वीरगंज/सीमा नाकाबाट हुने अवैध चोरी पैठारी, राजस्व छली जस्ता क्रियाकलाप नियन्त्रणको जिम्मेवारी दिई परिचालन गरेको सशस्त्र प्रहरी बलकै संरक्षणमा यतिखेर पर्सा जिल्लाको सबै नाकाबाट तस्करी लाईन सुचारु भएको पाइएको छ।
केहि समय अघिसम्म लुकिछिपी रात्रीको समयमा हुँदै आएको राजस्व छली र तस्करी कार्य यतिखेर २४ सै घण्टा सुचारु भएको जोकोहिले पनि देख्न सक्छन्।
नेपालको मुख्य प्रवेशद्वार भंसारको मूलगेट अर्थात् बिओपी वीरगंजको नाकै मुनिबाट नै तस्करहरुले भरिया मार्फत लत्ताकपड़ा, किराना आइटम, हार्डवेयर, मोटर पार्ट्स लगायतका सामग्री सशस्त्र प्रहरी बलको सेटिंगपछि हकाहाकी नेपाल भित्र्याउने गरेका छन्।
त्यस्तै इनरवा गाउँ, सिर्सिया, छपकैया, भिस्वा, भिखमपुरलगातका मुख्य नाकाहरूबाट पनि तस्करहरूले इतिहासमै कहिल्यै पाउन नसकेको सशस्त्र प्रहरी बलको सहयोग पछि तस्करी कार्यलाई संचालनमा ल्याईएको बताइन्छ।
तर आज भने हामीले वीरगंज भंसारमा रहेको बोर्डर आउटपोष्ट वीरगंज क्षेत्रबाट भइरहेको तस्करीबारे प्राप्त जानकारी पाठकहरू समक्ष राख्दैछौँ।
वीरगंज भंसारस्थित बिओपीको क्षेत्र इनरवा गाउँ र मेनरोड़ बाट हरदेव, मुन्ना र रुपेशलाई कपड़ा तस्करीको लाइन दिईएको छ। हरदेव, मुन्ना र रुपेशले राती १:०० बजे पछि विहान ३:३०बजेसम्म मोटरसाइकल, पिकअप र टेम्पोमा कपड़ा ओसार्ने गरेका छन्। दैनिक लाखौँ रुपैयाँ राजस्व चुहावट गरेर हरदेव, मुन्ना र रुपेशले गर्ने तस्करीबाट हुने राजस्व चुहावटमा वीरगंज भंसारमाँ रहेको सशस्त्र प्रहरीको बिओपीका इंचार्ज प्रहरी निरीक्षक रवीन्द्र भट्टको प्रत्यक्ष सहयोग रहा कै कारण निर्वाध तस्करी धन्दा संचालन हुन सकेको स्थानीयहरू बताउँछन्।
त्यस्तै वीरगंजको छपकैया सिर्सिया नाकाबाट खुल्लेयाम तस्करी भइरहेको जोकोहिले देख्न सक्छन्। यस क्षेत्रबाट जीतू र अनिलले कपड़ाको काम गरीरहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल तस्करी नियन्त्रणमा गंभीर नबनिदिंदा राजस्व चुहावट बढ़ेर नेपालको अर्थतन्त्र दिनानुदिन खस्किँदै गएको छ।
सर्वसाधारणले घरायसी प्रयोजनकालागि ल्याउने सामानमा समातेर भंसार चलान गर्ने तर नामुद तस्करहरूसँग सांठगांठ गरेर तस्करी लाईन संचालनमा छुट दिने कार्य हुनुले अनेक आशंका खड़ा गरेको छ।