुर्जी जारी भएका कर्मचारीहरु नियमित रुपमा सरकारी कामकाजमा रहेका छन् । फरार भन्दै पक्राउ पुर्जी जारी भएका प्रशासकीय अधिकृत किसोरकुमार राम जिल्ला प्रसासन कार्यालय सप्तरीबाट २०८० जेठ २ गते रमाना लिएका छन् । पक्राउ पुर्जी जारी भएका उनको बिदाइ कार्यक्रम प्रशासन कार्यालयमा गरिएको थियो । उनी २०८० जेठ ३ गते बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिकाको प्रमुख प्रसासकीय अधिकृतको रुपमा हाजीर भएका छन् । गाउँपालिका अध्यक्ष उमेशकुमार यादव र कर्मचारीहरुले उनलाई पालिकाको प्रशासकीय अधिकृतको रुपमा भव्य स्वागत गरे ।

यस्तै फरार भई पक्राउ पुर्जी जारी गरिएका प्रशासन कार्यालयका अन्य कर्मचारीहरु बुधबार पनि जिल्ला प्रशासन कार्यालयको नियमित कामकाजमा रहेको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले यो मुद्दामा पूर्वाग्रह राखी कर्मचारीलाई प्रतिवादी बनाएको आरोप लगाएको छ ।यो नागरिकता प्रकरणमा यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छानबिन गरेको थियो । कर्मचारीको संलग्नता भए नभएको विषयमा नाम जोडिएका कर्मचारीहरुलाई प्रशासन कार्यालयले स्पष्टीकरण समेत सोधेको छ ।अवधेशकुमार झा

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -