यस वर्ष वैशाख शुक्ल तृतीया आज वैशाख १० गते परेको छ। यसलाई अक्षय तृतीया पनि भनिन्छ र अत्यन्तै महत्त्वपूर्ण तिथिको रूपमा लिइन्छ। यो दिन साम्ब सदाशिवजी र पार्वतीको विवाह भएको मानिन्छ। त्यसैले यो दिन जो कसैले बिना साइत विवाह, व्रतबन्ध आदि शुभ कर्म गर्दछ, उसले पुण्य र मुक्ति प्राप्त गर्दछ भन्ने विश्वास गरिन्छ। त्यसैगरी अक्षय तृतीयाको दिन जसले सातु, सर्बत दान गर्छ, उसलाई आजीवन दु:ख हुँदैन भन्ने मान्यता छ। अक्षय तृतीयालाई चार युगमध्येको दोश्रो त्रेतायुग प्रारम्भ भएको दिनको रूपमा पनि लिइन्छ। त्यसैगरी यो दिनलाई परशुराम जयन्ती र धर्मघतादिदानम् पनि भनिन्छ।
– डा. उत्तम उपाध्याय न्यौपाने