चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २६ वैशाख ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले विजय सरावगीलाई हराउन र राजेशमान सिंहलाई जिताउन तन, मन र धनले लागिपरेको खबर प्राप्त भएको छ ।
विगत एक दशकभन्दा बढ़ीदेखि भारतीय दूतावास्को “स्लीपिंग सेल”मा बसेर काम गर्दै गएका राजेशमान सिंहलाई गुण तिर्न दूतावास कतिसम्म सक्रिय छ त्यसको ज्वलन्त उदाहरण आज वीरगंज स्थित पुजन होटेलमा सर्वसाधारणले देख्न पाएका छन् ।
लायन्स क्लबको नाममा आयोजित राजेशमान सिंहलाई समर्थन गर्ने कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा पर्सा क्षेत्र नं.१ का माननीय प्रदीप यादव, विजय सरावगीका सम्धी रमेश अग्रवाल, राजेश केडिया, डिएन अग्रवाललगायत सैयौंको संख्यामा युवा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
उप मेयरका उम्मेदवार इम्तियाज आलम र नेपाली काँग्रेस पर्साका नेताहरू कार्यक्रममा देखिएनन् ।
भारतीय दूतावासको दबावमा परी मारवाड़ी समाजमा “कर्पोरेट कल्चर” कति हावी छ की आफ्नै सम्धी नगर प्रमुख पदमा उम्मेदवार भैरहंदा रमेश अग्रवाल दुनियाँको अगाड़ी राजेशमान सिंहको लागि भोट माग्नु परेको छ ।
यस सन्दर्भमा रमेश अग्रवालसँग क़ुरा गर्दा विजय सरावगीसँग व्यक्तिगत सम्बन्ध रहेपनि लायन्स क्लब गैर राजनीतिक संगठन भएकोले संगठनको निर्णय बमोजिम राजेशमानलाई समर्थन गर्ने कार्यक्रम राखिएको बताउनु भयो ।
गैर राजनीतिक संगठनले राजनीति उम्मेदवारहरूको समर्थन वा विरोधमा खुल्ला रूपले किन आउनु परेको भन्ने प्रश्नको जवाफ भनें अग्रवालसँग थिएन ।