Wednesday, November 27, 2024
घरसमाचारराजनीतिअभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै जनताकाे मुख थुन्ने अधिकार कसले दियो?

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै जनताकाे मुख थुन्ने अधिकार कसले दियो?

काठमाडौं। मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई प्रहरीले आवाज बन्द गराउन गरिएको हर्कतको चौतर्फी निन्दा भएको छ।

प्रधानमन्त्री सहभागी कार्यक्रममा युवाहरुले गरेको नाराबाजी रोक्न प्रहरीले गरेको धरपकड र मुख थुनिएको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको छ।

मंगलबार नयाँ बानेश्वरमा भएको उक्त कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर,’ ‘गरिबमारा प्रचण्ड मुर्दाबाद’ भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो।

प्रहरीको साे कार्यबारे चौतर्फी आलोचना भइरहेको छ। सरकारले जनताको आवाज बन्द गराउन थालेको भन्दै सर्वत्र आलोचना भइरहेको उक्त कार्यको बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा समेत सांसदले प्रश्न उठाएका छन्।

उक्त घटनाबारे राष्ट्रिय सभामा एमालेकी सांसद विमला राई पौड्यालले प्रश्न उठाएकी छिन्।

घटनाबारे सरकारको जवाफ माग्दै राष्ट्रिय सभाको बैठकमा सांसद पौड्यालले सामाजिक सञ्जालमा दुई युवाको मुख थुनिएको फोटो आएको भन्दै किन मुख थुनिएको? भन्दै प्रश्न गरेकी छिन्।

प्रधानमन्त्री प्रचण्ड सहभागी अन्तराष्ट्रिय जातिय विेभद उन्मुलन दिवसको कार्यक्रममा केही युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दैगर्दा तीन जना युवालाई नियन्त्रणमा लिने क्रममा मुख थुनिदिएर श्वास फेर्न हम्मेहम्मे पारेको दृश्य भिडियोमा देख्न सकिन्छ।

यस्तै उक्त घटनाबारे एमालेका नेता भीम रावलले पनि प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रहरीले मुख थुनेर बोल्न नदिएको भन्दै आपत्ती जनाएका छन्।

रावलले ट्विट गर्दै भनेका छन्,‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजीपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने? यस्तो कुबुध्दि कसले सिकायो ?’

प्रहरीले केही समय अगडि वीर अस्पतालका चिकित्सकलाई समेत कुटपिट गरेको घटनाको ब्यापक आलोचना भएको थियो। चौतर्फी दबावपछि सोही घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्दै केही समय अगाडिे निलम्बन गरेको थियो।

पछिल्लो घटनामा संलग्न तीन युवालाई प्रहरीले अभद्र ब्यबहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिन म्याथ थप गरि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजाल बताउँछन्।

प्रधानमन्त्री सहभागी कार्यक्रममा अशान्ति मच्चाउने प्रयत्न गरेकाले उनीहरुलाई पक्राउ गरिएको उनी बताउँछन्।

उनी भन्छन्, ‘उनीहरुसँग असम्बन्धित कार्यक्रममा पुगेर नाराबाजी भएपछि नियन्त्रणमा लिनु प्रहरीको कर्तब्य हो तर मुख थुन्ने प्रहरीको नीतिगत निर्देशन होइन।’

उनका अनुसार पक्राउ गरिएका सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका विप्लव खड्का र बागलुङका सोम शर्मा रहेका छन्।

उनीहरुलाई थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र ब्यबहारको कसुरमा तीन दिनका लागि प्रहरी हिरासतमा राखिएको छ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले प्रहरीको निर्देशन विपरित भएको उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए।

उनले प्रहरीले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै तत्कालीन अवस्थामा स्वविवेकले उक्त कदम चालेको उनले जिकिर गरे।

उनले डिसी नेपालसँग भने, ‘प्रहरीको नीतिगत निर्देशन होइन तत्कालीन परिस्थितिको उपज उक्त घटना घटेको हो । यस बारेमा हामीले थप अध्ययन गर्दैछौं।’

उनले प्रहरीको केन्द्रीय निर्देशन बमोजिम नभएको भन्दै क्षेत्राधिकार भन्दा बाहिर गएर उक्त घटना प्रहरी कर्मचारीबाट भएको स्वीकार गरे।

उनले तत्कालीन अवस्थामा विशिष्ट ब्यक्तिको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीले परिस्थितिलाई नियन्त्रणमा लिन खोज्दा उक्त घटना घटेको बताए।

उनले भने, ‘प्रहरी पनि यही समाजका उत्पादन हुन्। कमीकमजोरी हुन सक्छन्। उनीहरुले तत्कालनि परिस्थितिको मुकाबिला गर्ने क्रममा सो घटना घटेको हो।’

अब प्रहरीको नीतिगत निर्देशन विपरित भएको उक्त घटनामा संलग्नलाई प्रहरीले कारबाही गछ ? भन्ने डिसी नेपालको प्रश्नमा प्रवक्ता डिआइजी पोखरेलले भने,‘यस बारेमा अहिल्यै केही भन्न सकिन्न। घटनाको थप अनुसन्धान भइरहेको छ। तत्कालीन अवस्था र प्रधानमन्त्रीको सुरक्षालाई दृष्टिगत गर्दै घटेको सो घटनाको बारेमा थप अध्ययन गर्दैछौं।’

जिल्ला प्रहरी परिसर काठमााडौं अन्तर्गत खटिएका प्रहरी कर्मचारी भएकाले परिसरले नै यस बारेमा थप अनुसन्धान गरेर निर्णय गर्ने उनले बताए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -