वीरगंज/कोभिड संक्रमण चुलिएका बेला गण्डक अस्पताल निशुल्क प्रयोग गर्न दिएको भनेर वाहवाही कमाएका रहबर अन्सारीले वीरगञ्ज महानगरबाट करोडौँ असुलेको खुलेको छ । महानगरले दिएको तथ्यांक अनुसार अस्पतालका सञ्चालक अन्सारीले २ करोड ३१ लाख भन्दा बढी विभिन्न शिर्षकमा असुली गरेको खुलेको हो ।
उनै अन्सारी अहिले पर्साको क्षेत्र नम्वर १ (क) मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्दै मतदाताको घरदैलोमा पुग्दा भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा चर्का भाषण दिने गरेका छन् । २०७७ बैशाख ६ गते अस्पताल भवन, वेड तथा भवनमा जडित सम्पूर्ण उपकरण निशुल्क उपयोग गर्न दिने बारे वीरगञ्ज महानगरपालिका र अस्पतालबीच सम्झौता भएको थियो ।
त्यसबेला कोभिड महामारीका कारण वीरगञ्ज मात्रै नभई विश्वकै जनजीवन आतंकित बनेको थियो । तर यही महामारी रहबरलाई भने कोभिड संक्रमित राख्न दिएर अस्पताल उकास्ने अवसर मिल्यो । ५० वेड क्षमताको अस्पताललाई कोभिड विशेष अस्पताल बनाउनु पर्ने भए पनि तत्कालिन मेयर विजय सरावगी दाहिना हुँदा २५ बेडको स्वीकृति रहेको गण्डक अस्पतालले यो अवसर प्राप्त गर्यो ।
त्यसबेला नै शर्त विपरित सम्झौता भएको भनेर सञ्चारमाध्यममा समाचार नै प्रकाशित भएको थियो । अस्पताल निशुल्क प्रयोग गर्न दिने भने पनि रहबरले मेयर सरावगीसँगको मिलेमतोमा पछि विभिन्न शीर्षकमा रकम असुल्न सफल भए । दिल्लीमा उपचार भइरहेको समयमा पनि रहबरले आफ्नो बुवा अस्पतालमै कार्यरत रहेको भन्दै महानगरबाट तलब शीर्षकमा पैसा उठाउँन पछि परेनन् ।
कोभिड विशेष अस्पताल बनाउँदै गर्दा त्यसको मर्मत तथा थप भौतिक निर्माण गर्दा महानगरसँग समन्वय गर्नु पर्नेमा रहबरले कुनै जानकारी नै नदिई बिल मात्रै पेश गरेर रकम असुलेको महानगरकै तथ्यांकमा उल्लेख छ । यसले पनि मतदातामाझ भन्ने गरेको सुशासन र भ्रष्टाचार उन्मूलनको भाषण उनैले गरेको कामले भने गिज्याइ रहेको छ ।