काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीबाट एक जना शिक्षकलाई पक्राउ गरेको छ । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त वानेश्वरले पक्राउ गरेको हो ।
कक्षा १२ मा पढ्दै गरेकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले सोमबार बिहान कलेज परिसरमा आन्दोलन गरेपछि प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन् । विद्यार्थीहरूले आन्दोलन गरेसँगै प्रहरीले आरोपित शिक्षकलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई रहेका छन् । उनी अंग्रेजी पढाउने शिक्षक हुन् । शिक्षकले विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।