काठमाण्डौ/निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा निकायले विस्तारै आफ्नो कार्य क्षेत्र बढाउन थालेको छ । मुलुकका चार वटै सुरक्षा निकायले तोकिएको कार्यक्षेत्रमा जान थालेका हुन् । यसक्रममा नेपाली सेनाले एक सय छ महत्वपूर्ण संरचना, कारागार, विमानस्थलको सुरक्षा जिम्मा लिएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार त्यसका अतिरिक्त अन्य स्थानको पनि सुरक्षा जिम्मा लिने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी चुनावी प्रयोजनको लागि खटिएपछि सेनाले महत्वपूर्ण भौतिक संरचना, कारागार र विमानस्थलहरुको सुरक्षा जिम्मा लिएको हो ।
सैनिक जनसम्पर्क निर्दैशनालयले जनाए अनुसार नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म आठ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसेको छ भने बाँकी एक सय ४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ । निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको छ ।
आगामी निर्वाचनका लागि हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ । यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका एक सय ४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ ।
सेनाले हाल एक सय छ महत्त्वपूर्ण संरचना, कारागार, विमानस्थमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदैछ । निर्वाचन सुरक्षा अन्र्तगत नेपाली सेना खटिएको हो । विगतमा पनि सेनाले महत्वपूर्ण भौतिक संरचनाको सुरक्षा जिम्मा लिदै आएको थियो । अहिले त्यसैको निरन्तरता हो । नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि बाहिर क्षेत्रको जिम्मा लिएको छ । सर्वसाधरणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएपनि मतदान केन्द्रभन्दा बाहिरको सुरक्षामा भने नेपाली सेना खटिएको छ ।