Tuesday, November 26, 2024
घरक्राइम चेकनिर्वाचनको मुखमा सशस्त्र प्रहरीको संरक्षणमा तस्करी धन्दा

निर्वाचनको मुखमा सशस्त्र प्रहरीको संरक्षणमा तस्करी धन्दा

वीरगंज/ सिंगो देश निर्वाचनमा होमिएको समयमा पर्सामा सशस्त्र प्रहरी भने तस्करीको लाइन खुल्ला गरेर दैनिक करोडौँ मूल्य बराबरको राजश्व छली कार्यलाई सघाएर राज्यलाई धोका दिइरहेको पाइएको छ ।

भारतसँग सीमा जोडिएका पर्साका हरेक नाकाबाट यतिखेर भैरहेको तस्करी कार्य र अवैध ओसार पसारको दृश्यले पर्साको इतिहासमै कहिल्यै नभएको तस्करी यतिखेर भइरहेको स्थानीयहरू बताउँछन् ।

वीरगंज स्थित आइसीपी भन्सारबाट सशस्त्र प्रहरीको संरक्षणमा केही दिन अघि २ करोड भन्दा बढीको एउटै ट्रक निकालिएको घटनाले पनि भन्सारबाटै पनि ट्रकका ट्रक करोडौँको राजश्व चुहावट र तस्करी भइरहेको रहष्योद्घाटन भएको नै छ । त्यससँगै पर्साका हरेक सीमावर्ती क्षेत्र पनि यतिखेर तस्करहरुकालागि खुल्ला गरिएको छ ।

पर्सा जिल्लाको पश्चिम भेगको ग्रामिण नाका भिस्वाबाट अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरीको मिलोमतोमा व्यापक तस्करी भइरहेको छ । पर्साको छिपहरमाई गाउँपालिका अन्तर्गत पर्ने सीमा प्रहरी चौकी भिस्वा र शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट बन्जारी बेस क्याम्पका प्रहरी अधिकृतद्वयले ग्रिन सिग्नल दिएपछि तस्करी कार्य सुचारु भएको हो ।

तस्करहरुले भिस्वानाका भएर सुपारी, मटर, मरिच, केराउ, छोकडा, पेस्ट, सौन्दर्य सामाग्री, कबाड, गिट्टि, बालुवाको भारत तर्फ तस्करी गर्दै आईरहेका छन् । तस्करहरुले एक दर्जन भन्दा बढि महिला तथा पुरुषहरुलाई प्रयोग गरेर मटर, मरिच, र छोकडा, नेपालमा बनेको फेयर एण्ड लबली, पेस्ट लगायतका सामान प्रहरी चौकी भिस्वाको अगाडी बाट नै प्रहरीको मिलोमतोमा भारतको सिक्टा बजार सम्म पुर्याउने गरेका छन् ।

त्यसैगरी तस्करहरुले भारतको सिमावर्ती सहर सिक्टा बजारबाट खरिद गरेका शर्टिङ सुर्टिङको कपडा, कुर्ता सुरुवाल, भाडा कुडा, हार्डवेयरको पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, खाद्यान्न लगायतका माल सामानहरु सीमामा खटेका सशस्त्र र नेपाल प्रहरीलाई आर्थिक प्रलोभनमा पारी सहज रुपले नेपाल तर्फ भित्र्याउने गरेका छन् ।

त्यसैगरी भिस्वाको नाका हुदै रातीको समयमा गिट्टि र बालुवाको एक दर्जन भन्दा बढि ट्रेक्टर दैनिक भारततर्फ निकासी हुने गरेको स्थानियले बताएका छन् ।

त्यसैगरी सो क्षेत्रमा कबाडको किनबेच गर्ने कबाडका एक व्यापारीले वीरगंजबाट कबाड किनेर ट्रेक्टरमा लोड गरी भिस्वा नाका हुँदै प्रहरीकै संरक्षणमा भारततर्फ निकासी गर्दै आईरहेका छन् ।

सिक्टा भिस्वा बजार क्षेत्रका एक दर्जन व्यापारीहरुले भिस्वा नाकाबाट अवैध ओसार पोसार गर्नको लागी प्रहरी चौकी भिस्वाका सई प्रहरी नायव निरिक्षक र बोर्डर आउट पोष्ट भिस्वा बन्जारीका सशस्त्र प्रहरी निरिक्षक सुनिल दासलाई लाखौँको महिनावारी बुझाएपछि तस्करीको लाईन पुर्ण रुपले खोलिएको स्रोतले जनाएको छ ।

त्यसैगरी भिस्वा प्रहरी चौकीका सई सशस्त्र प्रहरी बन्जारी बेस क्याम्पका प्रहरी निरिक्षक दासले गिट्टी र बालुवाको ओसार पोसार गर्ने तस्करहरुसँग पनि, प्रति ट्रेक्टर एक हजारका दरले लिने गरी लाईन दिएको एक तस्करले बताए ।

मधेश प्रदेश प्रहरीको ईन्चार्ज नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक डिआईजी मसाउद आलम खान र सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरले पर्सा जिल्लाको सिमावर्ती नाकाहरुबाट हुने गरेको चोरी तस्करी अवैध गतिबिधि नियन्त्रण गर्ने बताए पनि उनकै मातहत रहेका चौकी र शसस्त्र बेस क्याम्पका ईन्पेक्टरहरुले सेटिङमै नाकाबाट भैरहेको तस्करी नियन्त्रण हुन नसक्नु अनेकौँ आशंका उत्पन्न भएको बताइन्छ ।

पर्सा जिल्लामा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलको आगमन भएदेखि भन्सार राजश्व असुलीको ग्राफ खस्किँदै गएको छ भने बजारमा अवैध रुपमा भारतीय सामान भित्रिएपछि तस्कर र सशस्त्र प्रहरीहरु मोटाउन थालेका छन् ।

सशस्त्र प्रहरी निरीक्षक दासले तस्करीको लाइन दिएकाहरूमा भिस्वाबाट किशोर जयसवाल, उनका छोरा मुना जयसवाल र उनका भतिज रामु जयसवाल मुख्य छन् । उनीहरुको तस्करीका समान ठेक्कामा सिमानाका कटाउनेमा भिस्वाका लडु र सिकटाको पप्पु रहेका छन् । उनीहरूले नेपालबाट चाईनिज स्याउ, चाईनिज १० फिटे ईन्चीटेप, कुखुराको दाना, चुरोट, युनीलीवर कम्पनीका सबै समान रहेका छन्। तस्कर र प्रहरीको मिलेमतोमा सुपारी, फेयरलवली, फेयरलवलीको पाउच, प्रोस्टाइल तेल, क्लोजअप पेस्ट, सन फ्लावर तेललगायतको करोडौको सामान भन्सार छलेर नेपालबाट भारत पुग्ने गरेको छ । त्यस्तै, अर्को टोलीले भारतबाट कपडा, किराना आईटम, हार्डवयर, मेसीनरी पार्ट्स, सुर्ती, गुट्खा, नेपाली रक्सीको ठूलो कारोवार गरिरहेका छन् ।

सर्वसाधारणले घरायसी प्रयोजनकालागि ल्याउने सानो परिणामको सामानमा अनेक बखेडा झिक्ने समाएर भन्सार बुझाइदिने तर ठूला तस्करहरुलाई लाइन नै दिने गरेका कारण सीमावर्ती क्षेत्रका नेपालीहरु तनावमा छन् ।

गण १३ पर्साका एसपी तेजप्रसाद पोखरेल र डिआइजी मगरकालागि इन्सपेक्टर दास स्वयंले भाग लिएर बुझाउने गरेका कारण तस्करी कार्यमा प्रहरी उपरीक्षक पोखरेल र डिआइजी मगरले मौन समर्थन गरेका आशंका गर्ने प्रशस्त ठाउँ देखिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -